Logo
Logo

टी-२० विश्वकप : भारतको दोस्रो जित, नेदरल्याण्ड्स पराजित


756
Shares

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा नेदरल्याण्ड्सलाई ५६ रनले पराजित गर्दै भारतले दोस्रो जित निकालेको हो ।

जितका लागि १८० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले २० ओभरमा ९ विकेट गुमाउँदै १२३ रन मात्र जोड्यो । नेदरल्यान्ड्सका टिम प्रिन्गलले १५ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २० रन बनाए ।

ओपनर विक्रमजित सिंह एक, म्याक्स ओडाउड र बास डि लिडेले १६–१६ रन बनाउँदै आउट भए । म्याक्स ओडाउडले १० बलमा ३ चौका हाने । कोलिन एकरम्यान २१ बलमा १ चौकासहित १७, कप्तान स्कर्ट एडवाड्र्स ५, टम कपुर ९ र लोगन भान विकले ३ रन जोडे । तल्लोक्रमका शरिज अहमदले १० बलमा २ चौकासहित १५ रनमा अविजित रहे । पउल भान मार्केनले ६ बलमा ३ चौकासहित १४ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । अक्षर पटेलले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिए । भुवनेश्वर कुमारले ३ ओभरमा २ मेडनसहित ९ रन खर्चेर २ विकेट लिए । मोहम्मद शामीले एक विकेट लिए ।

त्यसअघि सिड्नी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो । भारतका लागि विराट कोहलीले ४४ बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ६२ रनमा अविजित रहे ।

कोहलीले जारी विश्वकपमा लगातार दोस्रो अर्धशतक हो । कोहलीले पाकिस्तानविरुद्ध ८२ रनको इनिङ खेल्दै ४ विकेटको जित दिलाएका थिए । कप्तान रोहित शर्मा ३९ बलमा ४ चौका र ३ छक्कासहित ५३ रनमा आउट भए ।

तीव्र गतिका बलर पाउल भान माक्रेनले ओपनर लोकेश राहुललाई ९ रनमा एलबीडब्लू आउट गरे । राहुलले १२ बलमा एक चौका हाने । दोस्रो विकेटका लागि कोहली र रोहितले ७३ रनको साझेदारी गरेका थिए ।

रोहित फर्द क्लासेनको बलमा डिप मिडविकेटमा क्याच आउट हुन पुगे । रोहितले पाँचौं ओभरको अन्तिम बलमा ब्यक्तिगत १३ रनमा जीवनदान पाएका थिए । फर्द क्लासेनको बलमा प्रिन्गलले क्याच ड्रप गरेका थिए ।

नेदरल्याण्ड्सका फ्रेड कलास्सेन र पउल भान मिकेरेनले १–१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्