Logo
Logo

मजदूर आन्दोलन बालाजूमा मात्र सीमित रहेन


2.5k
Shares

त्यो बेलाको मजदूर आन्दोलनको इतिहास लेख्ने हो भने एउटा सिंगो पुस्तक लेखेर पनि पुग्दैन । अध्येताहरुका थेसिसका निम्ति महत्वपूर्ण सामग्रीले भरिएको आन्दोलन थियो त्यो ।

मजदूरका जीवनको यथार्थ, आशा, उत्साह, साहस र समर्पण, नेताका गलत र सही निर्णयहरु, देशको अर्थतन्तर उद्योगको प्रारम्भिक अवस्था… मान्छेका हरेक आयामका कथाहरू भेटिनेछ त्यो इतिहासमा ।

कुनैबेला एउटा खेस्रा पनि तयार पारेकी थिएँ । र त्यो थाहा पाएर एकजना नाम, दाम कमाएका र पछि एउटा ठूलै देशको राजदूतसमेत भएका विकासे नेताले मागेका पनि थिए । फोटो कपि गरेर मैले दिएँ पनि । पछि थाहा पाएँ, उनको पी एच् डी थेसिसको निम्ति रहेछ ।

इतिहास कसरी बाङ्गिदै जान्छ र इतिहासका पात्रहरु कसरी ओझेल पर्दै जान्छन् भन्ने कुराका उदाहरण बग्रेल्ती छन् संसारमा, यहाँ लेखेर सकिने कुरा भएन ।

मजदूर आन्दोलन छाल झैं उर्लिन थाल्यो । बालाजु औद्योगिक क्षेत्रका सबै कारखानाका मजदूरहरु एकताबद्ध हुँदै गए । सामुहिक मागहरु जोडिदै गए, थपिँदै गए । बाहिरका राजनीतिक संघ संस्था र पुलिसका जत्था उत्तिकै सक्रिय हुँदै गए । औद्योगिक क्षेत्र लडाईको मैदान झैं देखिन थाल्यो । त्यो मैदानमा लडिरहेका मजदूरले कुनै हतियार समाएका थिएनन् । पुलिसको हातमा मात्र देखिन्थे राइफल…। जतिखेर पनि पड्किन सक्थे ती बन्दूकहरु ।

मजदूरका बीचमा मेरो अनुहार अझै नयाँ भएकोले शुरुमा त कसैले शङ्का पनि गरेनन् । म मजदूरकै पहिरनमा हुन्थें र सबैसँग मिस्सिएरै बसेकी हुन्थें । बाहिरबाट विद्यार्थी नेता, कार्यकर्ता, महिला अभियन्ता, र अरु पनि अनेक किसिमका मान्छेहरु भेट्न आइरहने हुँदा मेला जस्तै पनि भएको थियो औद्योगिक क्षेत्र ।

भएभरका कारखानाका जुझारु युवा मजदूरहरु एकताबद्ध भएको देखेर प्रशासन पनि आत्तियो । हुन पनि औद्योगिक मजदूरको शक्ति देशमा पहिलोपल्ट नै देखिँदै थियो । म पनि आफैभित्र सपनाको छालसँग खेलेको जस्तो अनुभूति भइरहेको थियो । मजदूरहरुको पवित्र जोश जाँगरको साक्षी हुन पाउँदा मनमा सन्तोष पनि थियो । बाटो झन्–झन् खुल्दै र फराकिलो हुँदै गएको जस्तो लागिरहेको थियो ।

मजदूरको मात्र होइन पहिलोपल्ट नै प्रत्यक्ष देख्न पाएँ साँचो महिलाको शक्तिलाई पनि । मजदूर महिलाहरु त अझ साहसिला हुँदा रहेछन् । एउटै पाल भित्र सक्रिय भइरहेका, कुनै निश्चित राजनैतिक विचारधाराबाट प्रभावित र विभाजित नभइसकेका मजदूर महिलाहरुलाई नजिकबाट हेर्दा उनीहरु भित्र लुकेको साँचो शक्ति देख्न थालें ।

मीना कार्की नामकी एक जना साहसी लडाकू मजदूर थिइन् । अचेल कहाँ छिन् थाहा छैन । उनको साहस र प्रतिभा अचम्मको थियो । कारखानामा काम गरिरहँदा पनि उनी गीत गाउँथिन् । ज्यादै आकर्षक स्वर थियो उनको ।

त्यस्तै अर्की मजदूर थिइन्– शान्ति थापा । ज्यादै साहसी र इमान्दार । पवित्र मनकी धनी पनि थिइन् । त्यस्तै थिए तीलकुमारी, मेनका महर्जन, रीना शाक्य … यी सबैसँग थिए मजदूर हकहीतको निम्ति लागिपरेका पुराना पाका अभिभआवकजस्ता लाग्ने महिला मजदूरहरु– रीता बलामी, बिष्णुदेवी, अष्टलक्ष्मी महर्जन… यी सबैलाई सम्झिन्छु बरोबर । तर कहाँ छन् अहिले, के गर्दैछन्– केही थाहा छैन ।

