Logo
Logo

सम्पर्क कार्यालय खोल्न राजनीतिक दलले अनिवार्य मापदण्ड पालना गर्नुपर्ने


189
Shares

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलका सम्पर्क कार्यालय खोल्न तोकिएको मापदण्ड अनिवार्य पालना गर्न निर्देशन दिएको छ ।

यसअघि नै सातबुँदे निर्देशन दिएको आयोगले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल तथा उम्मेदवारले तोकिएको मापदण्डका आधारमा सम्पर्क कार्यालय खोल्नुपर्ने बताएको हो ।

आयोगको निर्देशनअनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारले आफ्नो निर्वाचन क्षेत्रमा प्रदेश निर्वाचन क्षेत्रलाई समेट्ने गरी बढीमा तीन वटा सम्पर्क कार्यालय खोल्न र प्रदेशसभा सदस्य निर्वाचन प्रणालीतर्फ प्रदेशसभा सदस्य पदको उम्मेदवारले एक सम्पर्क कार्यालय खोल्न सक्नेछन्।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य समानुपातिकतर्फ बन्दसूचीमा उम्मेदवारी पेस गरेका दलले प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमा एक सम्पर्क कार्यालय खोल्न सक्ने र कार्यालय स्थापना गर्दा सम्भव भएसम्म एउटै स्थान प्रयोग गर्न आयोगले निर्देशन दिएको छ ।

निर्वाचन चिन्ह प्राप्त गरिसकेपछि त्यस्ता उम्मेदवारले अन्य कुनै उम्मेदवारलाई समर्थन गरेको भए त्यस्ता उम्मेदवारले सम्पर्क कार्यालय स्थापना गर्न पाउने छैनन्।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि घर भाडामा लिई सम्पर्क कार्यालय स्थापना गरेको भए त्यस्तो घरको घरभाडा उम्मेदवारको निर्वाचन खर्चमा समावेश गर्नुपर्ने आयोगको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्