Logo
Logo

जीवनगुरू सत्यमोहन जोशी


6.9k
Shares

सत्यमोहन बाको भर्खरै निधन भयो । ‘वाङ्मय शताब्दी पुरुष’का रूपमा सर्वत्र परिचित उहाँ यथार्थमा सम्यक जीवन बाँच्न सिकाउने कुशल जीवनगुरू हुनुहुन्थ्यो । १०३ वर्षको लामो उमेरसम्म आफ्नो जीवन दृष्टिमा सुस्पष्टता कायम राखेर आफ्ना सारा इच्छाहरू पूरा गर्नसक्ने एक विलक्षण प्रतिभालाई गुमाएका छौँ ।

‘भौतिक रूपमा जीवित रहनु मात्र बाँच्नु होइन, बाँच्नुको अर्थ हुनु पर्छ’ भन्ने कुरा सिकाएर जानुभयो । त्यसैले उमेर नापेर मात्र उहाँलाई सम्झनुभन्दा मानवजीवनको अमूल्यता बुझेर सुकर्म, ज्ञानार्जन, मैत्री, करुणा र सम्यक खुसीका निम्ति निरन्तर लागिरहन सक्ने एक आदर्श पुरूषका रूपमा सम्झनु उपयुक्त हुन्छ ।

जीवनलाई साँच्चै माया गर्नसक्ने यस्ता आदर्श पुरूषले जीवनकालमा होस् वा मरणोपरान्त कुनै न कुनै रूपमा बाँच्न सिकाइरहेका हुन्छन् । त्यसैले अहिले पनि उहाँ हामीमाझ नै हुनुहुन्छ । शरीरदान गर्नु पनि उहाँको जीवनप्रेमकै एउटा उत्तम अभिव्यक्ति थियो ।

उहाँसँगको पछिल्ला केही भेटका क्रममा जीवन दर्शनबारे धेरै छलफल गर्न सौभाग्य जु¥यो । ती कुराकानीबाट मैले त प्रत्यक्ष लाभ पाएँ नै, तिनमा निहित सन्देशले सबैको कल्याण हुन्छ भन्ने लाग्छ । कतिपय कुराहरू शब्दमा अट्दैनन् ।

उहाँले मलाई ‘होम वर्क’का रूपमा एउटा काम दिनुभएको थियो– आइतबार बिहान रेडियो सगरमाथामा मैले बोल्ने गरेको ‘जीवनबाट जीवन सिकौं’लाई लिपिबध्द गरी पुस्तक बनाउनु भनेर । अभिभावकको यो आज्ञालाई मैले शिरोपर त गरें । तर महिना, वर्ष बित्दै गए । काम सिध्याउन सकिन । बोल्नु र लेख्नु फरक हुँदोरहेछ भनेर पनि अनुभव गर्दै थिएँ ।

डेढवर्ष अघि कोभिड अलि सेलाएको बेला ८४ वर्ष लाग्नु भएको स्रष्टा प्रकाश प्रधानाङ्ग दिदीसँग भेट्न गयौं उहाँलाई । उहाँ धैरै खुसी हुनुभयो र हामीसँग निकैबेर कुरा गर्नुभयो । फेरि पनि ‘लोभी’ भएर मैले उहाँको ज्ञानको गहिराईबाट केही पाउन खोजेँ ।

उहाँ सिधा कुरा गर्ने मान्छे– ‘त्यही त हो नि ! जीवन नै हो गुरू । जीवनबाट नै धेरै कुराहरू सिक्दै, सम्पन्न गर्दै ध्याउँदै जानुको विकल्प छैन…’ अनि सोध्नुभयो– ‘बरू तिमीले कहिले सिध्याउने त्यो पुस्तक ?’ मनमा लज्जाबोध भयो– गुरुले दिएको ‘गृहकार्य’ सिध्याउन नसकेकोमा । मेरो निम्ति ठूलो प्रेरणाका स्रोत र आशीर्वाद हो उहाँको यो नरम ‘हप्काई’ ।

पोहर उहाँ फेरि बिरामी भएर किष्ट अस्पतालमा भर्ना हुनुभयो । मलाई एकदम नमज्जा लाग्यो उहाँलाई पुस्तकको कभर मात्र देखाउन र ‘लेख्दैछु’ भन्न मात्र भ्याएकी थिएँ । उहाँलाई चढाउनै पाएको भने थिइन । मनमा छट्पटी सुरू भयो । तर एउटा आत्मविश्वास जस्तै मनमा आईरह्यो– मनको प्रार्थनाको जवाफ जस्तै । ‘यसपाली उहाँ निको भएर घर फर्कनु हुन्छ…, तिमी आत्तिनु पर्दैन’ भन्ने आवाज भित्रबाट आइरहेको थियो ।

गुरूले दिएको ‘गृहकार्य’ पूरै तयार गर्न नसके पनि हतार हतारमै पुस्तकको ‘डमी’ भएपनि तयार गर्न सकिन्छ कि भनेर भाइ वसन्त अज्ञात र प्रेसका भाइ केदार अधिकारीलाई अनुरोध गरें । कभर त दुईवर्ष अगाडि नै तयार भइसकेको थियो ।

