Logo
Logo

तालमेलमा जालझेल, १० बुँदेलाई सक्ने खेल


22.7k
Shares

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मैदानमा पुगिसक्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले फरक विचार राख्नेसँग गरेको व्यवहारका कारण चुनावी माहोल भड्किदै गएको छ ।

‘तालमेल’ का नाममा साथ दिन गएका सहयात्रीलाई पनि बेखुश पार्दै ओली अगाडि बढिरहेका छन् । यसै पनि पार्टीभित्रको आन्तरिक मनमुटावका कारण एउटा तप्का नै चुनावमा पार्टीविरोधी भूमिकामा निस्किसकेको छ ।

त्यसमाथि आफैँले उम्मेदवार बनाएका व्यक्तिलाई हराउन बालकोटले कार्यकर्ता खटाइसकेको स्रोतको दाबी छ । भनिन्छ, जब कोही मान्छेले हदको सीमा पनि नाघेर दम्भ, कुण्ठा र अनुदारता देखाउँछ, तब उसले पाइला–पाइलामा दुःख पाउँछ । अहिले यो दुःखबाट घेरिएका छन्, ओली ।

तालमेलमा जालझेल
ओलीले राप्रपाका दुबै खेमासँग चुनावी तालमेल गरेका छन् । ओलीले कतै राजेन्द्र लिङ्देन पक्षका उम्मेदवारलाई अप्ठेरो पार्नेगरी बागी उठाएका छन् भने कतै कमल थापाविरुद्धको मोर्चाबन्दी चलिरहेको छ ।

सत्ता गठबन्धनसँगको सहयात्रा टुटाएर एमालेसँग तालमेल गर्न पुगेको जसपाले उक्त तालमेल औचित्यहीन भएको निश्कर्ष निकालिसकेको छ । त्यसमाथि आफैँले टिकट दिएका कतिपय उम्मेदवारलाई ‘हराउनु’ भनी बालकोटको आदेश गइसकेको स्रोतको दाबी छ ।

राप्रपाको राजेन्द्र लिङ्दन पक्षलाई एमालेले देशभर जम्मा तीन सीटमा मात्रै सघाएको छ । अन्यत्र जहाँ–जहाँ राप्रपाका उम्मेदवार छन्, त्यहाँ–त्यहाँका एमालेहरू राप्रपाविरुद्ध देखिएका छन् । कतै बागी उम्मेदवार बनाएर त कतै बागीबिना नै असहयोगको नीति बालकोटले लिएको छ । झापामा स्वयं लिङ्देन, रुपन्देहीमा दीपक बोहोरा र बाँकेमा धवलसमशेर राणाबाहेक एमालेले उक्त खेमासँग उदारता देखाएको छैन ।

झापामा उदारता देखाउनुको मुख्य कारण हो, यदि त्यसो नगरेको भए स्वयं आफैँलाई चुनाव जित्न अप्ठेरो रहेको निष्कर्ष ओलीको छ । यति हुँदा पनि दमकमा स्थानीय निर्वाचनमा सत्ता गठबन्धनसँगको तालमेलमा चुनाव जितेका राप्रपाका मेयर राम थापा नै ओलीको पक्षमा छैनन् ।

उनले एक त आफूलाई ६ महिनाअघि चुनाव जिताउने गठबन्धनलाई धोका दिन नसकिने भनेका छन् भने अर्कातिर, आफ्नै पार्टीसँग गरेको तालमेलमा एमाले इमान्दार नभएपछि एमालेका लागि आफूहरू किन इमान्दार हुने ? भन्ने प्रश्न गरिरहेका छन् ।

चितवनमा विक्रम पाण्डेका लागि एमालेका रामप्रसाद न्यौपानेको उम्मेदवारी भयो । तर, तालमेल गर्ने बेलामा एमालेले कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालालाई समर्थन गरेको छ ।

मकवानपुरमा आफ्नै चुनाव चिन्ह दिएर कमल थापालाई एमालेले उम्मेदवार बनाएको छ । तर, त्यहाँ एमालेका स्थानीय नेता कमल थापासँग हिँडिरहेका छैनन् । त्यहीँबाट लिङ्देन खेमाको राप्रपाले दीपकबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

एमालेले तालमेल गरेर पनि ‘ताल’ र ‘मेल’ दुबै बेपत्ता भएपछि जसपासँगै एमाले आफँै पनि अप्ठेरोमा परेको छ । सत्ता गठबन्धनले भन्दा बढी सीटमा उम्मेदवारी दिने शर्तका साथ उक्त गठबन्धन छोडी एमालेसँग वार्ता गर्न गएको जसपाले शुरुमा पाउने भनिएको संख्यामा सीट पाएन ।

पाएको सीटमा चित्त बुझाएर तालमेल गर्न ऊ तयार भयो । तर, जहाँ–जहाँ जसपाका उम्मेदवार छन्, त्यहाँ–त्यहाँ कतै एमालेका आधिकारिक त कतै बागी उम्मेदवार खडा भइदिँदा जसपा अहिले सबभन्दा अप्ठेरोमा परेको छ ।

उपेन्द्र यादव उम्मेदवार रहेको सप्तरीको क्षेत्र नंं. २ मा एमालेकै उक्साहटमा सिके राउत उम्मेदवार बनेका छन् । अहिले उपेन्द्र आफ्नै उम्मेदवारी खतरामा परेको कारण एमालेसँगको तालमेलप्रति पछुतो मानिरहेका छन् ।

