संयुक्त राष्ट्र सङ्घले विश्वको तापमान वृद्धि नियन्त्रणबाहिर जान लागेको प्रतिवेदन सार्वजनिक गरेको छ ।
विश्व तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित गर्ने प्रयासका लागि विश्वसनीय मार्गचित्र नदेखिएको प्रतिवेदनले जनाएको छ । तापमान वृद्धि १ दशमलव ५ डिग्री सेल्सियसभन्दा माथि पुगेको अवस्थामा विश्वभरिका मानिसमा नकारात्मक प्रभाव पर्ने बताइएकाे छ ।
राष्ट्र सङ्घको प्रतिवेदनले गएको वर्ष स्कटल्यान्डकाे ग्लास्कोमा भएको जलवायु सम्मेलन कोप–२६ यता कार्बन उत्सर्जन कटौती गर्ने विभिन्न देशका सरकारहरूको योजना दुःखद रूपमा अपर्याप्त रहेको जनाएको बीबीसीले उल्लेख गरेको छ । समाजको तत्काल रूपान्तरणले मात्रै अबको विपदबाट जोगाउन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
जलवायु सम्मेलन कोप–२७ आउँदो हप्ता इजिप्टमा सुरु हुँदैछ । विश्वले जलवायु परिवर्तनमा पुनः ध्यान केन्द्रित नगरे विपत्तिको सामना गर्नुपर्ने राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले चेतावनी दिए ।
राष्ट्र सङ्घले कार्बन उत्सर्जनमा कटौती गर्ने लक्ष्य हासिल गर्न कठिन रहेको स्वीकार गर्दै जीवाश्म इन्धनको प्रयोग घटाउनुपर्नेमा जोड दिएको छ।