‘जलरिका प्रकाशन’का जलेश्वरी श्रेष्ठबाट मैले केही नभनी त्यो पुस्तकबारे थाहा पाएर छपाईदिने इच्छा व्यक्त गर्नु भएको थियो एकवर्ष अगाडि नै । त्यसपछि पनि हामीसँगै सत्यमोहन बालाई भेट्न जाँदा खुसी हुनुभएको थियो । पुस्तकमा राख्ने भनिएका कुराहरू पनि करिव टाइप भइसकेकै थियो । तर जीवनदर्शनसँग सम्बन्धित पुस्तक त्यसरी हत्तार गरी निकाल्नु हुँदैन भनेर नै पर्खेकी थिएँ ।

उहाँ अस्पतालको शैय्यामा पुगेपछि भने मलाई चिन्ता मात्र नभएर छटपटी नै हुनथाल्यो । असल सहयोगीहरूको सहयोगले नमूना मात्र बनाउन धेरै समय लागेन । जसरी भएपनि उहाँको हातमा चढाउने इच्छालाई समयले पनि साथ दियो ।

उहाँका भतिजी देवकीले बिहान फोन गर्दा नआउनु भन्नुभएको थियो । ‘तःबालाई धेरै नै चाप्यो । कुरा गर्न पनि सक्नु हुन्न …’ म एकछिन निराश भएँ । तर भित्री विश्वासले भने निराश नहुन भनिरहेको थियो । अरू केही नगरी अस्पतालको खबर कुरी बसें । दिउँसो देवकी बहिनीकै फोन आयो– ‘आउने भए झट्ट आइहाल्नुस् । तःबाको अनुहार केही राम्रो भएको छ…’ म तुरुन्तै ट्याक्सी लिएर हावासरह दौडें । नभन्दै त्यहाँ पुग्दा अलि राम्रो अवस्थामा भेटें र धेरै कुरा नगरी ‘बा, यो पुस्तक त नमुना भए पनि सिध्याएँ, बालाई अर्पण गर्न ल्याएकी छु…’

उहाँको त्यो विरामी अनुहारमा पनि मुस्कान देखियो । हातमा राखिदिएपछि उहाँले सकी नसकी पुस्तक उठाएर ढोग्नु पनि भयो । कस्तो अमूल्य क्षण थियो त्यो ! जीवनमा मेरो पनि एउटा महत्वपूर्ण यज्ञ सफल भएको अनुभव गरेर तुरून्तै फर्किहालेँ, त्यतिबेला साँझ झमक्क नै भइसकेको थियो ।

मेरो लेखन यात्रामा एउटा अविस्मरणीय क्षण थियो यो । मनमा भने पुस्तकको परिमार्जन रूप निकाल्न नसकेको कुरा बरोबर आईनै रह्यो । पछि निको भएर घर फर्कनु भयो । पुस्तकको परिमार्जन रूप भने उहाँलाई दिन नसक्नु र केही छलफल गर्न पनि बाँकी रहेको कुराले लगातार नै चिन्तित थिएँ ।

दुई महिना अगाडि मात्र अगस्तको ७ मा पाटनको अर्को एउटा कार्यक्रममा जानु थियो । उहाँसँग कुरागर्ने मौका पनि मिलोस् भन्ने कामना गर्दै गएँ । त्यो कार्यक्रमबाट बिचैमा उठेर सिधै उहाँको घर गएँ– खबरै नगरी ।

त्यहाँ पुग्दाको संयोग– उहाँ एक्लै मलाई नै भेट्न पर्खिरहनु भएको जस्तो गरी घरमा मायादेवी मन्दिर छेउ एक्लै एउटा कुर्सीमा बसिरहनु भएको थियो । त्यतिबेला भर्खरै जस्तो मायादेवीको मन्दिर पछाडि एउटा स्तूप बनाइसकेर त्यसैलाई हेरिरहनु भएको थियो । यहाँको आयु आरोग्यको निम्ति प्रार्थना गरेँ । उहाँलाई चढाउने भनेको पुस्तकको बिषयमा कुराकानी हुन थाल्यो । जीवन दर्शनको बारेमा कुराकानी सुरु भयो । उहाँ निक्कै खुसी हुनु भयो ।

चैत्यका बारे, अनित्यताका बारे, शून्यताका बारे, जीवनका बारे कुरा हुन थाल्यो । मैले नबुझेका कुरा फेरि सोधेँ । उहाँले शान्त भएर जवाफ दिनु भयो । ‘मान्छे जहाँबाट आएको हो त्यही फर्केर पुग्नु छ– सबै शून्यता मै ! … यो शरीर छ, छैन पनि…’ यसरी सत्यमोहन बासँग ज्ञानको गहिराईमा कुरा हुन पाएपछि मेरो मन पनि शान्त भयो । लाग्यो– उहाँ कहिल्यै हामीबाट टाढिनु हुनेछैन, केवल बुझ्ने मात्र हो शून्यताको अर्थ ।

प्रतिक्रिया दिनुहोस्