Logo
Logo

सपना देख्ने प्रचण्ड, टाउको दुखाउने केपी


14.1k
Shares

मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनले राजनीतिक दलको असली आकार देखाउने छ ।

निर्वाचनबाट निर्धारण हुने आकारबाटै राजनीतिक दलहरूको आगामी यात्रा निर्धारण हुन्छ । त्यसैले ‘कुन दलले कति सिट जित्ला’ भन्ने आम चासोको विषय बन्छ, बनेको छ ।

सबै राजनीतिक दल धेरै भन्दा धेरै सिट जितेर आगामी पाँच वर्ष सत्ताको बागडोर सम्हाल्ने लक्ष्य र चाहनाका साथ निर्वाचनमा होमिएका छन् । धेरै जित्ने चाहनामा गठबन्धनहरू बनेका छन् । नैतिक अनैतिक सबैखाले तालमेलहरू भएका छन् ।

सबै राजनीतिक दलले संसद्‌मा आफ्नो आगामी आकारबारे अनुमान लगाइसकेका छन् । निर्वाचन परिणाम त्यसकै पेरिफेरिमा आउँछ होला ! आधार कमजोर भएर पनि जितको ठूलै सपना देख्नेहरूको परिणाम बेग्लै कुरा हो । 

दलहरूको अनुमान आफ्नै ठाउँमा छ । तर, स्वतन्त्र रुपमा भएका र हुने अध्ययन तथा अनुमानअनुसार आगामी निर्वाचनबाट कांग्रेस पहिलो, एमाले दोस्रो र माओवादी तेस्रो हुनसक्छन् ! यो कुरा पनि जनताकै हातमा छोडौँ ।

प्रसङ्ग दलका नेताले ‘हामी यति सिट जित्छौँ, यो पोजिसनमा हुन्छौँ’ भन्न पाउने कि नपाउने ? भन्ने हो । कुनै नेताले आफ्नो आगामी अवस्थाबारे बोल्दा अपराध हुने हो ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको अनुमानमाथि गरेको टिप्पणीले यी प्रश्नहरू उब्जाएका छन् ।

केही दिन अगाडि कान्तिपुरले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गोरखामा झण्डै आधा घण्टा लामो अन्तरवार्ता गर्यो । 

अन्तरवार्ताकारले अन्तिम प्रश्न सोधे– 
यसपालि कति सिट जित्ने अनुमान गर्नु भएको छ ?

प्रचण्ड जवाफ दिन्छन्–
‘मैले अनुमान त गरेकै छु । तर, अहिले सार्वजनिक गर्न चाहन्नँ । तेस्रो र निर्णायक त हामी हुन्छौं नै त्यसमा कुनै शंकै छैन । दोस्रो र निर्णायक हुने मेरो चाहना छ ।’

०००

प्रचण्डले तेस्रो तर निर्णायक दल बन्ने भनिरहँदा न कांग्रेसको नाम लिए, न त एमालेलाई गाली गरे । आफ्नै अनुमान र चाहना मात्र व्यक्त गरेका थिए ।

प्रतिस्पर्धी नै भएपनि आफू जस्तै एक स्वतन्त्र राजनीतिक दलका अध्यक्षले आफ्नो आगामी अवस्थाबारे राखेको धारणामा प्रतिस्पर्धी दलका अध्यक्षले टिप्पणी गर्नु आवश्यक हुँदैन । तर, ओलीले तुच्छ भाषामा प्रचण्डको अनुमान र चाहनामाथि टिप्पणी गरे ।

काठमाडौंमा आयोजित पार्र्टीको कार्यक्रममा ओलीले बोले–
‘अस्ति तपाईंहरूले एकजना नेताले बोलेको सुन्नु भयो होला नि । हाम्रो पार्टी तेस्रो हुन्छ । तर, हामी एकदमै महत्वपूर्ण भूमिकामा हुनेछौं । त्यो भनेको हामी च्याँखे हुन्छौं भनेका हुन् । एता सरे यता, उता सरे उता । बिचमा उभिने अनि डाँक बढाबढ गर्ने । कल्ले बढी दिन्छ भनेर डाँक बढाबढ । यी ‘बिकाउ माल’हरू हुन् ।’ 

ओली र प्रचण्डको धारणा हेरौं–

प्रचण्डको अनुमान र धरातल
विगतमा प्रचण्ड ०६४ कै अवस्थामा पार्टीलाई फर्काउने अर्थात सबैभन्दा ठूलो पार्टी बन्ने सपना देख्थे । कार्यकर्तालाई सोही सपना बाड्थे । तर, प्रचण्ड यसपटक वास्ताविक धरातलबाट बोलेका छन् ।

दोस्रो पार्टी हुने प्रचण्डको सपना मात्र हो । त्यो सम्भव छैन । तर, प्रचण्डकै भाषामा भन्ने हो भने माओवादी तेस्रो तर निर्णायक शक्ति हुनेमा बाधा देखिन्न ।

सबै कोणबाट हेर्दा गठबन्धनकै भोट पाएपनि एमालेलाई उछिन्दै माओवादी दोस्रो पार्टी बनिहाल्ने देखिँदैन । किनकी, एमाले त्यति कमजोर पार्टी होइन । र, माओवादी वर्तमान तेस्रो स्थानबाट तल ओर्लने सम्भावना पनि देखिन्न । किनकी, चाँैथो, पाँचौ हैसियतमा रहेका दलहरू तेस्रो बन्ने अवस्थामा छैनन् ।

