काठमाडौं । महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका इन्सपेक्टर अपूर्व ढुंगाना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत धादिङले उनलाई मंगलबार थुनामा पठाउने आदेश दिएको हो ।
इलाका प्रहरी कार्यालय, खानीखोलामा कार्यालय प्रमुखका रुपमा कार्यरत रहेका बेला उनले आफ्नै कार्यालयमा कार्यरत एक महिला प्रहरीमाथि बलात्कार प्रयास गरेका थिए । पीडित महिला प्रहरीको उजुरीका आधारमा गत १५ असोजमा जिल्ला प्रहरी कार्यालय, धादिङले उनलाई नियन्त्रणमा लिएको थियो । मध्यराती महिला ब्यारेकमा गएर उनले बलात्कार प्रयास गरेको पीडितको उजुरी छ ।
उनीविरुद्ध जबरजस्तीकरणी उद्योग मुद्दा दायर भएकोमा जिल्ला न्यायाधीश स्वीकृति पराजुलीको इजलाशले उनलाई थुनामा पठाउने आदेश दिएको हो । अदालतको आदेशअनुसार उनलाई कारागार पठाइएको जिप्रका धादिङका डिएसपी श्याम खत्रीले बताए ।