Logo
Logo

काठमाडौंका क्यासिनोमा नेपालीको भीड


624.3k
Shares

काठमाडौं । तिहार सुरु नहुँदै काठमाडौँमा क्यासिनोहरूमा जुुवाडेको भीड लागेको छ । क्यासिनोमा नेपालीलाई जुवा खेल्न निषेध छ, तर प्रहरी सेटिङ भएपछि क्यासिनोमा नेपाली जुवाडेको भीड बढेको हो ।

स्रोतका अनुसार दसैँदेखि नै क्यासिनोहरुमा सेटिङमा नेपालीलाई खुला गरिएको छ । सेटिङकै कारण काठमाडौँका कुनै पनि क्यासिनोमा प्रहरीले छापा हानेको छैन । एसएसपी भरत बोहरा काठमाडौँ परिसरमा सरुवा भएलगत्तै मेरियट होटलमा रहेको डेल्टन क्यासिनोमा छापा हानी दुई नेपालीलाई पक्राउ गरेका थिए । तर, त्यो घटनामा क्यासिनोमा मेनेजर तथा सञ्चालकलाई पक्राउ गरिएन । क्यासिनोमा जुवा खेल्नेभन्दा खेलाउने मुख्य दोषी हुने भए पनि प्रहरीले मिलेमतोमा सञ्चालकलाई जोगाएको थियो । क्यासिनो नियमावलीमा नेपालीलाई जुवा खेलाएमा क्यासिनोको इजाजत नै रद्द हुने प्रावधान छ ।

धेरैजसो नेपालीलाई भिआइपी कार्ड तथा भारतको नक्कली राशन कार्ड बनाएर क्यासिनो छिराउने गरिएको छ । क्रिकेटको विश्वकपसमेत सुरु भएकाले जुवासँगै क्यासिनोमा सट्टेबाजी धन्दासमेत बढ्न थालेको छ । प्रहरीले छापा नहान्ने भन्दै क्यासिनोका सञ्चालक तथा कर्मचारीले जुवाडे बोलाउने गरेका छन् ।

स्रोतका अनुसार क्यासिनो सञ्चालकहरुले महानगरीय प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंमा सेटिङ मिलाएका छन् । महानगरीय प्रहरी कार्यालयका एआइजी रवीन्द्रबहादुर धानुकसँग केही क्यासिनो सञ्चालकहरुले भेटेको स्रोत बताउँछ । एआइजी धानुकको जागिर करिब तीन साता मात्र बाँकी छ । त्यसकारण अवकाशको मुखमा उनी कमाइमा लागेको बताइन्छ ।

काठमाडौं परिसरका एसएसपी भरत बोहराले पनि क्यासिनोमा छापा नहान्न मातहतका बृत्त इन्चार्जहरुलाई निर्देशन दिएका छन् । सोही कारण उनको पनि सेटिङ रहेको बताइन्छ । काठमाडौं उपत्यकाका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी जनकराज भट्टराईको पनि हुन्डी कारोबारी, जुवाडेका नाइके तथा विवादास्पद व्यक्तिहरुसँग उठबस धेरै रहेको त्यहाँ कार्यरत एक प्रहरी बताउँछन् । गम्भीर किसिमका अपराधको अनुसन्धान छाडेर उनी लेनदेनसम्बन्धी उजुरीमा धेरै लाग्ने गरेका छन् ।

दसैं–तिहारको समयमा होटलहरुमा करोडौंका जुवा चल्ने गर्दछन् । यस्तोमा नेतादेखि ठूला व्यापारी र न्यायाधीशसम्म पुग्ने गर्दछन् । त्यस्ता जुवा सञ्चालकले पनि प्रहरीमा सेटिङ मिलाउने गरेका छन् । यो वर्ष प्रहरीले काठमाडौंमा ठूला जुवाडे पक्राउ गर्न सकेको छैन । प्रहरी निष्क्रियताका कारण पनि संगठित जुवा बढेको छ । घुमुवा प्रहरी नै यस्ता जुवाखाल चलाउन सहयोग गर्न थालेका छन् । ललितपुरमा पनि एसएसपी यज्ञविनोद पोखरेलका घुमुवाले पनि ललितपुरमा व्यवसायीहरुलाई दुःख दिएको उजुरी माथिल्लो निकायमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्