Logo
Logo

प्रधानमन्त्री हुँदा ‘रअ प्रमुख’ सामन्त गोयल र ओलीबीच गोप्य भेट भएको पुष्टि


28.1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँग गोप्य रुपमा भेटवार्ता गरेको स्वीकार गरेका छन् ।

शुक्रबार सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री हुँदा गोप्य रूपमा गोयलसँग भेटवार्ता गरेको स्वीकार गरेका हुन् ।

राष्ट्र प्रमुखको हैसियतमा विभिन्न देशका ठूला नेता वा प्रतिनिधिसभा भेटवार्ता गर्नु स्वभाविक रहेको भन्दै उक्त सन्देहपूर्ण भेटलाई ओलीले सामान्यीकरण गर्ने प्रयास समेत गरेका हुन् ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले भने– ‘सामन्त योगलसँगको भेटको प्रसङ्ग उठ्यो । सामन्त गोयल नेपाल आएका हुन् । थुप्रै भारतीय नेता नेपाल आएका हुन् । र, महत्वपूर्ण व्यक्तिहरूले मसँग भेटेका हुन् । उनीहरूले मसँग भेट्नु अनौठो कुरा होइन ।’

देशका प्रधानमन्त्रीले अर्को देशका गुप्तचर संस्थाका प्रमुखसँग विना कुनै जानकारी गोप्य रुपमा भेटेको विषय त्यो समयदेखि नै आलोचनाको विषय बनेको हो । तर, ओलीले त्यो भेटलाई ‘कुनै अनौठो कुरा होइन’ भने ।

अध्यक्ष ओलीले गोयलसँगको भेटलाई अन्य देशका नेता तथा सरकारका प्रतिनिधिसँगको भेटकै रुपमा प्रस्तुत गरेका छन् । उनले भने– ‘अमेरिकीहरूले भेटेका छन्, भारतीयहरूले भेटेका छन्, चाइनिजहरुले भेटेका छन्, जापानिजहरूले भेटेका छन्, देशको प्रमुखलाई विदेशीले भेट्नु ठूलो कुरा होइन ।’

‘रअ प्रमुख’ सामन्त गोयलसँग भेटबारे ओलीको भाषणा–

ओली–सामन्त गोप्य भेट कहिले र किन भएको थियो ?
सामन्त गोयल २०७७ कात्तिक पाँच गते सुटुक्कै नेपाल आएका थिए । उनको नेपाल भ्रमण र भ्रमणको उद्देश्यबारे सरकारलाई केही थाहा थिएन ।

मध्यरातमा नेपाल आइपुगेका गोयल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सुटुक्कै पुगे । जहाँ तत्कालीन प्रधानमन्त्री केपी ओली र गोयलबीच गोप्य छलफल र सम्झौता भएको आरोप लाग्ने गरेको छ । तर, ओली र गोयलबीच के–के कुरा भयो र के–के सम्झौता भयो भन्ने अझै पनि खुलेको छैन ।

गोयलको उक्त गोप्य भ्रमण र ओलीसँगको भेट नेपालले जारी गरेको नयाँ प्रशासनिक नक्सा र त्यसपछिको संसद् विघटनसँग सम्बन्धित रहेको विश्लेषण हुने गरेको छ ।

सबै संसद्ले मतदान गरेपछि नेपालको नयाँ नक्सा जारी गरिएको थियो । उक्त नक्सामा भारतीय पक्षबाट अतिक्रमण गरिएको नेपाली भूभाग समेटिएको छ । तर, गोयलसँगको भेटपछि ओलीले उक्त नक्सा प्रकाशनमा रोक लगाएका थिए ।

ओली–गोयल गोप्य भेटको ठीक दुई महिनापछि ५ पुष २०७७ मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेका थिए । त्यसैले पनि उक्त ओली–गोयल भेटलाई सन्देहपूर्ण मानिएको हो, हेरिएको हो ।

सन्देहपूर्ण मानिएको उक्त गोप्य भेटलाई ओलीले करिव दुई वर्षपछि पुष्टि गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्