Logo
Logo

बैतडीमा एक्लै भिड्दै एकीकृत समाजवादी


3.5k
Shares

बैतडी । बैतडीमा सत्ता गठबन्धनभित्र खटपट चुलिएको छ । नेकपा एकीकृत समाजवादीले एउटा पनि सिट नपाएपछि खटपट भएको हो ।

एउटा प्रतिनिधिसभा क्षेत्र रहेको बैतडीमा नेकपा माओवादी केन्द्रको भागमा परेको छ भने दुई प्रदेशसभा कांग्रेसले पाएको छ । एउटा पनि सिट नपाएपछि एकीकृत समाजवादी गठबन्धनविरुद्ध चुनावमा होमिएको छ ।

गठबन्धनको नेतृत्वकर्ता कांग्रेसभित्र पनि टिकट वितरणले असन्तुष्टि बढेको छ । प्रतिनिधिसभतर्फ माओवादीले पाएपछि कांग्रेसका पुराना नेता तथा पाटन नगरपालिकाका निवर्तमान मेयर केशवबहादुर चन्दले बागी उम्मेदवारी दिएका छन् ।

गठबन्धनबाट बैतडीमा माओवादी केन्द्रका नरेन्द्र कुँवर उम्मेदवार छन् । कुँवरविरुद्ध कांग्रेसका चन्दले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनले बुधबार ‘पुतली’ चुनाव चिन्ह पाएका छन् ।

कांग्रेसले बैतडी प्रतिनिधिसभा अरुको भागमा परेमा गठबन्धन नगर्ने निर्णय गरेको थियो । माओवादीको भागमा परेको प्रतिनिधिसभा आफ्नो भागमा पार्न दबाबका लागि बैतडीका नेताहरु काठमाडौँसम्म धाएका थिए ।

कांग्रेसकै भागमा परेको प्रदेशसभामा समेत कांग्रेसकै बागी उम्मेदवार छन् । प्रदेशसभा (१)मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका कांग्रेस नेता हरिमोहन भण्डारीले उम्मेदवारी फिर्ता लिएनन् । उनले ‘धारा’ चुनाव चिन्ह पाएका छन् । कांग्रेसबाट प्रदेशसभा (१)मा वीरबहादुर विष्ट उम्मेदवार छन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीले कुनै पनि क्षेत्र नपाएपछि नेता नरेन्द्र विष्टले उम्मेदवारी दिएका थिए । प्रदेशसभा (१)मा उनको उम्मेदवारी कायमै छ । प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका एकीकृत समाजवादीका पोलिट्ब्युरो सदस्य परमानन्द भट्टले भने उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एमालेमाथि हाबी हुने मानिएको सत्ता गठबन्धनलाई बैतडीमा सत्तारुढ दल कांग्रेस र एकीकृत समाजवादीका बागी उम्मेदवारले चुनौती थपिएको छ । नेकपा एमालेबाट प्रतिनिधि सभातर्फ सुदूरपश्चिम अध्यक्ष दामोदर भण्डारी चुनावी मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस्