Logo
Logo

काठमाडौं-१ : पुराना र नयाँबीच प्रतिस्पर्धा


3.2k
Shares

काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको चहलपहल देशभर बढिरहेको छ ।

दश सङ्घीय निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा पनि उम्मेदवारहरु आफ्नो प्रचारप्रसारमा जुटिरहेका छन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरका ३२ वडामध्ये नेपाली कांग्रेस १९, नेकपा एमाले १२ र नेकपा (एकीकृत समाजवादी) एउटा वडामा विजयी भएका थिए ।

स्थानीय तहको मतपरिणामलाई हेर्दा आगामी मङ्सिरमा हुने सङ्घीय चुनावमा काठमाडौं क्षेत्र नं १ मा सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रकाशमान सिंह र नेकपा एमालेका किरण पौडेलबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

उक्त चुनावमा काठमाडौं क्षेत्र नं १ मा महानगरको चार वटा वडा १०, ११, २९ र ३१ समेटिएकामा कांग्रेसले १०, ११, २९ र एमालेले ३१ वडामा जीत हासिल गरेको थियो ।

उक्त क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुकार बम र नेपाल सुशासन पार्टीबाट रमेशप्रसाद खरेल पनि उम्मेदवार छन् ।

विसं २०७४ को निर्वाचनमा सो क्षेत्रमा अहिलेका उम्मेदवारद्वय प्रकाशमान सिंह र रविन्द्र मिश्रबीच भिडन्त भएको थियो । त्यत्तिबेला मिश्र विवेकशिल साझा पार्टीबाट चुनावी मैदानमा थिए ।

गत स्थानीय तहको निर्वाचनमा चार वडामा कांग्रेसका वडाध्यक्षहरुले कूल नौ हजार आठ सय ९५ मत प्राप्त गरेका थिए भने एमालेका वडाध्यक्षले नौ हजार पाँच सय ४१ मत पाएको देखिन्छ ।

वडाध्यक्षले पाएको मतका आधारमा पनि कांग्रेस छ सय ५४ मतले अगाडि छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले कुनै पनि वडामा नजिते पनि एक हजार तीन सय ७६ मत प्राप्त गरेका थिए ।

पुरानै मतपरिणामलाई आधार मान्दा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । सो क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका सिंहलाई माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको समर्थन रहेको छ ।

विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा हालका राप्रपाका उम्मेदवार मिश्रलाई आठ सय १८ मतान्तरले पराजित गर्दै विजयी भएका सिंहले १० हजार नौ सय ३६ मत प्राप्त गरेका थिए ।

गत निर्वाचनको नतिजा उल्टाउने दाउमा मिश्र चुनावी मैदानमा उत्रिएका छ भने नेता सिंह यसपाली पनि आफ्नो जितलाई कायमै राख्ने कसरतमा छन् । एमाले एक्लै सो क्षेत्रमा रहेकाले सत्तागठबन्धनको साथले सहजै जीत हुने कांग्र्रेसको जिकिर छ ।

यस्तै वैकल्पिक राजनीतिबाट उदाएका युवा नेता बम पनि यस क्षेत्रबाटै प्रतिस्पर्धा गर्दैछन् । उनी रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट उमेदवार बनेका हुन् ।

यही क्षेत्रमा नेपाल प्रहरीका पूर्वडीआईजी खरेल पनि उम्मेदवार बनेका छन् । प्रहरी सेवाबाट राजानीमा दिएर राजनीति अँगालेका खरेलले मुलुकभित्रको विकृतिको अन्त्य गर्दै सुशासन कायम गर्ने बताउँदै आएका छन् । त्यसैले महानगरको क्षेत्र नं १ मा रोचक भिडन्त हुने देखिन्छ ।

प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ काठमाडौँ क्षेत्र नं १ मा २२ मतदानस्थल र ५२ मतदान केन्द्रबाट कूल ४५ हजार १८ मतदाताले मत दिनेछन् ।

तीमध्ये २३ हजार चार सय ४८ महिला र २१ हजार पाँच सय ७० पुरुष छन् ।

प्रतिक्रिया दिनुहोस्