Logo
Logo

काठमाडौं-६ : भीमसेनदास विस्वस्त, सर्वेन्द्रले के गर्छन् ?


11.4k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा काठमाडौ–६ मा कांग्रेस नेता तथा पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान र पूर्वप्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनालबीच प्रतिस्पर्धा हुँदैछ ।

हालैमात्र नेकपा एमालेमा प्रवेश गरेका खनाल एमालेले प्रतिनिधिसभा सदस्य उम्मेदवार बनाएको हो । तर, खनाललाई पहिलोपटक नै चुनावी प्रतिस्प्र्धा गर्न चुनौती बनेको छ किनकि उनका प्रतिस्पर्धी कांग्रेसका नेता प्रधानले काठमाडौ–६ बाट पटक-पटक चुनाव जित्दै आएका छन् । यसबाहेक प्रधान सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् ।

यसबाहेक यस क्षेत्रमा राप्रपाबाट स्वतन्त्र उम्मेदवार बनेका गायक सञ्जय श्रेष्ठ, निर्देश सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल उम्मेदवार रहेका छन् । यी उम्मेदवारहरु आफ्नोतर्फबाट चर्चित छन् ।

२०४८ सालदेखि कांग्रेसको राजनीति गर्दै आएका प्रधान र एमालेका नवप्रवेशी खनाल चुनावी प्रचारमा लागिसकेका छन् । यसअघि दुईपटक यसै क्षेत्रबाट निर्वाचित प्रधानले यसपाली पनि चुनाव जित्नेमा विस्वस्त छन् । उनका मुख्य प्रतिस्पर्धी मानिएका खनाल प्रहरी सेवामा रहँदा आफूले कमाएको लोकप्रियतालाई चुनावी एजेण्डा बनाएका छन् । तर, लोकप्रियतासँगै उनी विवादित पनि थिए ।

प्रधानले २०७० सालमा एमालेका योगेश भट्टराई र २०७४ सालको चुनावमा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीलाई पराजित गरेका थिए । नेता प्रधान अघिल्ला दुई कार्यकालमा गरेको कामको मूल्याँकन गर्दै जनताले यसपटक आफूलाई नै निर्वाचित गराउने विस्वस्त भएका हुन् ।

उनी भन्छन्, ‘जुनसुकै राजनीतिक पार्टीको भएपनि राजनीतिमै लागेको व्यक्तिले लामो त्याग र तपस्या गरेको हुन्छ । पूर्वकर्मचारीलाई राजनीतिमा ल्याएर अगाडि बढाउने काम अराजनीतिक हो ।’ जुनसुकै पार्टीले उम्मेदवार बनाउँदा राजनीतिमै त्याग गरेको व्यक्तिलाई महत्व दिनुपर्ने उनको धारणा छ ।

नेता प्रधान एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले ल्याएको गुठी विधेयकको विरुद्ध लागेका थिए भने खुलामञ्च खाली गर्न र अवैध ढंगले बनाएका सटर हटाउन, कंक्रिटको रानीपोखरी बनाउने काम रोकेर पुरातात्विक ढंगले मल्लकालीन रानीपोखरी बनाउनका लागि उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । त्यसैले पनि उनी काठमाडौं–६ मा थप लोकप्रियत बनेका छन् ।
यो निर्वाचनमा उनका मुख्य प्रतिस्पर्धी मानिएका खनाल राजनीतिमा नयाँ अनुहार मात्र नभएर प्रहरी संगठनमा हुँदा चर्चासँगै केही घटनाले विवाददित बनेका थिए ।

आफ्ना समकक्षी डीआइजी रमेश खरेललाई पाखा लगाउँदै प्रहरी प्रमुख बनेका खनालकै कार्यकालमा निर्मला पन्त’को बलात्कारपछि हत्याको घटना भएको थियो । सो घटनाको सत्यतथ्य अझै पत्ता लाग्न सकेको छैन ।

यस्तै, सर्लाहीमा कुमार पौडेललाई इन्काउन्टरको नाममा नियन्त्रणमा लिएर हत्या गरेको भन्दै खनालविरुद्ध सरकारी वकिलको कार्यालय सर्लाहीमा उजुरी दर्ता भएको थियो ।

उनी ‘सांसद अपहरण’ काण्डमा समेत मुछिएका थिए । तर, उनले अपहरणको जाहेरी लिएर जानेहरु नै अहिले केपी ओलीसँग सहकार्य गर्न आएको र उनीहरुले उजुरी पनि फिर्ता लिएकाले उक्त आरोपको तुक नरहेको बताउने गरेका छन् ।

उनी विश्वका विभिन्न देशमा गैरराजनीतिक क्षेत्रबाट राजनीतिमा आएकाहरुको उदाहरण दिँदै आफू सोही अन्रुपमा अघि बढेकाले काठमाडौं–६ का जनताले आफूलाई उपयुक्त उम्मेदवार पाएको दाबी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्