नेपाल चुनावी महाभारतमा छ । एकातिर, कौरव खलकमा दूर्योधन अवतारका केपी शर्मा ओली छन् । अर्कोतिर, पाण्डव नै त नभनाैं, तर लगभग त्यस्तै अवस्थामा पुर्याइएका सत्तारूढ घटकका नेतागण छन् ।
दुवै पक्ष गठबन्धन बनाएर चुनावी महाभारतमा होमिएका छन् । अन्ततः चुनावमा केही छिटपुट अपवादलाई छोडेर यिनै दुई पक्षबीच प्रतिस्पर्धा हुने निश्चित छ ।
हुन त दुईपक्षीय हुँदै गएको चुनावलाई बहुपक्षीय बनाउन अनेक दल र स्वतन्त्र भनिने अनेक रङ्गका उम्मेवदार पनि चुनावी मैदानमा छन् । कतिपय स्थानमा दलबाट उम्मेदवारी नपाएर बागी बनेकाहरू पनि प्रतिस्पर्धामा छन् ।
खासगरी स्थानीय निर्वाचनमा बालेन शाह, हर्क साम्पाङलगायतका स्वतन्त्रले जितेको देखेर उठेका उनीहरूले स्थानीय निर्वाचन र राष्ट्रिय निर्वाचनका डाइनामिक्सहरू फरक हुन्छन् भन्ने बुझेका छैनन् । बुझेका भए पनि बुझ पचाएर सामाजिक सञ्जालमा यो वा त्यो नामका खेतालामार्फत् जनतामा भ्रम छरिरहेका छन् ।
तर, वास्तविक मतदाताले ‘बोकाबाट दाइँ हुँदैन’ भन्ने राम्ररी बुझेका छन् । मंसिर ४ को नतिजाले सबैलाई ऐना देखाउने नै छ ।
यही बीचमा सामाजिक सञ्जालमा यो वा त्यो नाममा पुराना नेतालाई हराएर नयाँ र यसअघि धुलिसात भएका प्रतिगामीलाई जिताउन सकिन्छ कि भन्ने खालका तथाकथित अभियान पनि चलेका छन् । निहीत स्वार्थ नराखेर पहिलो तहका नेताविरूद्ध केन्द्रित भएर चलाइएको भए यो अभियानले रङ्ग ल्याउन पनि सक्थ्यो होला तर यसअघि जितेका सबैविरूद्ध नियोजित किसिमले नै घृणा अभियान चलाइएपछि यसको पनि पटाक्षेप भएको छ ।
निर्वाचनपूर्वका यी सबै गतिविधि हेर्दा कसैले स्वीकार गरे पनि नगरे पनि, मुलुक अन्ततः चुनावपूर्वकै गठबन्धनमा गएको छ । केही अपवादलाई छोडेर यसपटकको निर्वाचन सत्तारूढ गठबन्धन भर्सेज प्रतिपक्षी गठबन्धन नै हुने देखिएको छ ।
यद्यपि, ओलीले सुरूदेखि नै बेइज्जत गरिदिएको गठबन्धन शव्दावली उनले र उनका अनुयायीहरूले अझैसम्म पनि प्रयोग गर्न रूचाइरहेका छैनन्, तालमेल भनेरै ब्राण्डिङ गरिरहेका छन् । तर, जे भने पनि आम मतदाताले उनको तालमेललाई पनि गठबन्धन नै बुझिरहेका छन् ।
मुलुकमा दुई ठूला गठबन्धन बने पनि अहिलेसम्म दुवैको पक्षमा कुनै चुनावी लहर देखिएको छैन । सतारूढ गठबन्धन ठूलो भएकाले बल्ल–बल्ल सिट व्यवस्थापन त भएको छ तर अझै पनि बागी उम्मेदवारीको विद्रोह शान्त पार्न सकिएको छैन ।
अन्तरपार्टी प्रजातन्त्रको उम्दा अभ्यासको अभावमा मूल नेतृत्वको आसेपासे र गुट–उपगुट नजिक रहेकाले नै उम्मेदवारी पाएका छन् । उम्मेदवारीको कुनै वस्तुनिष्ठ आधार छैन । अर्कोतिर पद नभए केही नहुने खालको परिस्थिति बन्दा कोही त्याग गर्ने मुडमा छैनन् ।
