काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मतपेटिका ढुवानीका लागि सुरक्षा निकायको सवारी साधन प्रयोग गर्दा उपयुक्त नहुने बताएका छन् ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबारे सोमबार गृह मन्त्रालयमा आयोजित प्रमुख जिल्ला अधिकारीहरुसँगको भर्चुअल बैठकमा बोल्दै सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले यस्तो धारणा राखेका हुन् ।
मतदानपछि चुनावमा हार्ने पक्षले सुरक्षा निकायको सवारी साधनमा मतपत्र ल्याएको कारणले आफूहरु हार्नुपरेको आरोप लाग्ने गरेको भन्दै सकेसम्म मतपेटिका ढुवानीको काममा सुरक्षा निकायको सवारीसाधन प्रयोग नगर्न सुझाव दिए ।
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले भने ‘‘निर्वाचनमा सुरक्षा निकायले सबै स्थानमा राम्रो भयो, कुनै एक स्थानमा नराम्रो भयो भने विभिन्न आरोप सबै सुरक्षा निकायले खेप्नुपर्ने हुन्छ । त्यो भएकाले सबैले संवेदनशील भएर सबै सुरक्षा निकायलाई त्यही अनुसार परिचालन गर्नुहोला । चुनाव सकिएपछि मतपत्र ढुवानीको बेलामा सुरक्षा निकायको सवारी प्रयोग नगर्ने भन्नेछ । त्यो दिन ल्याउनुपर्ने भन्ने पनि हुनसक्छ । त्यो सुरक्षा निकायको सवारीमा ल्याउँदा चुनावमा हारजित कसको हुन्छ । त्यो बेला सुरक्षा निकायको सवारीमा ल्याएकाले यस्तो भयो भन्ने हुनसक्छ । त्यो भएकाले सकेसम्म सुरक्षा निकायको सवारी चुनाव सकिएपछि मतपत्र बोक्न प्रयोग नगर्दा राम्रो हुन्छ ।’’
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले निर्वाचनमा अन्त्यन्तै संवेदनशील भएर सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे । निर्वाचनमा एउटा समूहको गल्तीका कारण त्यसको पूर्ण प्रणालीमा असर पर्ने भएकाले सुरक्षाकर्मी परिचालनमा विशेष ध्यान दिन आग्रह गरे ।
बैठकमा बोल्नुहुँदै प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले अस्थायी मतदान केन्द्रमा परिचालित हुने सुरक्षाकर्मीबारे आवश्यक व्यवस्था मिलाउनुपर्ने बताए । उनले निर्वाचनको मौन अवधिमा शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन स्थानीय राजनीतिक दलहरुसँग समन्वय गरेर सुरक्षाकर्मी परिचालन गर्नुपर्ने उल्लेख गरे ।
‘‘१४ गते मात्रै अस्थायी मतदान केन्द्र निर्धारण हुन्छ । एउटा जिल्लामा कम्तिमा ५ वटा अस्थायी केन्द्र हुने भन्नेछ । जिल्लाका ५ वटा अस्थायी मतदान केन्द्रमा ८ जनाका दरले प्रहरी परिचालन गर्न भनेका छौं । सकेसम्म नजिकै मतदान केन्द्र भएको स्थानमा केन्द्र बनाउँदा कर्मचारीको समस्या आउँछ । त्यो विषयमा सोच्नुपर्ने जस्तो लाग्छ । निर्वाचनको मौन अवधिको अघिल्लो दिन घोषितरुपमा कार्यक्रम नभए पनि जिल्लाका कुनाकुनामा मान्छेहरु जम्मा हुने अघोषित रुपमा ¥याली सवारी साधनहरु अत्याधिक रुपमा प्रयोग भएर निर्वाचन आचारसंहीताको पालना नहुने हुन्छ । पहिला कार्यक्रम घोषणा नभएको तर त्यो काम हुने हुँदा त्यहाँ झडप हुने गरेका छन् । त्यो विषयमा स्थानीय दलहरुसँग समन्वय गर्नुपर्छ ।’’
उनको थप भनाई थियो ‘‘मंसिर ४ गतेको निर्वाचनमा नयाँ अस्थायी मतदान केन्द्र राख्ने आयोगको योजना छ । नयाँ विषय वस्तु आउदाँ केही समस्या आउँछ । सुरक्षा निकायहरुको ब्यारेकमा हुने र जेलहरुमा हुने निर्वाचनमा समयमा नै अनुगमन गर्ने जस्ता विषयमा विचार पु¥याउन सकेनौं भने पछि प्रहरीलाई अवगाल आउने वा प्रश्न उठ्नसक्छ ।’’
प्रहरी अतिरिक्त महानिरीक्षक लोहनीले निर्वाचनको मौन अवधिमा झडप हुनसक्ने भन्दै आवश्यक ध्यान दिन आग्रह गरे ।