कारखानामा काम नगरे पनि आन्दोलनलाई नजिक बसेर पुरै साथ दिने मित्रहरु हुन्– कमला श्रेष्ठ र सुभद्रा कोइराला । कयौं पल्ट कमलाको घरमा खान जान्थें म । नाम थाहा नभएको एक आमालाई कहिल्यै बिर्सिन मैले, बालाजुकै एक मजदूर शंकर श्रेष्ठका आमा, उहाँले पनि बडो स्नेहका साथ मलाई बोलाएर खाना ख्वाउनु हुन्थ्यो, आफ्नै भाग पनि । सबैका गुनहरु सम्झिन्छु ,सबै लेखेर साध्यै छैन ।

यस्तैबेला देखा परेका र मैले चिन्न भ्याएका मजदूरहरु मध्येकै हुन् लालबाबु पण्डित– जो पछि एमालेको तर्फबाट दुईपल्टसम्म मन्त्री पनि भए । मजदूर आन्दोलनबाटै हुर्केका बिउँझिएका मध्येहरुबाट धेरै मजदूरहरु एकपछि अर्को गर्दै नेकपा(माले)मा र पछि एमालेमा आबद्ध हुँदै पनि गए । त्यो बेलाका नेताहरु पनि एक पछि अर्कोलाई साँचा मजदूरहरुसँग चिनाउँदै अगाडि बढ्ने काम पनि त्यहीबेला हुँदै गयो ।

धेरै नेताहरुले मजदूरको आड पाएर नाम दाम पनि कमाए । जिफन्ट जस्तो संस्था पनि बन्यो । तर त्यहाँसम्म पुग्ने बाटो खन्ने, पुल बनाउने ती मजदूरको परिश्रम र सपनाको पछि कति कदर भयो ? सक्कलि मजदूरको नामै मेटेर आफ्नो नाम माथिबाट कोर्ने दुष्प्रयास ठाउँ ठाउँमा भैरहेको देख्दा लाग्छ, यस्तो जालझेल त उहिल्यै देखि सुरु भैसकेको पनि रहेछ ।

अनौठो मान्नुपर्ने कुरा पनि होइन रहेछ यो । मानवीय स्वभाव नै होला यो कमजोरी । र पनि कतै दुखिरहेको छ, निस्सासिएजस्तो लागिरहेको छ– ती साँच्चैका, असली, मजदूर अभियन्ताहरु अहिले कहाँ होलान् भनेर गम्दा ।

चर्किंदै गइरहेको मजदूर आन्दोलन बालाजुमा मात्र सीमित रहेन । पाटन औद्योगिक क्षेत्र र अन्य ठाउँमा पनि पुग्यो । त्यतिबेला हरिसिद्धि ईंटा टायल कारखाना पनि ठूलै मानिन्थ्यो ।

म र मीना कार्की पाटन औद्योगिक क्षेत्रमा पुग्यौं । हामी त्यहाँ पुग्ने कुराको पूर्वसूचना पुगिसकेको थियो त्यहाँका मजदूर नेताहरुलाई । हामी औद्योगिक क्षेत्रभित्र पस्दा नै मजदूरहरु काम छोडेर बाहिर जम्मा भैसकेका थिए । मैले नसोचेको कुरा थियो यो । हामी भित्र पसेपछि निर्धारित कार्यक्रम अनुसार भाषण र नाराबाजी पनि भयो । वातावरणमा उत्साह थपियो ।

तर, त्यो सूचना पनि कति छिटो प्रसारित भैसकेछ– मोबाईल नभएको बेला पनि । हामीलाई पक्राउ गर्न पुलिसहरु पुग्दैछन् रे भन्ने खबर खासखुस हुँदै हाम्रो कानसम्म पुग्यो । सतर्कताका साथ हामी महिला मजदूरकै हूलमा मिस्सियौं । यतिबेला माओको पुस्तकको एक लाइन सम्झें– ‘आपदमा जनताको साथ कहिल्यै नछोड्नु …’ भन्ने । त्यो मेरो निम्ति ‘मन्त्र’ जस्तै भैदियो । कसैले सल्लाह दिए, त्यहाँ धेरै बेर नबस्नु राम्रो भनेर ।

एकैछिनमा दुईट्रक पुलिस पसे । हामी हिँड्दै गेट बाहिर सडकमा मात्र पुगेका थियौं । अलिकति हिँडेपछि लगनखेल तिर फर्केको एउटा ट्येम्पो रोकिएको देखें त्यसैमा चढ्नु उचित लाग्यो ।

मीना र म आँखाको भाका पनि आपसमा बुझ्न थालेका थियौं । हामी चढ्नासाथ टेम्पोले अरू कोही ग्राहकलाई पर्खेन । अगाडी ड्राइभरको साथमा एकजना मात्र मान्छे थियो । लगनखेल जावलाखेल हुँदै पुल्चोक पुग्दा त टेम्पो अगाडी बढ्नुको सट्टा मोडिएर पुलिस चौकितिर पो पस्न खोज्छ… !

त्यो चाल पाए पछि हामी पछाडीबाट फुत्त ओर्लियौं । संयोगले नजिकै एउटा मिनिबस रोकेको देख्यौं, त्यसैमा चढेर काठमाण्डौ फर्क्यौं । बालाजु पुग्दा थाहा पायौँ– साथीहरुले हामी पक्राउ परेको अनुमान गरिसकेका रहेछन् ।

मजदूरहरुको आन्दोलन अझै तीव्र भएर चर्किदै थियो …

प्रतिक्रिया दिनुहोस्