उता, प्रतिरोधी गठबन्धन बनाउन बाध्य भएको एमालेभित्र पनि बागीको समस्या छ । पार्टीभित्र ओलीलाई ‘बा’ नभन्नेहरू बहिस्करणमा परेका छन् । वर्षैंदेखि पार्टीमा योगदान गरेकाले टिकट पाएका छैनन् भने उम्मेदवारी दिने दिनको अघिल्लो रात पार्टी प्रवेश गराइएका ल्याइतेहरूले टिकट पाएका छन् ।
यो बेथितिले एमालेभित्र भुसको आगो सल्किएको छ तर त्यसलाई दनदनी बाल्ने अवस्था छैन । एमाले भनेकै ‘बा’ माले भएकाले त्यहाँ देखिने गरी विद्रोह हुने स्थिति छैन । तर, गोप्य मतदानमा त्यो प्रकट हुने भयबाट ओली र छोटे ओलीहरू मुक्त हुनसकेका छैनन् ।
ओलीले तालमेलका नाममा आफ्नो जीतलाई मात्र अर्जुनदृष्टि बनाएर राजावादीहरूलाई सुनपानी छर्केका छन् । ओलीको निर्वाचन क्षेत्र झापा–५ मा राप्रपाको लगभग आठ हजार मत छ । त्यो मत मुलतः दमक नगरपालिकाका मेयर राम थापाको प्रभावमा छ । त्यही मतको अंकगणितमा गत स्थानीय निर्वाचनमा ओलीविरोधी गठबन्धनको उम्मेदवार भएर थापाले दमक नगरपालिकाको मेयर जितेका थिए ।
उनले आमनिर्वाचनमा प्रतिनिधिसभाका लागि कांग्रेस र प्रदेशसभाका लागि माओवादी र एकीकृत समाजवादीका उम्मेदवारलाई सघाउने बाचाकसम खाएका थिए । तर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले थापालाई अप्ठ्यारोमा पार्दै झापा–५ मा ओलीलाई सघाउने र झापा–३ मा एमालेले आफूलाई सघाउने गरी तालमेल गरिदिए । यो तालमेलमा लिङ्देनको भन्दा पनि ओलीको जोडबल बढी थियो ।
यति मात्र होइन, ओलीले राम थापालाई आफ्नो पक्षमै ल्याउनका लागि अर्को तहको सुरक्षाकवच प्रयोग गरे । त्यो के भने कमल थापा राप्रपामा हुँदा राम थापा उनी नजिक थिए । उनको यही प्रोक्सिमिटीलाई ध्यानमा राखेर ओलीले राप्रपा नेपालका कमल थापालाई मकवानपुर क्षेत्र नं. १ बाट एमाले उम्मेदवार बनाए ।
यसबाट अर्को गजबको परिस्थिति सिर्जना भयो त्यो के भने आफूचाहिँ एमाले उम्मेदवार भएकाले कमल थापाले राप्रपा नेपालको अध्यक्षका हैसियतले तीर छाप उम्मेदवारहरू उठाए । आफू एमाले उम्मेदवार अनि अरूलाई चाहिँ आफैले सहीछाप गरेर राप्रपा नेपालका उम्मेदवार बन्ने परिस्थिति यो आफैँमा एक किसिमको राजनीतिक गाईजात्रा हो । यसको सूत्रधार पनि ओली नै हुन् ।
ओलीले यतिमात्र गरेका छैनन्, नेपाल परिवार दलका एकनाथ ढकाललाई सबैभन्दा माथिल्लो क्रममा एमालेको समानुपातिक उम्मेदवार बनाइदिएका छन् । तर, गजबको कुरा तिनै ढकालले सही गरेर नेपाल परिवार दलबाट उम्मेदवार उठाएका छन् ।
