Logo
Logo

कांग्रेसविरुद्ध ५ कांग्रेसी- आफू नजिते आफ्नैलाई हराउने


5.2k
Shares

काठमाडौं । मंसिर ४ मा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन हुँदै छ । नेपाली कांग्रेस सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै निर्वाचनमा होमिएको छ ।

आगामी निर्वाचनबाट देशकै ठूलो राजनीतिक दलको रुपमा स्थापित हुने लक्ष्यसहित निर्वाचनमा होमिएको कांग्रेस नेतृत्वलाई आफ्नै नेता कार्यकर्ताले हैरान बनाएको छ ।

विपक्षीसँग प्रतिस्पर्धा गर्न निर्वाचनमा होमिएका कांग्रेस उम्मेदवारलाई आफ्नै सहकर्मीसँग पनि प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक परिस्थिति बनेको छ ।

नेपाली कांग्रेसका ४ नेताले आफ्नै पार्टीका सहकर्मीलाई प्रतिस्पर्धीको रुपमा सामना गर्नुपर्ने भएको छ । आफ्नै पार्टीका उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका पाँच कांग्रेसीका कारण कांग्रेसका चार आधिकारिक उम्मेदवारका लागि जित निक्कै सकस हुने देखिन्छ ।

सत्तारुढ गठबन्धनबीच सिट बाँडफाँट हुँदा कञ्चनपुर–३ कांग्रेसको भागमा गरेको छ । त्यहाँ कांग्रेसले प्रभावशाली नेता रमेश लेखकलाई उम्मेदवार बनाएको छ । तर, रमेशविरुद्ध कांग्रेसकै दीपकबहादुर सिंह र शारदा चन्दले बागी उम्मेदवारी दिएका छन् ।

आफ्नै पार्टीका दुई नेता बागी उम्मेदवारका रुपमा चुनावी मैदान उत्रेपछि गठबन्धन आवद्ध अन्य दलको सहयोग रहेतापनि रमेशलाई निक्कै संकट पर्ने देखिन्छ ।

त्यसैगरी, सिन्धुपालचोक–२ पनि कांग्रेसकै भागमा परेको थियो । जहाँ प्रभावशाली नेता मोहनबहादुर बस्नेत कांग्रेसका आधिकारिक उम्मेदवार हुन् । तर, मोहनलाई पनि आफ्नै पार्टीका नेता बाधक बनेका छन् । कांग्रेसका बद्री चौलागाइँले रमेशविरुद्ध बागी उम्मेदवारी दिएका छन् । 

कांग्रेसका अर्का नेता रामनाथ अधिकारी धादिङ–२ मा कांग्रेसका आधिकारिक उम्मेदवार हुन् । रामनाथलाई पनि आफ्नै सहकर्मी भारी पर्ने भएको छ । रामनाथविरुद्ध कांग्रेसकै टीकाराम काप्रीले बागी उम्मेदवारी दिएका छन् ।

कांग्रेस नेता नागेन्द्रकुमार रायलाई पनि उस्तै संकट आइलागेको छ । नागेन्द्र सर्लाही–४ मा कांग्रेसका आधिकारिक उम्मेदवार हुन । तर, नागेन्द्रविरुद्ध कांग्रेसकै प्रभावशाली नेता अमरेशकुमार सिंहले बागी उम्मेदवारी दिएका छन् ।

धेरै पटक सांसद भइसकेका अमरेशको बागीपछि नागेन्द्रलाई संकट आइलागेको छ । विगतमा आफूले निर्वाचन जित्दै आएको सर्लाही–४ मा बागी उम्मेदवारी दिएका अमरेश जसरी पनि निर्वाचन जित्ने गरी अभियानमा होमिएका छन् ।

कांग्रेसले बागी उम्मेदवारलाई समय तोकेरै उम्मेदवारी फिर्ता लिन वा आफ्नो उम्मेदवारी निष्कृय भएको सार्वजनिक जानकारी गराउन निर्देशन दिएको थियो । कांग्रेसले तोकेको मितिमा केहीले उम्मेदवारी फिर्ता लिए पनि प्रतिनिधिसभा निर्वाचनका यी पाँच बागीले भने उम्मेदवारी यथावत राखेका छन् ।

उम्मेदवारी फिर्ता नलिने र आफ्नो उम्मेदवारी निष्कृय भएको जानकारी नगराएका नेता कार्यकर्तालाई कांग्रेसले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिसकेको छ । तर, आफ्नै पार्टीका नेता कार्यकर्ता बागीका रुपमा चुनावी मैदानमा रहँदा भोट बाँडिनै र कांग्रेसकै उम्मेदवार पराजित हुने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्