Logo
Logo

पारस्परिक सम्बन्धलाई नयाँ उचाइमा पु-याउने प्रतिबद्धता


- दृष्टि न्युज/संवाददाता

0
Shares

 Photo By RSS

काठमाडौं, ४ भदौ । नेपाल र भारतका उच्च राजनीतिक नेतृत्वले दुईदेशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने प्रतिबद्धता दोहो¥याएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले आपसी सम्बन्धलाई थप गतिशील एवं प्रगतिशील तुल्याउने प्रतिबद्धता व्यक्त गरेको नेपाल र भारतका दुवै पक्षले जनाएका छन् ।
नेपाल–भारत संयुक्त आयोगको पाँचाँ बैैठकमा भाग लिने भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय भ्रमणमा रहेका भारतका विदेश मन्त्री एस जयशंकरले आफूले भारतका साथै नेपालबाट त्यस्तो प्रतिबद्धता व्यक्त भएको बताए ।
‘सम्माननीय प्रधानमन्त्रीसँगको शिष्टाचार भेटमा विदेशमन्त्री एस जसशंकरले दुवै देशमा राजनीतिक स्थायित्व कायम भएको र नीतिगतरुपमा पनि निर्णय गर्न सहज एवं सकारात्मक वातावरण बनेको बताउनुभयो’, बैठकमा भएको छलफलका विषयवस्तुबारे जानकारी दिँदै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराईले बताए ।
प्रधानमन्त्री ओलीले पारस्परिक विश्वासको वातावरण बनेको तथा नेपालको विकास प्रयासलाई केन्द्रमा राखेर आफूले देशलाई समृद्धिको मार्गमा उन्मुख गराइरहेको बताएका थिए ।
भारतले नेपालप्रति दर्शाएको सद्भावप्रति उनले आभार व्यक्त गरे । सो अवसरमा भारतीय बाह्यमामिलामन्त्री जयशंकरले द्विपक्षीय सम्बन्ध अझ विस्तृत एवं गहिरो बन्दै गएको र त्यसलाई नयाँ उचाइमा पु¥याउने दृढता प्रधानमन्त्री मोदीले व्यक्त गरेको जानकारी दिएका थिए ।
दुई देशबीचको सम्बन्धलाई एक्काइसौँ शताब्दी सुहाउँदो तुल्याउने सकारात्मक वातावरण तयार भएको अभिमत भेटमा दुवै पक्षबाट प्रकट भएको थियो । एक जिज्ञासाको जवाफमा सल्लाहकार भट्टराईले नेपाल–भारत सम्बन्धका समग्र पक्षबारे अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित प्रबुद्ध व्यक्ति समूह (इपिजी) को प्रतिवेदन उपयुक्त समयमा दुवै देशका प्रधानमन्त्रीबाट ग्रहण हुने जानकारी दिए ।
यसैबीच परराष्ट्र सचिव शंकरदास वैरागीले नेपालको विकास र सम्पर्क सञ्जाल विस्तार, उच्चस्तरीय भ्रमण आदानप्रदान, डुबानलगायत समस्याका साथै आपसी हित र चासोको विविध विषयमा विचारविमर्श भएको राससलाई बताए । प्रधानमन्त्री ओली र मन्त्री जयशंकरबीच विनासहयोगीको उपस्थितिमा एक घण्टाभन्दा बढी छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्