ओलीको यही भष्मासुर प्रवृत्तिका कारण एमाले भ्रष्टीकरण हुने भयो र कलंकको टीका लगाउने सम्भावना बढ्यो । अहिलेको परिदृश्य हेर्दा ओलीकै कारण राजावादी राप्रपा राष्ट्रिय पार्टी हुने सम्भावना बढ्दो छ ।
ओलीको एमालेले राप्रपाका तीन ठूला नेता राजेन्द्र लिङ्देन, दीपक बोहोरा र धवलशम्शेर राणाको उम्मेदवारीलाई समर्थन गर्दै तालमेल गरेको छ । यी तीनमध्ये कुनै एकले जिते अनि देशभर सबैभन्दा बढी स्थानमा उम्मेदवार उठाएको राप्रपाको पक्षमा तीन प्रतिशत मत जम्मा भयो भने राजावादी राप्रपा गणतन्त्र नेपालको इतिहासमै पहिलोपटक राष्ट्रिय पार्टी बन्छ ।
यसको कालो श्रेय ओलीलाई जान्छ । र, गणतन्त्र नेपालको इतिहासमा एक अभिसप्त पात्रका रूपमा उनी र उनको पार्टी एमाले दर्ज हुनेछन् ।
ओलीको उपद्रो यतिमा मात्र सीमित छैन । उनले अहिले मुलुकलाई राजावादी–हिन्दूवादी भर्सेज गणतन्त्रवादी–धर्म निरपेक्षतावादी गरी दुई कित्तामा पनि जबर्जस्ती धकेलिदिएका छन् । अहिले उनी राप्रपा र राप्रपा नेपालसहितका राजावादी गठबन्धनको नेता भएका छन्, हिन्दूवादी तालमेलका प्रक्षेपित प्रधानमन्त्रीका उम्मेदवार भएका छन् । यो भनेको आफूलाई कम्युनिष्ट भन्ने एमालेका कलंकको टीका त हो नै, देशलाई पश्चगमनतिर लैजाने प्रपञ्च पनि हो ।
अनेक तिकडम गरे पनि ओली पतनको डिलमा उभिएका छन् । उनी आफैँ पनि सम्भावित हारको नजिक छन् । झापा–५ मा उनको जीत सुनिश्चित छैन । उनका छोटे ओलीहरूको अत्याचारको पिण्ड नफुट्ला भन्न सकिन्न ।
उनको क्षेत्रमा जसरी पञ्चायती शासनमा बाहिर ‘श्री ५ महाराजाधिराजको जय जय जय, श्री ५ बडामहारानीको जय जय जय’ लेखेर भित्र जे गरे पनि हुन्थ्यो, उनको निर्वाचन क्षेत्रमा ओलीलाई ‘बा’ भनेपछि जे गरे पनि हुने स्थिति छ । यो स्थितिबाट मुक्त हुन पनि यसपटक यहाँका सचेत मतदाताले विदोह गर्ने मुड बनाएजस्तो देखिन्छ ।
दोस्रो, ओलीले नेकपालाई फुटाएर दुई पार्टी पद्धतिमा जान लगभग तयार भएको देशलाई फेरि पछाडि धकेलिदिए, त्यस क्रममा पटक–पटक संसद् विघटन गर्ने दुस्प्रयास गरे । उनले गरेको यो जघन्य राष्ट्रिय अपराधका लागि उनी दण्डित हुनुपर्छ । र, त्यसको अभिभारा झापा–५ का सचेत मतदाताको काँधमा आइपुगेको छ ।
उनीहरूले त्यो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्छन् कि गर्दैनन् भनेर मुलुकभरका नेपालीको ध्यान त्यतैतिर तानिएको छ । यसैले पनि झापा–५ का मतदाता उनलाई हराउन तयार भएका छैनन् भन्न सकिन्न ।
