Logo
Logo

तस्करीपछि सशस्त्र प्रहरीमा हलचल


3.3k
Shares

काठमाडौं । सप्तरीमा जवानबाट असइको हत्या भएको घटनाले सशस्त्र प्रहरीमा हलचल मच्चिएको छ । यो घटनापछि तराईमा कार्यरत घुस्याहा प्रहरीलाई तत्काल हटाउनुपर्ने आवश्यकता देखिएको छ ।

जवान होमबहादुर खत्री र असइ सत्यनारायण यादवबीच झगडा हुँदा यादवको हत्या गरिएको छानबिनमा खुलेको छ । दुवै जना बदनाम थिए भने पटक–पटक कारबाही भोगेका प्रहरी हुन् । उनीहरुलाई त्यहाँबाट सरुवा गराउन खोज्दा पनि नेताहरुले रोकेका थिए ।

सो घटनाको प्रमुख कारण सीमामा हुने तस्करी नै प्रमुख कारण देखिन्छ । दुई खराब प्रहरीबीचको झगडा भए पनि संगठन त्यसबाट बदनाम हुन पुगेको छ ।

यस्ता घटना रोक्न सशस्त्र प्रहरीले तराईमा जिल्लाहरूमा ‘स्वीप अप्रेसन’ चलाउने भएको छ । स्रोतका अनुसार तराईका जिल्लाहरुमा गोप्य टोली पठाएर तस्करीको लाइन खोल्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन लागिएको छ ।

सप्तरीका एसपी प्रदीप खड्काको कारण पनि सो घटना भएको बताइन्छ । उनले पहिलेदेखि नै लाइन खोल्दै आएको समाचार आए पनि कारबाही हुनसकेको थिएन । सप्तरीको घटनापछि सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले घुस्याहा प्रहरीहरुको सूची उतारेर उनीहरुलाई डाँडा कटाउने तयारी गरेका छन् ।

तैपनि कतिपय बिओपीबाट तस्करी रोकिएको छैन । पूर्वको काँकडभिट्टादेखि पश्चिमसम्म तस्करीको विकृति छ । प्रचण्डको बडीगार्ड बसेकै आधारमा काँकडभिट्टा बिओपी गएका इन्सपेक्टर निर्मल बस्नेत र रानी मोरङ गएका इन्सपेक्टर बुद्ध श्रेष्ठले शक्तिको आडमा तस्करी धन्दा चलाइरहेको स्रोत बताउँछ । दुवै इन्सपेक्टरलाई एक नम्बर बाहिनीका डिआइजी कमल गिरीको संरक्षण रहेको स्रोत बताउँछ ।

असइले ज्यान गुमाउँदा समेत सप्तरीका रामनगर, तिलाठीलगायतका बिओपीबाट हुने धन्दा रोकिएको छैन ।

नवलपरासीका बिओपीबाट हरियो केराउको तस्करी भइरहेको छ । नबलपरासीस्थित गणका एसपी रुपकुमार क्षेत्रीको संरक्षणमा भुजहवा, बलिनगर, महेशपुर, गुठीलगायत नाकाबाट तस्करी हुने गरेको छ । तस्करीमा संलग्न केही अधिकृतमाथि छानबिन चलिरहेको सशस्त्र मुख्यालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्