जबकी, बाराको क्षेत्र नं. २ बाट उम्मेदवार हुनका लागि उनलाई जिल्ला पार्टीको बैठकले भदौ १४ गते नै सिफारिस गरेको थियो । तर, एमालेसँग तालमेल हुँदा सप्तरीबाट सजिलै जितिने आँकलन गरी उनले बाराको प्रस्तावलाई अस्वीकार गरेका थिए ।

त्यहाँबाट ०७४ मा जितेका रामसहायप्रसाद यादव र प्रयाग रायको नाम सिफारिस भएको थियो । उपेन्द्र सप्तरीबाटै उम्मेदवार भएपछि बारा २ मा रामसहाय उम्मेदवार छन् । तर, एमालेहरूले सघाएका छैनन् ।

पर्सामा एमालेले प्रदीप यादवलाई समर्थन गरे पनि त्यहाँ उसले बागी उम्मेदवार उठाएको छ । एमालेसँग भएको सहमतिअनुसार जसपाले सुनसरी–१, सप्तरी–१, २ र ४, सिरहा–२ र ४, धनुषा–१, महोत्तरी–३ र ४, सर्लाही–१ र ४, रौतहट–२, बारा–२, पर्सा–१ र २ मा उम्मेदवारी पाउने कुरा थियो ।

जसपाले सबै ठाउँमा उम्मेदवारी दियो । तर, भएजति सबै ठाउँमा एमालेले समस्या खडा गरिदिएको छ । सुनसरी–१ बाट अशोक राई उम्मेदवार छन् । तर, एमाले नेता तथा धरानका पूर्वमेयर मनोज मेन्याङ्बो बागी उम्मेदवार छन् । एमालेहरू अशोक राईका लागि भोट मागिरहेका छैनन् ।

मेन्याङ्बो नै अहिलेसम्म चुनावी दौडमा राईभन्दा अगाडि छन् । मोरङको दुईवटा प्रदेशसभामा जसपाले उम्मेदवारी पाएकोमा दुबै क्षेत्रमा एमालेले आफ्नै आधिकारिक उम्मेदवार उठाइदिएको छ ।

आफ्नै हराउने नीति
विभिन्न कारणले चुनावमा टिकट दिन बाध्य भए पनि विगतका ‘१० बुँदे’ हरूलाई हराउनुपर्ने गरी बालकोटले रणनीति बनाएको छ । ताप्लेजुङमा योगेश भट्टराईका पक्षमा लिम्बू समुदायका एमालेहरू नै परिचालित भएका छैनन् ।

पोलिटव्युरो सदस्य तिलकुमार मेन्याङ्बो प्रदेशसभाका उम्मेदवार त बनाइए, तर लिम्बूहरूले योगेशलाई भोट मागेका छैनन् ।

झापा १ मा रविन कोइरालाले पाइसकेको टिकट खोसेर अर्को क्षेत्रका अग्नी खरेललाई उठाइएपछि असन्तुष्टि बढेको छ । रविन प्रदेशसभामा उठाइएका छन् । तर, उनलाई हराउनुपर्ने गरी त्यहीँका एमालेहरूलाई ओलीपक्षले परिचालित गरेको स्रोतको दाबी छ ।

०७४ को निर्वाचनमा वाम गठबन्धन हुँदा पनि चुनाव नजितेका अच्युत मैनालीलाई एमालेले बारा–१ बाट यसपटक पनि उम्मेदवार बनाएको छ । पुरुषोत्तम पौडेल ‘१० बुँदे’ पक्षधर भएकै कारणले उनलाई टिकट नदिइएपछि ओली प्रधानमन्त्री हुँदा जनसम्पर्क सल्लाहकार रहिसकेका मैनाली उठेका हुन् ।

अन्तिम अवस्थामा सुरेन्द्र पाण्डेलाई चितवन–१ बाट उम्मेदवार बनाउनुपर्ने ‘बाध्यता’ आइलागेपछि अहिले जगन्नाथ थपलियासहितका नेताहरू उनलाई हराउने भूमिकामा उत्रिएको स्रोतको दाबी छ ।

काठमाडौं उपत्यकामा मनोमानीपूर्ण उम्मेदवारी दिइँदा उपत्यकाका १५ वटै सिट गुमाउने स्थितिमा एमाले पुगेको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलविरुद्ध बालुवाटार, हाँडिगाउँ र टोखा क्षेत्रकै एमालेहरू लागिपरेका छन् । क्षेत्र नं. १० मा डा.सुरेन्द्र मानन्धर ‘१० बुँदे’ भएकै नाममा टिकट नदिइँदा नवप्रवेशीले टिकट पाएका छन् ।

रुपन्देहीमा घनश्याम भुसालको विद्रोह, खिमलाल भट्टराईको उम्मेदवारी रद्धजस्ता घटनाले एमाले अप्ठेरोमा परेको छ । शुरुमा बासुदेव घिमिरेले उम्मेदवारी दर्ता गरेपछि केपी ओलीको हस्ताक्षरमा खिमलालको उम्मेदवारी आधिकारिक भएको चिठी लगियो ।

तर, निर्वाचन आयोगले एउटै दलका दुई उम्मेदवारले मनोनयन दर्ता गरेको अवस्थामा जसले पहिला दर्ता गरेको हो, उसैको उम्मेदवारी कायम हुने व्यवस्थाअनुसार खिमलालको उम्मेदवारी खारेज गरिदियो ।

यसपछि देखावटी रुपमा खिमलालले बासुदेवको चुनावी कमाण्डर हुने घोषणा त गरे, तर भित्री रुपमा बासुदेवलाई हराउने भूमिकामै छन् ।

पाल्पामा ठाकुर गैरेलाई हराउने एमालेहरू नै लागेका छन् । गुल्मीमा गोकर्ण विष्टका लागि एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्री भारी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्