हाल चौँथौं स्थानमा रहेको नेकपा एकीकृत समाजवादी र पाँचौं स्थानमा रहेको जनता समाजवादी पार्टी (जसपा)को अवस्था हेर्दा निक्कै फड्को मारेर तेस्रो वा त्योभन्दा ठूलो पार्टी बन्लान् झैँ लाग्दैन ।

त्यसैले, प्रचण्डले तेस्रो हुने गरेको अनुमान वस्तुगत मान्न सकिन्छ । वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा दलहरूले पाएको मतलाई आधार मान्दा पनि प्रचण्डको अनुमान वस्तुगत मान्न सकिन्छ ।

प्रचण्डले ‘निर्णायक शक्ति बन्छौं’ भन्नुको अर्थ
हाम्रो निर्वाचन प्रणालीमा कुनै एक दलले दुईतिहाइ बहुमत पाउन सक्दैन । यस्तो अवस्थामा संसद् ‘हङ् पार्लिमेन्ट’ सिस्टममा चल्छ । अर्थात त्रिशंकु संसद् ।

हङ् पार्लिमेन्टमा सरकार गठन गर्ने र ढाल्ने क्रम चलिरहन्छ । यस्तो अवस्थामा तेस्रो दल शक्तिशाली र निर्णायक हुन्छ । गणतन्त्रपछि पनि हामीले बारम्बार यो अवस्था भोगिसकेको हो ।

संसदीय अभ्यासमा पहिलो र दोस्रो दल मिलेर सरकार बन्दैन । बनिहाले पनि त्यस्तो सरकारलाई गैरसंसदीय आचरणको सरकारको रूपमा लिइन्छ । किनकी, पहिलो र दोस्रो दल मिलेर सरकार बने संसद्‌मा प्रतिपक्षी अस्तित्वविहीन हुन्छ । त्यो संसदीय मूल्यमान्यताविपरीत हुन्छ । यस्तो अवस्थामा पहिलो वा दोस्रो दलले तेस्रो दलको साथ लिएर सरकार गठन गर्नुपर्ने हुन्छ ।

पहिलो वा दोस्रो दुबै दलले सरकार बनाउँदा तेस्रो दल चाहिने नै भएकाले तेस्रो दल निर्णायक दल बन्छ । प्रचण्डले यसैलाई आधार मानेर तेस्रो तर निर्णायक र शक्तिशाली दल बन्ने भनेका हुन् ।

​​​​​​​किन दुख्यो ओलीको टाउको ?
प्रचण्डले ‘हामी तेस्रो तर निर्णायक हुन्छौं’ भन्दा ओलीलाई टाउको दुख्नुका कारण अनेक छन् । त्यसमध्ये एक– बालुवाटारबाट बालकोटको बार्दली पुग्नुको पीडा हो ।

ओलीकै कारण नेकपा विभाजन भयो । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि ओलीविरुद्ध प्रचण्डकै नेतृत्वमा गठबन्धन बन्यो । प्रचण्डकै अग्रसरतामा ओली बालुवाटारबाट बालकोट पुगे । शेरबहादुर देउवा प्रधानमन्त्री भए ।

नेकपा विभाजनपछि दोस्रो र तेस्रो दल कांग्रेस र माओवादी तथा अन्य दल मिलेर सरकार बन्यो । ओली मात्रै बालुवाटारबाट बालकोट पुगेनन्, सातै प्रदेशबाट एमालेले हात धुनुपर्यो । त्यसैले ओलीलाई ‘तेस्रो शक्ति’सँग डर छ, घृणा छ । अझ माओवादी तेस्रो हुने कुरासँग औधि घृणा जाग्छ ।

तुच्छतामा रम्छन् ओली
एक दलका नेता अर्को दलको नीति तथा कार्यक्रममा असहमत हुन सक्छ । माओवादीको विरोध गर्ने अधिकार एमाले र एमालेको विरोध गर्ने अधिकार माओवादीसँग रहन्छ । एकले अर्कालाई विरोध गर्न सक्छन् । तर, कुन स्तर र हैसियतबाट विरोध वा आलोचना हुन्छ भन्ने महत्वपूर्ण हो ।

ओली एमालेका अध्यक्ष मात्र होइनन्, पूर्वप्रधानमन्त्री हुन् । बुधबार टिप्पणीका क्रममा ओलीले माओवादीलाई ‘बिकाउ माल’ भन्दै घृणित शब्द प्रयोग गरे । जुन एक पाका र जिम्मेवार राजनीतिज्ञबाट अपेक्षा गरिने शब्द होइन ।

त्यसो त केपी शर्मा ओलीबाट यस्तो बाहेक अरु शब्द जनताले आशा गर्दैनन् । उनी तुच्छतामा आनन्द लिने स्वभावका नेता हुन् । अरुप्रति घृणाभाव पैदा गराएर सन्तुष्ट मान्ने स्वभावका छन् । यस्ता सयौँ उदाहरण छन्, ओली तुच्छ बाहेक बोल्दैनन् भन्ने ।

नेपाली राजनीतिक वृत्तमा मात्र होइन, नेपाली समाजमै एउटा गलत प्रवृत्ति हावी छ । यहाँ अरूको अनुहारमा हिलो छ्‌यापेर आफू राम्रो देखिने प्रवृत्तिले भूमिका खेलेको छ । त्यसको उत्तम नमुना वा उदाहरण ओली हुन् । अबको समाजको चरित्र पनि उनैबाट प्रेरित भएर विकास होला भन्ने चिन्ताको विषय हो ।

प्रतिक्रिया दिनुहोस्