Logo
Logo

संखुवासभामा फुल अभाव


441
Shares

संखुवासभा । संखुवासभामा फुलको अभाव भएको छ । तिहारमा समेत बजारमा फुल नपाउँदा उपभोक्ता रित्तो हात घर फर्कन बाध्य छन् ।

संखुवासभामा हालसम्म फुलको व्यावसायीक खेती भएको छैन । थोरै मात्रामा छिटपुट लगाएको फुलले माग नधानेको हो । ठुलो मात्रामा फुल खेती नलगाउँदा सहर बजारवासीहरूको तिहार फुल विहीन हुने देखिएको छ ।

गाउँ घरमा भने आफ्नो लागि घर वरिपरि र आँगनको डिलमा फुल रोप्ने गरिन्छ । आफूलाई राखेपछि बढी हुने भए मात्र बजारमा बेच्न लैजाने चलन छ । यस वर्षको तिहार चाँडो भएकाले सबै फुल नफुल्दा अभाव बढेका बताइएको छ ।

गाउँबाट फुल बजारमा नआएपछि जिल्ला सदरमुकाम खाँदबारी, चैनपुर लगायतका बजारहरूमा फुलको अभाव बढेको खाँदबारीका फुल व्यापारी उषा रामदानले बताइन् । बजारमा सयपत्री र मखमली नपाएपछि चलानी फुल (प्लास्टिकको फुल) प्रयोग गरेको पाँचखपन नगरपालिकाका तारा पुरीले सुनाइन् ।

भाईटिकाको अघिल्लो दिनसम्म फुल खोज्ने र नपाए चलानी फुल प्रयोग गर्ने योजना रहेको उनको भनाइ छ । हातमा फुलको सानो मुठो देखाउदै पुरीले भनिन्, ‘एक अँगालो फुल लैजाने भएर बजार आएकी थिएँ, यत्ति पाएँ ।’ सयपत्री फुलको प्रतिथुंगा २० रुपैयाँ तिरेको सुनाइन् ।

तिहारमा भाइटिकाको लागि मखमली फुल सबैभन्दा राम्रो मानिन्छ । तर जिल्लाको मुख्य बजारहरूमा छिटपुट सयपत्री फुल पाईए पनि मखमली फुल शुन्य छ । अघिल्लो वर्ष ठाउँ ठाउँका कृषकहरूबाट सङ्कलन गरेर एकै दिन ३० हजार रुपैयाँका मखमली फुल बिक्री गरेको स्थानीय व्यापारी दुर्गादेवी कार्कीले बताइन् ।

उनले यो वर्ष बजारमा बिक्री गर्ने गरी कतै पनि मखमली पाइनन् । सङ्खुवासभामा प्राय हरेक वर्ष फुलको अभाव हुने गरेको छ । अघिल्लो वर्ष धनकुटाबाट फुल ल्याएर खाँदबारी बजारमा बिक्री गरिएको थियो ।

यस वर्ष त्यहाँबाट समेत फुल आयात गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्