Logo
Logo

निर्वाचन नभइ गठबन्धनले गुमायो एक सिट, विष्णु पौडेललाई हाइसन्चो


37.2k
Shares

काठमाडौं । रूपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ सत्तारुढ गठबन्धन उम्मेदवारविहीन भएको छ । सर्वोच्च अदालतले नेकपा (एकीकृत समाजवादी)का राजु गुरुङको उम्मेदवारी खारेज गरेसँगै गठबन्धन सो क्षेत्रमा उम्मेदवारविहीन भएको हो । 

गठबन्धनको सिट बाँडफाँड अनुसार रुपन्देही– २ एकीकृत समाजवादीको भागमा परेको थियो । एकीकृत समाजवादीले गुरुङलाई उम्मेदवार बनाएको थियो । तर, मुख्य निर्वाचन अधिकृतको कार्यालय रूपन्देहीले चेक बाउन्स प्रकरणमा कालोसूचीमा नाम रहेको भन्दै उनको उम्मेदवारी बदर गरेको थियो । गुरुङले उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गुरुङको उम्मेदवारी तत्काल खारेज नगर्न यसअघि सर्वोच्चले नै दिएको अल्पकालीन अन्तरिम आदेश निरन्तरता नदिने आदेश दिएको छ । उक्त आदेशसँगै गुरुङको उम्मेदवारी खारेज भएको छ । र, रुपन्देही–२ मा सत्ता गठबन्धन उम्मेदवारविहीन भएको छ ।

सर्वोच्चको आदेशमा भनिएको छ- ‘निवेदक राजु गुरुङले २०७४ सालमा कालो सूचीमा राखिएको कुरालाई लिएर कुनै कानुनी उपचार प्राप्त गरेको भन्ने पनि देखिएन । कालोसूची कायम रहेको भन्ने देखियो, कालोसूचीमा नाम समावेश रहेको सम्बन्धी अयोग्यता निवेदक राजु गुरुङमा कायम रहेको देखिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अवस्था देखिएन । कालो सूचीमा नाम कायम रहेका व्यक्तिले उल्लिखित निर्वाचनमा उम्मेदवार हुन नपाउने भएकाले निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्न मिलेन ।’

गुरुङको उम्मेदवारी खारेज भएसँगै निर्वाचन नै नभइ सत्ता गठबन्धनले एक सिट गुमाएको छ भने नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई सहज हुने भएको छ । मुख्य प्रतिस्पर्धी गुरुङको उम्मेदवारी खारेज भएसँगै उक्त निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार पौडेललाई सहज भएको हो । 

यसअघि वैशाखमा भएको स्थानीय तह निर्वाचनमा यो क्षेत्रका वडाध्यक्षहरूका उम्मेदवारहरूले पाएको मत संख्या हेर्दा गठबन्धन एमालेभन्दा २ हजारभन्दा बढी मतले अगाडि थियो । तर, अब सत्ता गठबन्धन उम्मेदवारविहीन भएपछि यो क्षेत्रमा एमालेका उम्मेदवार पौडेललाई सहज भएको छ ।

गठबन्धनबाट एकीकृत समाजवादीले प्रतिनिधिसभामा पाएको एक सिट पनि गुमेको छ । गठबन्धनमा एकीकृत समाजवादीले प्रतिनिभिसभातर्फ जम्मा २० सिट पाएको थियो । 
 

प्रतिक्रिया दिनुहोस्