ओलीले देशका बाँकी १६४ निर्वाचन क्षेत्रमा यो वा त्यो नामका छोटे ओली उम्मेदवार बनाएका छन् । उनीहरू कुनै न कुनै रूपमा ओलीको कुकृत्यका मतियार नै हुन् । र, उनीहरूलाई दण्डित गर्न हरेक निर्वाचन क्षेत्रका मतदाता तयार भइसकेका छन् ।
यसका लागि सत्तारूढ गठबन्धनले देशको आवश्यकता र जनताको भावनालाई बुझेर सबैभन्दा पहिला आ–आफ्ना बागीहरूको सही व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यसपछि सानो–ठूलो जुनसुकै पार्टीका भए पनि गठबन्धनका उम्मेदवार भइसकेपछि उनीहरूलाई जिताउनु सबै पार्टीको कर्तव्य हो भनेर लाग्नुपर्छ ।
यसका लागि आफ्नो पार्टीको जीतभन्दा पनि राजावादी–हिन्दूवादी ओली गठबन्धनको हारको मनोविज्ञानले अभिप्रेरित हुनुपर्छ । यसपटकको आमचुनावको प्राथमिक कार्यभार नै यही हो ।
यसको अर्थ यो होइन कि, सत्तारूढ गठबन्धन सोह्रैआना ठीक छ । यसका उम्मेदवारहरू सुनपानी छर्किएका छन् । तर, त्यो नभए पनि के चाहिँ सत्य हो भने यसपटकको प्राथमिक दायित्व ओली प्रवृत्तिलाई परास्त गर्नु नै हो र त्यसका लागि सत्तारूढ गठबन्धनको विकल्प छैन । अर्कोपटक जनताको अपेक्षामा खह्रो उत्रेन भने उनीहरूको विकल्प खोज्नु जनताको नैसर्गिक अधिकार हो ।
अझै पनि मुलुक त्यसका लागि पूरै तयार भइसकेजस्तो देखिएको छैन । यसमा केही स्वतन्त्र, केही बागी र केही नयाँ पार्टीहरूले अन्ततः दुई दलीय पद्धतिमै जानुपर्ने देशको राजनीतिक मूलबाटोमा केही अवरोधहरू ल्याएकै छन् । तर, मतदानको दिनसम्ममा त्यस्ता अवरोधहरू छिचोल्दै मतदाताहरू यो वा त्यो नामका बोकाबाट दाइँ हुन्न भन्ने निस्कर्षमा पुग्नेछन् ।
कसैले स्वीकार गरोस् या नगरोस्, यसपटक चुनावको केन्द्रविन्दुमा एमाले अध्यक्ष केपी ओली नै छन् । उनले मुलुकालाई ओली–फोबिया भर्सेज ओली–मेनियामा ठाडो चिरा पारिदिएका छन् ।
दृश्य हेर्दा लाग्छ, सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा अमेरिका जसरी ट्रम्पफोबोया भर्सेज ट्रम्पमेनियामा विभाजित थियो, लगभग त्यस्तै दृश्यमा विभाजित छ यतिबेला नेपाल । अमेरिका र नेपालको राजनीति धेरै आधारमा तुलना नहोला तर मैमत्तावादी चरित्रका हिसाबले ट्रम्प र ओलीमा तात्विक भिन्नता छैन । चुनावलाई आफू वरिपरि घुमाउने क्षमताका कारण दुवै मुलुकको चुनावी परिदृश्यचाहिँ उस्तै–उस्तै भएकै छ ।
आशा गरौँ, जसरी अमेरिकामा ट्रम्पप्रवृत्ति धुलिसात भएको थियो, ठीक त्यसरी नै नेपालमा पनि यसपटकको चुनावमा ओलीप्रवृत्ति दण्डित हुनेछ । त्यसो भयो भने मुलुक पश्चगमनतिर होइन, अग्रगमनतिर जानेछ । देशलाई अग्रगमनको दिशामा लैजान पनि ओलीप्रवृत्ति धुलिसात् हुन जरूरी छ ।