Logo
Logo

महिला बास्केटबलमा गण्डकीलाई पहिलोपटक पदक


378
Shares

दमौली । गण्डकी प्रदेशले राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला बास्केटबलमा पहिलोपटक पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मा सम्पन्न महिला बास्केटबलमा फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ गण्डकी प्रदेशले कांस्य पदक जितेको हो ।

गण्डकी प्रदेशले महिला बास्केटबलमा हालसम्म पदक जित्न सकेको थिएन । गण्डकी प्रदेशले यसपटक ऐतिहासिक कीर्तिमान कायम गरी पदक जित्न सफल भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए ।

फाइभ अन फाइभ र थ्री बाइ थ्रीतर्फ दुवै खेल जित्दै गण्डकीले दुई कांस्य पदक जितेको हो । तेस्रो स्थानका लागि गण्डकी प्रदेशले फाइभ अन फाइभमा सुदूरपश्चिम प्रदेश र थ्री बाइ थ्रीमा बागमती प्रदेशसँग प्रतिस्पर्धा गरेको थियो ।

फाइभ अन फाइभमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ४६-२४ अङ्कले पराजित गरेको थियो । गण्डकीले पहिलो क्वाटरमा १६-९, दोस्रो क्वाटरमा १०-४, तेस्रो क्वाटरमा १२-७ र चौथो क्वाटरमा ८-४ अङ्क जोडेको थियो ।

गण्डकीको जितमा सीमा गर्बुजाले व्यक्तिगत १९ अङ्क जोड्नुभएको थियो भने सुदूरपश्चिमका तर्फबाट सम्झना शाहीले सात अङ्क जोडेकी थिइन् । थ्री बाइ थ्रीमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ९–७ ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मकरूपमा भएको खेलमा गण्डकीले बागमतीलाई पराजित गर्यो ।

असोज २८ गतेदेखि सुरु महिला बास्केटबलको फाइभ अन फाइभमा त्रिभुवन आर्मी, सुदूरपश्चिम प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ सहभागी थिए । थ्री बाइ थ्रीतर्फ त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी, मधेस प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्