Logo
Logo

एसपीको जागिर जोगाउन निर्दाेषलाई जेल


25.3k
Shares


काठमाडौं । एसपी लगायत प्रहरी अधिकारीलाई कारबाहीबाट जोगाउन दुई निर्दाेष व्यक्तिमाथि अन्यायमाथि अन्याय भएको छ । पश्चिम नवलपरासीमा दुई भारतीयलाई लागुऔषध मुद्दामा सुनियोजित रुपमा फसाउने प्रयास गरेको प्रहरीले छानबिनले देखाए पनि अदालतले भने उनीहरुलाई पुर्पपक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । प्रहरीले अनुसन्धानको गल्ती सच्याउन नमानेपछि निर्दाेष व्यक्तिहरुमाथि थप अन्याय भएको छ । घटनामा दोहोरो भूमिका देखिएका एसपी ऋषिराम कँडेललाई जोगाउनकै लागि यसरी दुई व्यक्तिमाथि प्रहरीदेखि अदालतबाट अन्याय भएको हो ।


पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले भारतीय नागरिक रामा गुप्तालाई योजनाबद्ध रुपमा प्रहरी प्रयोग गरी लागुऔषध मुद्दामा फसाएका थिए । पक्राउ परेका उनका सहयोगी रघुनाथ धोवीकै बयानबाट सो कुरा पुष्टि भइसकेको छ । प्रहरीको छानबिनले पनि उनीहरुलाई निर्दाेष देखाएको थियो । तर, बरामदी मुचुल्कालाई आधार मानेर जिल्ला अदालत नवलपरासीले गुप्ता उनका सहयोगी सहयोगी जितेन्द्र पासवान र धोवीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । जिल्ला न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलाशले बुधबार यस्तो आदेश दिएको हो ।


छानबिनको क्रममा दुई भारतीय निर्दाेष देखिएपछि प्रहरीले मुद्दा नचलाई उनीहरुलाई साधरण तारेखमा छाड्न जिल्ला सरकारी वकिल कार्यालयलाई प्रस्ताव गरेको थियो । सरकारी वकिलले त्यसका लागि बरामदी मुचुल्का सच्याउनुपर्ने बताएका थिए । तर, अनुसन्धान अधिकृत रहेका इन्सपेक्टर धर्मराज खत्रीले मुचुल्का सच्याउन नमानेपछि उनीहरुलाई दुई महिना थुनामा राखेर मुद्दा दायर भएको थियो । योजनाबद्ध रुपमा नै उनीहरुलाई लागुऔषध मुद्दामा फसाउन खोजिएको देखिएपनि प्रहरीले सुरुवाती अनुसन्धानमा गरेको गल्तीका कारण निर्दाेष व्यक्तिहरु लामो समय थुनामा बसेर जेल चलान भएका हुन् ।

अनुसन्धानको गल्ती सच्याउन प्रहरी अधिकारी नै कारबाहीमा पर्ने भएपछि यसरी निर्दाेष व्यक्तिहरु फसेका हुन् ।
प्रहरी अनुसनधानमा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले प्रतिशोधस्वरुप उनीहरुलाई लागुऔषध मुद्दामा फसाएको पुष्टि भइसकेको छ । फरार रहेका गुप्ताविरुद्ध पनि लागुऔषध मुद्दा दायर भएको छ ।


गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षिय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरुसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरी दाबी थियो । प्रहरीको छानबिनको क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरु निर्दाेष देखिएपनि बरामदी मुचुल्का सच्याउन नमिलेपछि उनीहरुविरुद्ध समेत मुद्दा दायर गरेको हो । कवाडीको व्यापार गर्ने गुप्तालाई कवाडी सामान किन्न बोलाएर योजनाबद्ध रुपमा लागुऔषध राखी पक्राउ गरिएको थियो । प्रहरी प्रधान कार्यालय र प्रदेश प्रहरी कार्यालयको छानबिनमा पनि पक्राउ परेका गुप्ता र पासवान निर्दाेष देखिएपछि उनीहरुलाई तत्काल छाड्न निर्देशन दिइएको थियो । त्यसो गर्दा प्रहरी कारबाहीमा पर्ने भएपछि उनीहरुलाई मुद्दा नै चलाइयो । यो घटनाले प्रहरीको अनुसन्धान र न्यायप्रणाली दुवै उदांगो भएको छ ।

प्रतिक्रिया दिनुहोस्