Logo
Logo

‘ओलीले १० करोडमा कमल थापालाई सूर्य चिन्ह बेचे’


40.1k
Shares

हेटौंडा । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य विरोध खतिवडाले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १० करोड रुपैयाँ लिएर राप्रपा नेपालका अध्यक्ष कमल थापालाई सूर्य चिन्ह बेचेको बताएका छन् ।

शुक्रबार लोकतान्त्रिक वाम गठबन्धनबाट मकवानपुर–२ मा उम्मेदवार रहेका खतिवडाले राक्सिराङको सरिखेत पलाँसेमा आयोजित चियापान तथा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

पूर्वमन्त्रीसमेत रहेको खतिवडाले ओलीले राजावादी र विखण्डनकारीसँग हातेमालो गर्दै गणतन्त्र र व्यवस्था नै मास्न लागेको बताउँदै भने, ‘ओलीले १० करोड लिएर यसपटक सूर्य चिन्ह पनि कमल थापालाई बेच्नुभयो ।’

उनले मकवानपुरमा गठबन्धन बलियो मत रहेकाले एमालेका उम्मेदवारहरू स्पर्धामा आउनै नसक्ने बतए । उनले पश्चिम मकवानपुरको विकासमा आफू र गठबन्धनको लगानीबारे बोल्दै भने, ‘यहाँको विकासमा साढे ३ वर्ष शासन गरेको ओली सरकार र बागमती प्रदेशमा डोरमणि पौडेलको सरकारले सिन्को भाँचेन, बरु चेपाङ समुदायको क्षेत्रमा विकासका योजना ल्याउन खोज्दा सधैँ तगारो हाले ।’

अब बन्ने गठबन्धन सरकारले गाँजा विधेयक पारित गर्नुका साथै गाँजा मुद्दामा देशभर जेल परेका १० हजार मानिसलाई जेलमुक्त गर्न विधेयक ल्याइनेसमेत उनले बताए ।

कार्यक्रममा मकवानपुरको निर्वाचन क्षेत्र २ को (क)का उम्मेदवार कुमारी मोक्तानले पछिल्लोपटक बागमती प्रदेश सरकारले ल्याएको एउटै बजेटले निर्वाचन क्षेत्र नम्बर–२ को रूपान्तरण भएको बताइन् ।

सरकार निर्माणमा एउटा मत निर्णायक हुने र मकवानपुरका सबै गठबन्धन उम्मेदवार यसपटक सरकारको नेतृत्वमा पुग्ने अनुहार भएकाले मत दिन उनले आग्रह गरिन् ।

यस्तै, निर्वाचन क्षेत्र नम्बर–२ को (ख)का उम्मेदवार ईन्द्रबहादुर बानियाँले एमालेले दोबाटोमा बसेर बाटोमा भेटिएका जति सबैलाई सूर्य चिन्ह बेच्दै सिंगो व्यवस्था र मुलुकलाई मास्न प्रयास गरिरहेको बताए । उनले डमरु बजाउँदै औषधि बेच्ने हालतमा एमाले पुगेको समेत दावी गरे ।

कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजाराम स्याङ्तान, नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष बनस्तम थिङलगायतले निर्वाचन क्षेत्र नम्बर २ को विकासमा सधैँ बाधक बनेको एमालेले भोट माग्न पनि लजाउनुपर्ने टिप्पणी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्