काठमाडौं । हाल प्रतिनिधिसभाका २७५, राष्ट्रियसभाका ५९ र प्रदेशसभाका ५५० गरी तीन वटा सदनमा ८८४ जना सांसद छन् ।
जनताले बुझाएको करबाट ठूलो संख्याका सांसद्ले सेवा सुविधा तथा पारिश्रमीक लिइरहेको भन्दै आलोचना हुने गरेको छ । त्यसैले सांसद संख्या घटाउनुपर्ने आवाज उठ्ने गरेको छ ।
जनस्तरबाटै सांसद संख्या कटौती गर्नुपर्ने माग उठिरहेको बेला प्रमुख दल मध्येका एक नेकपा माओवादी केन्द्रले ठूलो संख्यामा सांसद संख्या कटौती गर्ने प्रस्ताव अघि सारेको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रतिवद्धतापत्र सार्वजनिक गर्दै माओवादीले तीन वटै सदनबाट ठूलो संख्यामा सांसद कटौती गर्ने प्रस्ताव अघि सारेको हो । तीनै सदनबाट ३३४ सांसद संख्या कटाएर तीनै सदनको कुल सांसद संख्या ५५० संख्या कायम गर्न माओवादीले प्रस्ताव गरेको हो ।
प्रतिनिधिसभाको हालको संख्या २७५ रहेको छ । जसमा १६५ जना प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना निर्वाचित हुने व्यवस्था छ ।
माओवादीले हाल २७५ सदस्यीय प्रतिनिधिसभाको संख्या १६५ सदस्यीय मात्र कायम गर्न प्रस्ताव गरेको हो । माओवादीको प्रस्तावअनुसार प्रतिनिधिसभा सदस्यको संख्या १६५ कायम हुँदा ११० सांसद संख्या कटौतीमा पर्नेछ ।
संघीय सदन अन्तरगत हाल ५९ सदस्यीय राष्ट्रियसभा छ । राष्ट्रियसभाको यो संख्या विभिन्न प्रदेशबाट निर्वाचित हुने ५६ र राराष्ट्रपतिबाट मनोनित हुने ३ बाट कायम हुने गरेको छ ।
माओवादीले यो संख्या कटौती गरेर ५५ कायम गर्नुपर्ने प्रस्ताव गरेको छ । माओवादीको प्रस्तावअनुसार राष्ट्रियसभामा पनि ४ सांसद संख्या कटौती हुनेछ ।
माओवादीले प्रतिवद्धता पत्रमा भनेको छ– ‘१६५ सिटको प्रतिनिधिसभा र ५५ सिटको राष्ट्रियसभा भएको संघीय संसद र समग्रमा ३३० सिटको प्रदेशसभा हुनेछ ।’
हाल सात वटा प्रदेशमा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० गरी प्रदेससभा सदस्यको संख्या ५५० रहेको छ । तर, माओवादीले प्रदेससभाको संख्यामा पनि भारी कटौतीको प्रस्ताव गरेको छ ।
माओवादीले प्रदेशसभा सदस्यको संख्या ३३० को मात्र हुनुपर्ने प्रस्ताव गरेको छ । माओवादीको प्रस्तावअनुसार प्रदेशसभामा ३३० मात्र कायम राख्दा २२० सांसद संख्या कटौती हुनेछ ।