काठमाडौं । अकुत सम्पत्ति आर्जनको मुद्दामा पुर्व कर्मचारी तथा लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता विनोद कुमार सिंहले सफाइ पाएका छन् । बिशेष अदादतले उनीसहित ४ जनालाई मंगलबार सफाइ दिएको छ । मंगलबार न्यायाधीशद्वय श्रीकान्त पौडेल र यमुना भट्टराईको इजलासले उनीहरुलाई सफाइ दिने निर्णय गरेको हो ।
झन्डै दुई करोड अकुत सम्पत्ति कमाएको अभियोगमा चार वर्षअघि उनीविरुद्ध मुद्दा दायर भएको थियो । सिंहले सहायक वन अधिकृतको पदबाट रााजिनामा दिएका थिए । १३ फागुन २०४३ देखि अवकाश पाउँदासम्म कूल आय १ करोड ६० लाख रुपैयाँ हुनुपर्नेमा उनी र उनका परिवारको नाममा ३ करोड ५१ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सम्पत्ति रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको थियो । १ करोड ९१ लाख ६१ हजार रुपैयाँभन्दा ठूलो रकमको स्रोत नखुलेको भन्दै सोहि बराबर बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।
अख्तियारले १९ कात्तिक २०७५ मा सिंहसहित उनकी श्रीमती गीतादेवी सिंह र छोराहरु अनुप कुमार तथा अचल कुमारलाई पनि जफत प्रयोजनका लागि प्रतिवादी कायम गरी मुद्दा दायर गरेको थियो ।
निजामती सेवाबाट राजीनामा दिएर सिंह राजनीतिमा सक्रिय छन् । हाल उनी लोसपाबाट मधेस प्रदेशको समानुपातिकतर्फको उम्मेदवार छन् ।