काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागी उम्मेदवारी दिनेलाई पाँच वर्ष पार्टीबाट निस्कासन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गरी सत्तारुढ गठबन्धनको आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवार बन्ने नेता तिनका प्रस्तावक र समर्थकलाई ५ वर्ष निस्कासन गरेको जानकारी दिएका छन् ।
कांग्रेसले मंगलबार विज्ञप्ति जारी गरेर बागी उम्मेदवारहरुलाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको थियो । कांग्रेसले गठबन्धन र लोसपासँग भएको सहमतिविपरीत बागी उम्मेदवारी दिने, त्यसमा प्रस्ताव र समर्थक हुनेहरूलाई कारबाही गरेको हो ।
आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् ।