Logo
Logo

राससका २२ जना पत्रकारको तत्काल नविकरण गर्न माग गर्दै केन्द्रीय कार्यलयमा धर्ना


315
Shares

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस) मा वर्षौदेखि कार्यरत २२ जना श्रमजीवि पत्रकारको तत्काल नविकरण गर्न माग गर्दै नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संगठनले रासस केन्द्रीय कार्यलयमा धर्ना दिएका छन्।

विगत लामो समयदेखी काम गर्दै आएका पत्रकारलाई रोजगारीबाट नै बिमुख हुने गरी श्रमजीवि पत्रकारविरुद्ध रासस व्यवस्थापनले कदम चालेपछि राससका अस्थायी/करार/ज्यालादारी पत्रकार संघर्ष समितिको आयोजना तथा नेपाल पत्रकार महासंघलगायत पेसागत संघ संगठनका प्रतिनिधिहरुको सहभागितामा राससमा धर्ना दिइएको हो।

धर्नापछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले पत्रकारविरुद्धका उक्त कदम तत्काल सच्चाउन रासस व्यवस्थापनलाई चेतावनी दिएका छन्। उनले छिट्टै बैठक बसेर महासंघ कै नेतृत्वमा आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरिने र कुनै पनि हालतमा श्रमजीविको मुद्दा स्थापित गरेरै छाड्ने स्पष्ट पारे। उनले अबको आन्दोलनको अगुवाइ महासंघले गर्ने पनि जानकारी दिए।

महासचिव पुरीले महासंघका पुर्व अध्यक्ष धर्मेन्द्र झाले नै श्रमजीवि पत्रकारलाई हटाउने कार्य गर्नु अनुचित भएकाले तत्काल २२ जना पत्रकारको नविकरण गर्न माग गरे। श्रमजीवी(पत्रकार संघ, नेपालका अध्यक्ष जन्मदेव जैसीले नियत खराब राखेर व्यवस्थापन पक्षले श्रमजीवी पत्रकारलाई हटाउन खोजेको स्पष्ट नियत देखिएको बताए। उनले श्रमजीवी(पत्रकारलाई हटाउँछु भन्ने कल्पना समेत नगर्न चेतावनी दिए भने,‘अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राई तपाईं आफैंंले खडा गर्नुभएको समस्या हल गर्न सक्नुहुन्न भने कुर्सी त्यागेर जारी आन्दोलनमा सहभागी हुन आग्रह गर्दछु, होइन भने विनियम संशोधन गरेरै भए पनि श्रमजीवीहरुलाई सेटलमेन्ट गर्नुपर्छ,’ अध्यक्ष जैसीले भने।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण अधिकारीले महासंघको पूर्व अध्यक्ष झा व्यवस्थापन प्रमुख हुँदैमा आन्दोलनमा महासंघको साथ सहयोग नरहने अवस्था नहुने भन्दै महासंघले ती २२ जना पत्रकारको रोजगारी खोस्न नदिने बताए।

उनले दीर्घकालिन समस्या समाधानका लागि रासस विनियमावली संशोधन गरेर जानुको विकल्प नरहेको बताए। संचारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले धर्नाप्रति ऐक्यवद्वता जनाउँदै तत्काल समस्या समाधान गर्न आग्रह गरे।

उक्त बैठकमा समाजवादी प्रेस संगठन कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस सेन्टर नेपालका उपाध्यक्ष विदुर खड्का, समाजवादी प्रेस संगठनका महासचिव भूपराज खड्का, राससका पत्रकार संघर्ष समितिका संयोजक रमेश गिरि र प्रेस चौतारी नेपाल प्रतिष्ठान प्रदेश कमिटी इन्चार्ज मोहन बाँस्तोला लगायतले राससका पत्रकारको अधिकार सुनिश्चित गरी उनीहरुलाई न्याय दिन रासस व्यवस्थापनसँग अनुरोध गरेका छन् ।

राससका २२ जना श्रमजीवि पत्रकारलाई निश्कासन गरे कडा आन्दोलनमा उत्रने र राससका अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्वराज राईको पदसम्म नजोगिने चेतावनी दिँदै त्यस्तो अवस्था आउने छैन भन्ने विश्वास उनीहरुले व्यक्त गरे। राससका अस्थायीरकराररज्यालादारी पत्रकारलाई रासस व्यवस्थापन पक्षले हटाउन थालेपछि चरणबद्ध आन्दोलनको घोषणा गरेका छन्।

प्रतिक्रिया दिनुहोस्