पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन गोरुगाढा सिद्धान्तको विपरीत बनेको बताएका छन् ।
पोखरामा आयोजित गठबन्धनको प्रादेशिक भेलामा बोल्दै उनले संविधान, लोकतन्त्र र राष्ट्रका रक्षा निम्ति गठबन्धन कायमै रहने पनि बताए ।
अध्यक्ष प्रचण्डले भने, ‘जनआन्दोलनताका एमालेभित्रै केही मान्छेले गोरुगाढा सिद्धान्त बताउँदै बसे । पछि सुध्रे होलान् भनेको फेरि त्यही सिद्धान्त अपनाउन लागेपछि गठबन्धन बन्यो ।’
पाँचदलीय गठबन्धन निर्वाचनमा जानका लागिमात्र नबनेको भन्दै उनले ठूलो मिहिनेत र छलफलपछि गठबन्धन बनेको बताए । उनले भने, ‘गठबन्धन निर्वाचनमा जान मात्र बनेको होइन । यसो भनिन्छ भने गठबन्धन पछाडिको सिद्धान्तलाई नजरअन्दाज गरेको हुन्छ ।’
प्रचण्डले पाँच दलका शीर्ष नेता सबै एक भएको सन्देश दिन प्रदेशस्तरीय भेलामा आफूहरु हिँडेको बताउँदै उनले भने, ‘देशलाई घातकरूपमा पछि धकेल्न अर्को गठबन्धन उद्धत छ ।’ देशलाई नयाँ आर्थिक विकासको युगतर्फ लैजान गठबन्धनको विजयी आवश्यक रहेको उनको भनाइ छ ।