काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमले आफ्ना कार्यकर्तालाई निर्वाचनमा स्वविवेक प्रयोग गरेर मतदान गर्न आग्रह गरेका छन् । नेता गौतमले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् ।
मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आफूले कुनै पनि पार्टीलाई समर्थन नगर्ने भन्दै उनले कार्यकर्तालाई मतदान गर्दा स्वविवेक प्रयोग गर्न भनेका हुन् ।
नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धन दुवैलाई बहुदलीय प्रतिस्पर्धाको राजनीतिक प्रणाली र नेपालको संविधानको भावनाविरुद्ध भएको उनको ठहर छ ।
नेता गौतमले भनेका छन्, ‘यस्तो अवस्थामा हाम्रो पार्टीले कुनै पनि पार्टीलाई समर्थन गरेर मतदान गर्न सकिने अवस्था रहेन । उपरोक्त परिस्थिति र आफ्नो अवस्थालाई ध्यानमा राखेर हामी पार्टीका नेता, कार्यकर्ता, सदस्य, समर्थक र शुभचिन्तकहरुलाई स्वविवेक प्रयोग गरी मतदान गर्न अनुरोध गर्दछौं ।’
यी दुवै गठबन्धनको उद्देश्य संसदमा आफ्नो पक्षको बहुमत बनाएर आफ्नो नेतृत्वको सरकार बनाउनेवाहेक अरु केही नदेखिएको गौतमले बताएका छन् ।