Logo
Logo

नौ नेताको उम्मेदवारी संकटमा, खारेजीको माग गर्दै सर्वोच्चमा रिट


24.1k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जना उम्मेदवारविरुद्ध सर्वोच्च अदातलमा रिट दर्ता भएको छ । उनीहरुको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता गरिएको हो ।

अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरि, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट हालेका हुन ।

सुनसरी–३ बाट कांग्रेस उम्मेदवार रहेका गच्छदार र तनहुँ–१ का स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशी भ्रष्ट्रचार मुद्दा खेपिरहेका छन् ।

त्यस्तै चितवन–३ का राप्रपा उम्मेदवार विक्रम पाण्डेविरुद्ध पनि भ्रष्टचार मुद्दा रहेको, सिन्धुपाल्चोक १ (क)बाट उम्मेदवार रहेका डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ ज्यान मार्ने उद्योगमा प्रहरीको फरार सूचीमा रहेको, महोत्तरी १ का उम्मेदवार लक्ष्मी महतो सशस्त्र प्रहरी बलका जवान थमन विकको हत्या मुछिएको रिटमा उल्लेख गरिएको छ ।

त्यस्तै रौतहट–३ का उम्मेदवार प्रभु साह वीरगञ्जका काशी तिवारी हत्यामा जोडिएको र उनको मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता लिएको रिटमा उल्लेख छ ।

त्यस्तै नेता सरिता गिरिले नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे विवादित अभिव्यक्ति दिएको र झापा ५ (ख)का उम्मेदवार रेवतराज पुरी सरकारी जग्गा खाएको मुद्दा खेपिरहेका निवेदक आचार्यले रिटमा उल्लेख गरेका छन् ।

प्रतिनिधिसभा निर्वाचन ऐन २०७४ को दफा १२ मा रहेको उम्मेदवारको अयोग्यतासम्बन्धी प्रावधानमा रहेको छिद्रका कारण उम्मेदवारी दर्ता गरेपनि उनीहरु स्वच्छ छविका नभएको उनले उल्लेख गरेका छन् । उक्त रिटमाथि ३० असोजमा पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्