कुरा जेठ ३१ गतेको हो । ‘नेपालमा समाजवादको कार्यान्वयन र चुनौतीहरू’ विषयक शीर्षकमा घनश्याम भुसालसँग करिब डेढ घण्टा कुराकानी भएको थियो । मैले उक्त भेटलाई ‘घनश्यामसँग घनिभूत छलफल’ भनेको छु ।
भेटका क्रममा भुसालले सुरुमा मेरो प्रस्तावित शीर्षकमा केही अलमल र केही द्विविधा प्रकट गरे । समाजवाद कार्यान्वयनमा पाइलासम्म सार्न नसकिएको उनको भनाइ थियो ।
नेपालमा समाजवादको कुरा गर्दा हामीले टेक्ने आधार भनेको संविधान हो । संविधानमा समावेश गरिएका मौलिक हक, अधिकार, कर्तव्यको पालना र कार्यान्वयन नै समाजवाद कार्यान्वयनको चरणारम्भ हो । अर्थात् स्वदेशमै काम, स्वदेशमै आराम र स्वदेशमै मामको व्यवस्था भयो भने समाजवाद कार्यान्वयनका दृश्यहरू सहतमा देखिन थाल्नेछन् ।
समाजवाद एकैचोटी आउने चिज होइन । समाजवादको न कुनै ठ्याक्कै खाका छ । समाजवादका मोडलहरू आवश्यकता र औचित्यका आधारमा परिवर्तन हुँदै जान्छन् । किनकि, समाजवाद युगीन यात्रा हो । त्यसकारण नेपालमा समाजवाद कार्यान्वयनबारे घनश्यामको अलमल अर्धसत्य थियो ।
विद्यमान संविधान समाजवादी संविधान हो । संविधान जारी भएपश्चात बनेको (नेकपा)का एक अध्यक्ष ओली सरकारले संसद् भंग, राजनीतिक बेइमानी र दम्भ, घमण्ड नदेखाएको भए सायद भुसाल कमरेडले आजको दिनमा समाजवाद कार्यान्वयनका केही दृश्यहरू प्रस्तुत नै गर्थे होला !
ओलीको सर्वसम्वत अध्यक्ष बन्ने कोसिसलाई रोक्न सफल बनेका भुसालले हरेकजसो मञ्च र अन्तर्वार्तामा पार्टी अध्यक्षले चालेका स्वेच्छाचारी कदम रोकिनुपर्छ भन्दै आएका थिए । पार्टीभित्रको लोकतन्त्र बलियो भयो भनेमात्रै आम लोकतन्त्रले बलियो आधार तय गर्छ भन्ने कुरामा भुसाल सचेत थिए ।
खैर, उक्त भेटमा घनश्यामसँग संविधानमा समावेश समाजवाद शब्द प्रजातान्त्रिक हो या लोकतान्त्रिक ? लोकतान्त्रिक हो कि माक्र्सवादी समाजवाद ? नेपालमा माक्र्सवादी समाजवाद स्थापना सम्भव छ या छैन ? नेपालमा स्थापना गर्ने समाजवादी मोडल के हुनसक्छ ?
समाजवाद स्थापना गर्ने हाम्रो हैसियत के हो ? कार्यदिशा, कार्यक्रम र संगठनबिनाका छिन्नभिन्न कम्युनिष्ट पार्टीहरूले माक्र्सवादी समाजवाद स्थापनाको गफ लगाउँदा जनताले पत्याइदिनुपर्ने कारणहरू के हुन् ? जस्ता प्रश्नहरूमाथि घनिभूत छलफल भएको थियो । साथै, उनलाई ओली नेतृत्वको एमालेमा रहेर समाजवादको भाषण गर्नु नैतिकताले दिन्छ ? भन्नेसम्मको प्रश्न मैले गरेको थिएँ ।
यी निरन्तरका प्रश्नपछि भुसालले लामो श्वास फेर्दै भनेका थिए, ‘हाम्रा विश्वविद्यालयहरूले उत्पादन गर्ने विद्यार्थीहरू निकै कमजोर छन् । तर, तपाईंको थेसिस निकै भेग भयो । यसलाई सरल बनाउन पर्यो । बरु विधावारिधि यसै शीर्षकमा गर्नुहोला ।’
मनमनै म पुनः सुरुकै अवस्थामा पुगेँ । समाजवादको पाइला नै चाल्न नसकिएको ठान्ने भुसाल समाजवादबारे मेरा केही तर्क, अध्ययन र अनुभवका आधारहरू प्रस्तुत गर्दा सायद कन्भिन्स भए ! जेहोस् बहस तातो बन्यो ।
भुसालले अनेकन तथ्यांकहरू सुनाए । हामीले रुसी समाजवादी मोडलका बारेमा कुरा गर्यौं । जर्मनी समाजवादी आन्दोलनका बारेमा कुरा गर्यौं । चिनियाँ समाजवादी मोडलका कुरा गर्यौं । अन्ततः त्यस भेटमा पनि अरुले भनेझैं हामीले पनि भन्यौं, ‘नेपालमा मौलिक समाजवाद स्थापना गर्नुपर्छ ।’ तर, कसरी ? पुनः प्रश्न खडा भयो ।
मेरो बुझाइ छ कि, नेपालमा समाजवाद स्थापना हुन्छ । त्यसका लागि बलियो राजनीतिक शक्ति चाहिन्छ । जो नेपालमा छैन । गफगाफकै क्रममा घनश्याम एमालेमै बस्नुको कारण जान्न मन लाग्यो । मैले वैचारिकरुपमै भने कि तपाईं एमालेमा रहनु र नरहनु, बस्नु र नबस्नुको के अर्थ छ ?
