काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन लक्षित नेकपा एमालेले मंगलबार आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दै सहरी विकास तथा एकीकृत वस्ती र सुरक्षित आवासका सन्दर्भमा आफ्नो नीति सार्वजनिक गरेको छ ।
एमालेले चुनावी घोषणापत्रमा सबै नेपाली नागरिकलाई सुरक्षित स्थानमा आवासको ग्यारेन्टी गरिने जनाएको छ । एमालेले कुनै पनि नेपाली नागरिक आवासविहीन वा सडक मानवका अवस्थामा रहन नपर्ने ग्यारेन्टी गरेको छ ।
एमालेले जनता आवास तथा सुरक्षित आवासका माध्यमबाट आवासको अधिकारलाई सुनिश्चित गरिने भन्दै जोखिम युक्त र विकासमा बाधक तथा सेवा प्रवाहका दृष्टिले अपायक र कठिन स्थानमा छरिएर रहेका घर तथा बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सुविधा सम्पन्न एकीकृत बस्तीहरूको विकास गरिने प्रतिबद्धता जनाएको छ ।