Logo
Logo

चुनावको मुखमा गोकर्णलाई झड्का, रामकुमारीलाई एमालेकै प्रभावशाली नेताको समर्थन


98.5k
Shares

काठमाडौं । नेकपा एमालेका सचिव तथा गुल्मी–२ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण विष्टलाई निर्वाचनको मुखमा ठूलो झड्का लागेको छ ।

निर्वाचन नजिकिएको बेला नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा गुल्मीका प्रभावशाली नेता शेषकान्त गौतमले गोकर्णको साथ छोडेका छन् । गोकर्णको साथ छोडेका शेषकान्तले सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका रामकुमारी झाँक्रीलाई समर्थन गर्दै सहयोग गर्ने घाेषणा गरेका छन् । 

एमालेका सचिव गोकर्ण नैतिक रुपमा पतन भैसकेको भन्दै निर्वाचनमा उनलाई समर्थन र सहयोग गर्न नसकिने शेषकान्तद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । नेकपा विभाजनका क्रममा माधवकुमार नेपाललाई उचालेर आफू पछि हटेपछि जिल्लामा आएर आत्मआलोचना समेत नगरेका गोकर्णलाई समर्थन र सहयोग गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ ।

फरक पार्टीका उम्मेदवार झाँक्रीलाई समर्थन र सहयोग गर्ने घोषणा गरेका उनले पार्टी परित्याग भने नगरेको उल्लेख गरेका छन् । रामकुमारीलाई सहयोग गरेकै कारण पार्टीले कारबाही गरे भोग्न तयार रहेको उनले बताएका छन् । 

गोकर्णको विपक्षमा उभिएका शेषकान्तले गुल्मेली चेली भन्दै रामकुमारीलाई मतदान गर्न समेत अपिल गरेका छन् । उनले भनेका छन्– ‘कुनै राजनीतिक परिवारका कारण अगाडि नबढेकी र गुल्मेली गहना चेलीलाई समर्थन गरेर विजयी गराई पठाउन सम्पूर्ण गुल्मेलीहरूलाई आग्रह गर्दछु ।’

जिल्लाका प्रभावशाली नेता नै विपक्षमा उभिएपछि गोकर्ण झनै अप्ठ्यारोमा परेका छन् । त्यसै पनि सत्तारुढ गठबन्धनसामु कमजोर देखिएका गोकर्णलाई यो घटनाले झनै कमजोर बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्