Logo
Logo

गोरखा-२ : जितका लागि प्रचण्डलाई असहज छैन


10.8k
Shares

काठमाडौं । हरेक प्रतिनिधिसभाको निर्वाचनमा चर्चाको शिखरमा रहने गोरखा-२ यसपटक पनि चर्चामै रहेको छ ।

आगामी मंसिर चार गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उम्मेदवारी दिएसँगै गोरखा–२ पुनः चर्चामा आएको हो । ०७४ को निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई र नारायणकाजी श्रेष्ठबीच भएको भिडन्तले चर्चामा रहेको थियो ।

यसपटक गोरखा–२ मा प्रचण्डसहित १२ जनको उम्मेदवारी परेको छ । प्रचण्डले सत्तागठबन्धनको तर्फबाट उम्मेदवारी दिएका हुन् । यसपटक गोरखा–२ बाट आफू विजयी हुनेमा प्रचण्ड ढुक्क छन् । चितवन छोडेर गोरखा गएसँगै यसपटकको निर्वाचनमा नयाँ रेकर्ड बन्ने उनको दाबी छ ।

गोरखा–२ प्रचण्डले उम्मेदवारी दिनु अघिसम्म यहाँबाट सत्ता गठबन्धनमा रहेका बाबुराम र नारायणकाजीमध्ये को उम्मेदवार बन्ला भन्ने चासो थियो । तर प्रचण्ड चितवनबाट सुरक्षित निर्वाचन क्षेत्र खोज्दै गोरखा–२ पुगेपछि झनै चर्चामा रह्यो ।

विगतका निर्वाचनको नतिजा र उनीविरुद्धका प्रतिस्पर्धीको उपस्थिति हेर्दा प्रचण्डलाई सहज देखिन्छ । गठबन्धनको साझा उम्मेदवार हुनु र विगतमा पनि माओवादीको जनाधार बलियो हुनु, बाबुराम र नारायणकाजीको पूर्ण साथले पनि प्रचण्डको जित सुनिश्चित जस्तै छ ।

मुख्य प्रतिस्पर्धी रहेको नेकपा एमालेलेबाट नयाँ अनुहार चुनावी मैदानमा भएका कारण पनि प्रचण्डका लागि सहज हुने अनुमान छ । यसपटक गोरखा–२ मा एमालेका अब्दुश मियासहित ११ जनाले प्रतिस्पर्धा गर्दैछन् । राप्रपाका सुशील पन्त, राप्रपा नेपालबाट कुलबहादुर बस्नेत, नेपाली कांग्रेस बीपीबाट टीकादत्त पोखरेललगायत चुनावी प्रतिष्पर्धामा छन् ।

प्रचण्डविरुद्ध उम्मेदवारी दिएका मियाबाहेक अन्य उम्मेदवारले उल्लेखनीय मत ल्याउने सम्भावना नरहेकाले प्रचण्डले सानदार मतसहित जित्ने देखिन्छ । गत स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धन निकट दलहरूले झण्डै ५२ हजार मत पाउँदा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेकाहरूलाई जम्मा ६ हजार ५ सय मत प्राप्त भएको थियो । ८ गुण भन्दाबढी मत गठबन्धन दल सँग छ ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम र मोओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायकाजीले पनि प्रचण्डको जिन सुनिश्चित भइससकेको बताउँदै आएका छन् । माओवादी केन्द्रका जिल्ला स्तरका नेताहरू पनि प्रचण्डलाई गोरखामा कुनै चुनौती नरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्