Logo
Logo

एमालेको सरकार बनेपछि जेट विमानको गतिमा विकास हुन्छ : ओली 


2.3k
Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर चार गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनपछि जेट विमानको गतिमा नेपालको विकास हुने बताएका छन् । 

शुक्रवार राष्ट्रियसभामा आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने र जेट विमानको गतिमा विकास हुने उनले बताए ।

पूर्वप्रधानमन्त्री समेत रहेको ओलीले भने- ‘अब मंसिर चारपछि जनकपुरको रेलभन्दा छिटो विकासको गति बढ्छ । हाइवेको गाडीभन्दा छिटो विकासको गति बढ्छ । अहिले हाम्रो डोमेस्टिकमा चल्ने सौय एयर, सिम्रिक एयरलाइन्स साढे सात सय किलोमिटर प्रतिघण्टाका दरले उड्छ । त्यो स्पीड या त्यो भन्दा बढी ९६० को स्पीडमा जेट विमान उड्छ हो, त्यो स्पीडमा हाम्रो देशको विकास गति अगाडि बढ्छ । चौतर्फी रुपमा यो सन्देश गाउँ-गाउँमा लिएर जानुहोस् ।’

ओलीले अफ्नो नेतृत्वको सरकारले रेल ल्याएको दाबी गरे । उनले भने, ‘हामीले रेल ल्याउँछौँ भन्दा मजाकमा उडाउँथे। अस्ति म चढेर आएँ । तर, रेल खचाखच हुने रहेछ । मलाई त्यहाँका अफिसरहरूले भने रेल थपिदिनुपर्‍यो भनेर । नत्र एकदमै कोचाकोच भयो रेलमा। रेल विस्तार र गर्नुपर्‍यो । पूर्वपश्चिम रेलमार्ग निर्माणको लागि मार्ग तयार गरिसकेका छौँ। मुआब्जा दिने काम भइरहेको छ ।’

महाअदालत बसेर महाफैसला मंसिर चार गते हुने उनले बताए । उनले भने, ‘आगामी चार गते महाअदालत बसेर महाफैसला हुन्छ । अहिलेका अदालतको निर्णय सबै सच्याउने गरी जनताको राष्ट्रिय अदालत चार गते बस्दै छ, त्यसले महाफैसला गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस्