Logo
Logo

कसले रोक्यो सीडीओ र प्रहरी सरुवा ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । ठूलो पार्टीको सरकार भएपछि राज्यसत्तामा चलखेल पनि ठूलै हुने गर्दछ । तिनै चलखेलले गृह मन्त्रालय अन्तर्गतका सामान्य प्रशासनिक कामसमेत महिनौं रोकिन थालेका छन् ।

गृह मन्त्रालय अन्र्तगत सीडीओ र प्रहरी अधिकारीहरुको सरुवा चलखेलकै कारण रोकिएको छ । गृह मन्त्रालयले नयाँ आर्थिक वर्षसँगै सीडीओको सरुवा गर्ने नीति बनाएको छ । साउनको पहिलो साता नै उपसचिव सीडीओहरुको सरुवा समेत भइसकेको छ । तर, सहसचिव सीडीओहरुको भने अझै सरुवा हुन सकेको छैन । विभिन्न शक्तिकेन्द्रहरुको चलखेलका कारण सीडीओ सरुवा रोकिएको स्रोत बताउँछ ।

उपत्यकाका तीनै जिल्लासहित दुई दर्जन महत्वपूर्ण जिल्लाका सीडीओहरुको हेरफेरको समय भएको छ । खासगरी क्रसर व्यवसायीहरुले आफू अनुकूलका सीडीओ जिल्लामा लैजान खोज्ने भएकाले बढी चलखेल हुने गरेको हो ।

स्रोतका अनुसार काठमाडौंको सीडीओमा कास्कीका चक्रबहादुर बुढालाई ल्याइने लगभग पक्का भएको छ । उनी तत्कालीन माओवादी निकट सहसचिव हुन् । शक्ति बस्नेत गृहमन्त्री हुँदा उनी मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुखका रुपमा काम गरेका थिए ।

अन्य जिल्लाहरुमा बार्गेनिङ चलिरहेको स्रोत बताउँछ । अहिले एक दर्जन भन्दा धेरै जिल्लामा उपसचिवलाई काुम सीडीओ बनाएर खटाइएको छ । जबकि निजामती सेवा ऐनअनुसार ६ महिनाभन्दा लामो समय कामु दिन नपाइने प्रावधान छ । पावरकै आधारमा त्यसरी कामु भएर एक वर्ष सीडीओ चलाएका उपसचिवहरु फेरि अर्काे जिल्लामा कामु भएर जाने चलखेलमा लागेका छन् । जसमा बर्दियाका सीडीओ रामबहादुर कुरुम्वाङ, स्याङ्जाका कोषहरि निरौला लगायत छन् । सीडीओ सरुवासँगै गृहका सहसचिवहरु समेत हेरफेर हुनेछन् । अध्यागमन विभाग, कारागार व्यवस्थापन विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशकहरु समेत फेरिदैछन् ।

शान्ति सुरक्षा महाशाखाका प्रमुख रामकृष्ण सुवेदी भने बढुवा भएर मात्र फेरिने भएका छन् । उनी सिनियर सहसचिव हुन् । बढुवा भएर गृहमै सचिव भएर बस्न उनले लबिङ अघि बढाएका छन् ।

उता चलखेलकै कारण प्रहरीमा समेत सरुवा बढुवा समयमा हुनसकेको छैन । महानगरीय ट्राफिक प्रहरी महाशाखा र ललितपुर परिसरमा डेढ वर्ष हुन लाग्दा पनि एसएसपीको सरुवा हुनसकेको छैन । खासगरी ललितपुर परिसरमा सरुवा हुन धेरै एसएसपीले लबिङ गरिरहेका छन् । तर, गृहसचिव प्रेमकुमार राईको सिफारिसमा एसएसपी टेकप्रसाद राईको प्रबल सम्भावना रहेको स्रोत बताउँछ । सन्दीप भण्डारी, टेकबहादुर तामाङ लगायत एसएसपी पनि ललितपुर परिसरमा सरुवाको दौडधुपमा छन् । विभिन्न प्रादेशिक तालिम केन्द्रका प्रमुखहरुको समेत गृहले सरुवाको अन्तिम तयारी थालेको छ ।

उता एसएसपीको एक रिक्त पदमा चार महिना पुग्दा पनि बढुवा हुन सकेको छैन । विश्वराज पोखरेल डिआईजीमा बढुवा भएपछि रिक्त एसएसपी पदमा बढुवा हुन नसकेको हो । जबकि सर्वाेच्च अदालतले तीन महिनाभन्दा लामो समय कुनै पनि पद रिक्त नराख्न आदेश दिएको थियो । एक पदमा एक दर्जन आकांक्षी भएपछि प्रहरी महानिरीक्षक र गृह नेतृत्वले निर्णय लिन नसकेको हो ।

प्रतिक्रिया दिनुहोस्