Logo
Logo

कैलाली-४ : लेखराजलाई गठवन्धन भारी, वीर ढुक्क !


13k
Shares

सुदूरपश्चिम । स्थानीय तहको निर्वाचनमा पाएको मतका आधारमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं ४ बाट नेपाली कांग्रेसक नेता वीरबहादुर बलायर आफू जित्नेमा ढुक्क देखिएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट प्रत्याशी कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका सभापति एवं पूर्वमन्त्री बलायर गएको स्थानीय तह निर्वाचनमा कांग्रेसका वडाध्यक्षका प्रत्याशीले पाएको मतले विजयी हुनेमा ढुक्क देखिएका हुन् ।

बलायरले पार्टी संगठनको मतसँगै सत्ता गठबन्धनको मतले आफूलाई विजयी हुन सजिलो रहेको दाबी गरे । उनलाई नेकपा एमालेका सुदूरपश्चिम प्रदेश इन्चार्ज एवं केन्द्रीय सचिव लेखराज भट्टले टक्कर दिएका छन् । उनले यस क्षेत्रबाट आफूले तेस्रो पटक चुनाव जित्ने दाबी गर्छन् ।

भट्ट यसअघि विसं २०६४ मा संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका थिए । कांग्रेस नेता बलायर विसं २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा डोटी जिल्लाबाट तत्कालीन वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका प्रत्याशी प्रेम आलेमगरसँग झन्डै एक हजार छसय मतान्तरले पराजित भएका थिए ।

यसपालिको निर्वाचनमा पनि डोटीबाट आकांक्षी बलायरलाई कैलाली–४ बाट टिकट दिइएपछि यो क्षेत्रबाट आकांक्षी कांग्रेसका कतिपय नेता असन्तुष्ट छन् । तर बलायर कोही नेता कार्यकर्ता असन्तुष्ट नरहेको दाबी गर्छन् ।

कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं प्रभावशाली नेता सुनिलकुमार भण्डारी, डा लक्ष्मीराज पाठक, टेकराज जोशी, प्रकाशबहादुर बम लगायतका नेता यो क्षेत्रबाट टिकटका आकांक्षी रहेका थिए । बलायरलाई कैलाली–४ बाट टिकट दिइएपछि यसको असन्तुष्टिको फाइदा लिने दाउमा एमालेका प्रत्याशी भट्ट भए पनि त्यो गठबन्धनका कार्यकर्ता आफ्नै उमेदरवारका पक्षमा रहेका देखिएको छ ।

सुदूरपश्चिम प्रदेशमा विगतमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट रहेर प्रदेशको इन्चार्जसमेत जिम्मेवारी निर्वाह गरेका भट्ट डेढ वर्षअघि माओवादी त्यागेर एमालेमा प्रवेश गरेका थिए । यो क्षेत्रमा दुई ‘हेभिवेट’ नेताबीचको प्रतिस्पर्धालाई उत्सुकताका साथ हेरिएको छ ।

यसै क्षेत्रबाट २०७४ को निर्वाचनमा प्रत्याशी रहेका नेपाली कांग्रेसका नेता सुनिलकुमार भण्डारीलाई तत्कालीन वाम गठबन्धनका प्रत्याशी नेकपा (माओवादी केन्द्र)का नेता लेखराज भट्टले झन्डै नौ हजार मतान्तरले पराजित गरेका थिए ।

प्रत्याशीहरुले गर्ने चुनावी भेला तथा बैठकमा गेटा मेडिकल कलेज सञ्चालनका साथै प्रदेश राजधानीका संरचना स्थापना, बाटोघाटो, खानेपानी, तटबन्धन लगायतका मुद्दालाई प्राथमिकतामा राख्ने गरेका छन् । यसै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अघि सारेका कइँया चौधरी पनि छन् ।

तत्कालीन राष्ट्रिय पञ्चायत सदस्यको जिम्मेवारीमा पुगेका चौधरीलाई सो क्षेत्रका मतदाताको दरिलो साथ रहने अनुमान गरिएको छ । उनले भने, ‘जहाँ चुनौती छन् त्यहाँ अवसर पनि हुन्छ भन्ने मान्यतालाई आत्मसात् गरेर आफू यो क्षेत्रको प्रत्याशी बनेको हुँ ।’ आफू विजयी भएर गएमा टीकापुर घटनाका बन्दीको रिहाइको पहल गर्न र समाजिक सद्भाव कायम गर्न पहल गर्ने उनले बताए ।

सबै दलभित्रका असन्तुष्ट कार्यकर्ता र शुभेच्छुकको मत तान्ने रणनीतिमा चौधरी छन् । कतिपय मतदाता चौधरीले पाउने मतले चुनावी नतिजा प्रभावित हुनसक्ने बताइएका छन् । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि बलायर, भट्ट र चौधरीबाहेक राष्ट्रिय स्वतन्त्र पार्टीका गोविन्दप्रसाद भट्ट, मौलिक जरोकिलो पार्टीका चेतराज साउद, राप्रपाका जयबहादुर साउद, नेपाल सङ्घीय समाजवादीका भीमबहादुर थापामगर, जनता प्रगतिशील पार्टीका मोहनदेव मिश्र, नेमकिपाका सीताराम पण्डित र स्वतन्त्र मेघराज जोशीसमेत प्रतिस्पर्धी छन् ।

कैलालीको गोदावरी नगरपालिका, गौरीगङ्गा नगरपालिका, चुरेगाउँपालिका र मोहन्याल गाउँपालिकाको एउटा वडा समेटिएको यो क्षेत्रमा एक लाख १० हजार चार सय ५३ मतदाता छन् । यहाँ ६४ मतदानस्थल र ७० मतदान केन्द्र रहेका छन् ।

गएको स्थानीय तहको निर्वाचनमा कांग्रेससका वडाध्यक्षले २३ हजार नौ, नेकपा माओवादी केन्द्रका वडाध्यक्षले नौ हजार तीन सय ४२, नेकपा एकीकृत समाजवादीका वडा अध्यक्षले तीन हजार सात सय चार मत पाएका थिए । नेकपा एमालेका वडाध्यक्षले २० हजार ८० मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्