Logo
Logo

सेनाका पूर्व जर्नेलको घरमा ‘जुवा अड्डा’, ८ लाखसहित ६ जना पक्राउ


36.9k
Shares

पूर्व जर्नेल होमकुमार र साङ्केतिक तस्बिर

काठमाडौं । जुवा खेलेको आरोपमा ललितपुरको धापाखेलबाट करिव ८ लाख रुपैयाँ नगदसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२३ धापाखेलस्थित नेपाली सेनाका पूर्वजर्नेल होमकुमार लावती (होमित)को घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई शुक्रबार राती ९ः३० बजे पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–७ पिलाछे बस्ने ४८ वर्षीय नरेन्द्र महर्जन, कुसुन्ती घर भएका ४६ वर्षीय राम केसी, नखिपोट बस्ने ४० वर्षीय अष्टमान स्याङ्तान, कुसुन्तीकै ४२ वर्षीय जितेन्द्र गजुरेल, गोदावरी–१२ ठेचु बस्ने ६४ वर्षीय पूर्ण माली र काठमाडौंको माछापोखरी बस्ने ४१ वर्षीय वीरबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुर र प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले उनीहरूलाई नगद ७ लाख ९९ हजार ३ सय २० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता सुधीरराज शाहीले जानकारी दिएका छन् ।

प्रहरीले पक्राउ परेका जुवाडेहरुबाट रातो रङको क्वाइन २३ थान, कालो रङको क्वाइन २२ थान, सेतो क्वाइन १८ थान, तास र ३ वटा गाडी पनि बरामत गरिएको छ ।

नेपाली सेनाको प्राड (कानुन विभाग) प्रमुखसमेत भएर काम गरेका लावतीले लामो समयदेखि आफ्नै घरमा जुवाँ खेलाउँदै आएका स्रोतको दाबी छ । स्रोतका अनुसार लावतीले प्रहरीसँगको मिलेमतोमै जुवा खेलाउँदै आएका हुन् । तर, पछिल्लो समय भने ललितपुर प्रहरीमा नयाँ नेतृत्व पुगेसँगै लावती र प्रहरीको सेटिङ भत्केको छ ।

विगतमा पनि प्रहरीले लावतीकै घरबाट जुवाडे पक्राउ गरेको थियो । तर, अहिलेसम्म लावती भने पक्राउ परेका छैनन् । प्रहरीसँगको मिलेमताकै कारण उनी पक्राउ हुनबाट जोगिने गरेको लावतीको जुवा अड्डामा नियमित जुवा खेल्नेहरु आरोप लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्