बरु तपाईं माधव नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी)मा हुनुपर्ने । तपाईँको जहाँ खाँचो छ, त्यहाँ तपाईँ नजाने, जहाँ तपाईँको कुनै खाँचो छैन, कुनै स्थान छैन, कुनै कुराको सुनुवाइ हुँदैन त्यहीँ बसिरहनुभएको छ । यो कति ठूलो अन्तरविरोध ? तपाईं र म एउटै कित्तामा उभिनुपर्ने हो । तपाईंलाई मैले र मलाई तपाईंले गुमाइरहनुबाहेक अरु के छ ? मेरो सुझाव थियो, तपाईंको मोर्चा एमाले होइन, समाजवादी पार्टी हो ।
नेपालमा समाजवाद स्थापना गर्ने नै हो भने नेपाली जनतालाई खुसी पार्ने नै हो भने समाजवादीहरू एक ठाउँमा उभिनैपर्छ । त्यसका लागि तपाईं तयार हो ? भुसालले एमालेमा रहेर ओलीलाई सुधार्न सकिन्छ कि भनेर प्रयास गरिरहेको तर, सम्भावना कम बन्दै गएको संकेत गरेका थिए ।
कालिकोटका युवाहरू पनि समाजवाद र माक्र्सवादबारे गहिरो अध्ययन गर्ने क्रममा रहेछन् खुसी लाग्यो भनेर भुसालले विषयगत बहसलाई सक्काएका थिए ।
एमाले छोड्ने त्यो पूर्वसंकेत
हाम्रो भेटभन्दा केहीअघि राष्ट्रियसभामा एक कार्यक्रमको आयोजना गरेर एमालेभित्र वैचारिक आन्दोलनलाई तीव्र पार्ने उद्घोष गरेका थिए भुसालले । त्यो प्रयासले सफलता हात नपारेपछि एमालेभित्र उनी गुम्सिएर बसेका रहेछन् भन्ने कुरा एमाले परित्यागपछि व्यक्त उनका अभिव्यक्तिले जनाउँछन् ।
उसो त उनी वाम एकता र गोलवद्ध हुनुपर्छ भनेर बारम्बार आग्रह गर्दै आइररहेका छन् । जसको नेतृत्व एमालेले गर्नुपर्छ भनिरहेका थिए । ओलीजस्तो दम्भी, घमण्डी, प्रतिगामी व्यक्तिको पार्टीमा बसेर समाजवादका कुरा गर्ने, वाम आन्दोलन र एकताको नेतृत्व एमालेले लिनुपर्छ भन्ने लाइनका भुसाल ठूलो अन्तरविरोधमा बाँचेका थिए ।
एमालेको १०औँ महाधिवेशनलाई सौराहाकाण्ड, ओलीका अन्धभक्तहरूलाई साइवर स्यालजस्ता भाष्यकर्ता भुसाल पार्टी नेतृत्वलाई निर्वाधरुपमा सुझाव दिने नेता थिए । उक्त महाधिवेशनमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।
ओलीको सर्वसम्वत अध्यक्ष बन्ने कोसिसलाई रोक्न सफल बनेका भुसालले हरेकजसो मञ्च र अन्तर्वार्तामा पार्टी अध्यक्षले चालेका स्वेच्छाचारी कदम रोकिनुपर्छ भन्दै आएका थिए । पार्टीभित्रको लोकतन्त्र बलियो भयो भनेमात्रै आम लोकतन्त्रले बलियो आधार तय गर्छ भन्ने कुरामा भुसाल सचेत थिए ।
एमाले पार्टीभित्रको संकटपूर्ण आन्तरिक लोकतन्त्रलाई मलजल गर्ने र वैचारिक धारलाई इस्पात बनाउने भुसालको सपना साकार नभएपछि उनी एमालेबाट लखेटिएका छन् । उनका पछिल्ला अभिव्यक्तिअनुसार थोरैभन्दा थोरैसम्म स्पेश पाएको अवस्था हुन्थ्यो भने एमालेमा बस्ने अवस्था रहने थियो । तर, उनले त्यो पनि पाएनन् । उनले एमालेमा दोस्रो विद्रोह गरे ।
भुसालको एमाले परित्यागले उक्त पार्टीको नेतृत्वलाई निद्रा त लाग्ला । तर, असली एमालेहरू, माक्र्सवादी एमालेहरू, विचार, सिद्धान्त र सामूहिक हितप्रति सचेत एमालेहरूलाई घनश्याम स्मरणीय हुनेछन् । घनश्यामको कदमबाट उनीहरू खुसी छन् भन्ने लाग्दैन ।
