बझाङ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि बझाङमा सत्ता गठबन्धनका साझा उम्मेदवार भानुभक्त जोशीबिरुद्ध बागी उम्मेदवारी दिएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका सबै स्वतन्त्र उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
एमालेका आधिकारीक उम्मेदवार ऐन महरविरुद्ध बागी उम्मेदवारी दिएका दुईजना स्वतन्त्र उम्मेदवारले भने उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार जोशीका विरुद्ध नेपाली कांग्रेसका हर्कजंग बहादुर सिंह र नेकपा माओवादीक केन्द्रका लोकेन्द्रसिंह थापा उर्फ निर्मलले आफ्नो उम्मेदारी फिर्ता लिएका हुन् ।
मुख्य निर्बाचन अधिकृतको कार्यलयमा उपस्थित भएर उनिहरुले गठबन्धनका आधिकारीक उम्मेदवारलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका हुन् ।
यसैगरी प्रदेशसभातर्फ क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका आधिकारिक उम्मेदवार नेपाली कांग्रेसका पृथ्बीबहादुर सिंहविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका जगतप्रसाद जोशीले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।
एमाले उम्मेदवार ऐन महरविरुद्ध उम्मेदवारी दिएका डम्बरबहादुर खड्का र रामचन्द्र रानाले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।