Logo
Logo

एकीकृत समाजवादीका २० नेता : को कहाँबाट निर्वाचन लड्दैछन् ?


78.3k
Shares

काठमाडौं । पहिलो पटक संघीय निर्वाचनमा भाग लिएको नेकपा एकीकृत समाजवादी २० सिटसहित चुनावी मैदानमा छ । सत्तारुढ गठबन्धनले संघीय संसद्का १ सय ६५ सिट बाँडफाँड गरेसँगै एकीकृत समाजवादीको भागमा २० सिट परेको हो । 

रूपन्देही-२ मा उक्त पार्टीका उम्मेदवारको उम्मेदवारी खारेज भएपछि एकीकृत समाजवादीले प्रतिनिधिसभाका १९ सिटमा प्रतिस्पर्धा गर्दैछ । रुपन्देही(२ मा भने एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङ सर्वोच्च अदालत पुगेका छन् । अरु सबै उम्मेदवार आ–आफ्नो जिल्लामा पुगेका छन् । 

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहटबाट निर्वाचन लड्दै छन् । नेपालसँग रौतहट १ मा गौर नगरपालिकाका पूर्वमेयर एमालेका अजय गुप्ता प्रतिस्पर्धा गर्दै छन् । 

पार्टीका सम्मानित नेता झलनाथ खनालसँग इलाम क्षेत्र नम्बर १ बाट लड्दै छन् भने उपमहासचिव जगन्नाथ खतिवडाले उदयपुर २ बाट उम्मेदवारी दिएका छन् । खनालले एमालेका महेश बस्नेतसँग प्रतिस्पर्धा गर्दा खतिवडाको प्रतिस्पर्धी एमालेकै अम्मरबहादुर रायमाझी रहेका छन् । 

हाल बागमती प्रदेशमा मुख्यमन्त्री रहेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे धादिङबाट प्रतिनिधिसभा सदस्यको लागि लड्दै छन् भने सचिव रामकुमारी झाँक्री भने गुल्मी-२ बाट चुनावी मैदानमा उत्रिएका छन् । 

पाण्डे र झाँक्री दुवैले एमालेसँग नै प्रतिस्पर्धा गर्दैछन् । पाण्डेले एमालेका भूमि त्रिपाठी र झाँक्रीले एमालेकै गोकर्ण विष्टसँग प्रतिस्पर्धा गर्दै छन् । विष्ट र झाँक्री दुवै पूर्वसहयोद्धा हुन् । एमालेमा हुँदा पनि दुवै माधव नेपाल समूहमा थिए । तर पार्टी विभाजन भएसँगै दुई नेता छुट्टिएका हुन् । 

त्यस्तै सोमप्रसाद पाण्डे पाल्पा-२, मेटमणि चौधरी दाङ-१, जीवनराम श्रेष्ठ काठमाडौं-८, शेरबहादुर कुँवर अछाम- १, श्रीनाथ बराल कास्की-२, विरोध खतिवडा मकवानपुर- १, कृष्णलाल महर्जन ललितपुर- २, धर्मनाथप्रसाद साह सिराहा-४, कृष्णकुमार श्रेष्ठ बारा-४, भानुभक्त जोशी बझाङ, प्रकाश ज्वाला सल्यान, अम्मरबहादुर थापा दैलेख- १, प्रेम आले डोटी र हरिकुमार राना झापा-२ बाट निर्वाचन लड्दै छन् । 

यी २० मध्ये १९ निर्वाचन क्षेत्रमा भने एकीकृत समाजवादीले ‘माउ’ पार्टी एमालेसँग प्रतिस्पर्धा गर्दैछ । सिराहा ४ मा धर्मनाथप्रसाद साहबाहेक सबैमा एकीकृत समाजवादीका सबै उम्मेदवारले एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै छन् । 
 

प्रतिक्रिया दिनुहोस्