घनश्यामको विकल्प
मैले सधैँ भन्ने गरेको छु, ‘माधव नेपाल, झलनाथ, वामदेवहरू एमालेबाट लखेटिएका हुन् । पार्टीभित्रको लोकतन्त्रमात्रै होइन, आम लोकतन्त्र, संविधान र व्यवस्था धरापमा पर्न थालेको देखेर पार्टीबाट वैचारिक विद्रोह गरेका हुन् । किनकि, उनीहरू नेतृत्व हुन् । घनश्यामहरू नेता हुन् । उनीहरूले ओलीको महिमागान गाउन पनि सक्लान् । तर, नेतृत्वमा पुगिसकेको नेताहरूले कदम चाल्ने भनेपछि रोकिँदैनन् । एमालेमा माधव नेपालहरू नरोकिनुका कारण यो पनि हो ।’
केपी ओलीको पश्चगामी, प्रतिगामी कदमको मतियारी गरेर तत्कालीन माधव नेपाल लाइनका केही नेताहरू एमालेमा अडिएका छन् । पार्टीमै बसेर पार्टीको अनुशासनभन्दा बाहिर गएर निरन्तर बोल्ने घनश्याम, भीम रावलजस्ता नेताहरूको हरिबिजोग छ, थियो । ओलीको नांगो दक्षिणपन्थी अवसरवादी भड्काउलाई बुझेर पनि, देखेर पनि नदेखेझैं गरेर पार्टीभित्र गुम्सिएर बसेका नेता कार्यकर्ताहरू छन् ।
भुसालकै शब्दमा भन्ने हो भने सौराहा काण्डदेखि उनको पलायनसम्म आइपुग्दा एमालेलाई कुनै एउटा कुरामा सफलता मिलेको छैन । न त आगामी दिनमा मिल्ने देखिन्छ । तर, पनि एमाले नेतृत्व सच्चिने सुरमा छैन । कसैका कुरा सुन्ने पक्षमा छैन । बालुवाटारबाट बालकोट पुग्नुपरेको छटपटी अझै प्रहसन गरिरहेको छ ।
दुईतिहाइ नजिकको सत्ता, शक्तिशाली पार्टी (नेकपा), एमाले छिन्नभिन्न बनाउन सफल भएका ओली आगामी मंसिर ४ मा सम्पन्न हुने निर्वाचनमा पुनः दुईतिहाइ मत ल्याएर सरकार बनाउँछु भन्दै गफ हानिरहेका छन् । जो ओलीको चुनावदेखि चुनावसम्मको बुर्जुवा फण्डा मात्रै हो । भलै, ओलीले टिकट नदिएर घनश्यामलाई समाजवादी कित्तामा उभ्याइदिएका छन् ।
माधव–झलनाथहरूको विद्रोहबाट कमजोर बनेको एमाले घनश्यामको पार्टी परित्यागले पनि केही असर गर्छ नै । सत्ता गठबन्धनभित्र अन्तरघात नभएको खण्डमा एमाले सस्तैमा समेटिने निश्चित छ ।
यता, घनश्यामले त्रिभुज चिह्न पाएका छन् । सायद एकीकृत समाजवादी, माओवादी, लोसपा र कांग्रेसका मतदाताले उनलाई विजयी बनाउने छन् ! साथै, उनका सामु दुई विकल्प छन् ।
पहिलो विकल्प समाजवादी मोर्चामा समाहित हुने । दोस्रो, किताब लेख्ने, लेख लेख्ने बस्ने । यीमध्ये प्रभावकारी विकल्प पार्टीमै जोडिने हो । म त भन्छु अन्ततः माक्र्सवादी चिन्तक भुसालले आफ्ना विचारलाई विशाल बनाउन र समाजवादको बहसलाई घनिभूत पार्न मंसिर ४ पछि उनी एकीकृत समाजवादी पार्टीमा जोडिनुपर्छ ।
किनकि, उनको खाँचो नेपाली राजनीतिमा टरेको छैन । उनलाई आफ्ना विचार प्रवाह गर्नका निम्ति चौतारो चाहिन्छ । त्यो भनेको सांगठनिक मञ्च हो । संविधान, लोकतन्त्र, गणतन्त्र र परिवर्तनलाई ध्वस्त पार्न तल्लीन एमालेलाई सबक सिकाउनका निम्ति पनि उनी समाजवादी पार्टीमा आबद्ध हुन जरुरी छ । पूर्वपञ्चेहरू, दलालहरू, धर्म प्रचारकहरू एमालेमा प्रवेश गर्दैगर्दा भुसालको बहिर्गमन रोचकमात्रै होइन एउटा इतिहास बनेको छ ।