Logo
Logo

सप्तरी- २ : उपेन्द्र, जयप्रकाश र सीकेबीच त्रिपक्षीय टक्कर


1.4k
Shares

सप्तरी । सप्तरी- २ यसपटक त्रिपक्षीय भिडन्तका कारण चर्चामा छ । जसपा अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टी अध्यक्ष डा. सीके राउत र लोसपाका जयप्रकाश ठाकुरबीच यहाँ कडा टक्कर हुने भएको छ ।

यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका यादव एमालेसँग तालमेल गरेर मैदानमा छन् । तर, यादवलाई जित्न सहज छैन । स्थानीय निर्वाचनको परिणाम अनुसार यो क्षेत्रमा जसपा र एमालेकोभन्दा सत्ता गठबन्धनको मत बढी छ । अहिले यादवबाट मतदाता रुष्ट छन् ।

ठाउँमा पुगेर पनि निर्वाचन क्षेत्रको विकासमा चासो नदेखाएको आरोप उनीमाथि छ । त्यसमाथि यादवलाई ठाकुर र राउतले चुनौतिको पहाड खडा गरिदिएका छन् । यो क्षेत्रमा ठाकुर पछिल्लो समय लोकप्रिय नेताका रुपमा मानिन्छन् ।

२०७४ को निर्वाचनमा राजपाले टिकट नदिँदा स्वतन्त्र उठेरै उनले ९ हजार मत कटाएका थिए । ठाकुरलाई यसपटक गठबन्धनको साथ छ । अर्कातर्फ सीके राउतको पनि यहाँ राम्रो प्रभाव छ । पार्टीको संगठन खासै नभएपनि राउतले व्यक्तिगत मत पाउने देखिन्छ ।

राउत मधेशलाई छुट्टै देश बनाउने अभियानबाट पछि हटेर पहिलोपटक शान्तिपूर्ण चुनावी प्रतिस्पर्धामा छन् । त्यसैले यादवका लागि यसपटक संसद यात्रा सहज छैन । स्थानीय चुनावमा दलहरुले वडागत रूपमा प्राप्त गरेको नतिजा अनुसार यहाँ जसपा–एमाले गठबन्धन सत्ता गठबन्धनभन्दा १३ हजार मतले पछि छ ।

सत्ता गठबन्धनले ३३ हजार १ सय ८४ मत पाएको थियो । एमाले-जसपा गठबन्धनसँग २० हजार ३ सय ५४ मत छ । यस हिसाबले एमालेसँगकाे गठबन्धन यादवका लागि घातक हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्