Logo
Logo

देउवा भन्छन्- गठबन्धन १०-१५ वर्षसम्म कायम रहन्छ


1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको पाँच दलीय गठबन्धन १०-१५ वर्षसम्म कायम रहने बताएका छन् । उनले गठबन्धन चुनावका लागि मात्र नभएर देशको समृद्धि, आर्थिक विकास र राजनीतिक स्थायित्वका लागि आवश्यक रहेकाले गठबन्धन नभत्किने बताए ।

एक अनलाइन पोर्टललाई अन्तर्वाता दिँदै प्रधानमन्त्री देउवाले ‘गठबन्धन जति बलियो भयो, त्यति नै बलियो सरकार बन्ने बताएका छन् । हाल चुनावी प्रचारको क्रममा आफ्नो गृहजिल्ला डडेलधुरामा रहेको प्रधानमन्त्री देउवाले रातोपाटीसँग भनेका छन्, ‘गठबन्धन भत्किँदैन गठबन्धन चुनावका लागि मात्रै होइन । स्थिर सरकार, स्थायी शान्ति र स्थिरताका लागि हो । यो गठबन्धन १०–१५ वर्ष जारी रहन्छ ।’ उनले प्रचण्ड र माधव पनि गठबन्धनलाई जारी राख्ने पक्ष रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक छ । राजनीतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक छ ।’ गठबन्धन बलियो भने सरकार बलियो हुने बताउँदै उनले राजनीतिक पद्धति र विकासलाई संस्थागत रुपमा विकास गर्न पनि गठबन्धन आवश्यक रहेको बताएका छन् । ‘एक्लै कुनै पार्टीको बहुमत आउन सक्दैन । त्यसैले पार्टीहरू मिल्नुपरेको छ’ उनको भनाइ छ ।

प्रधानमन्त्री देउवाले गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगर्न भनेको पनि बताए । उनले अन्तर्वार्तामा भनेका छन्, ‘सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला । सबै पार्टीमा त्यस्तै छ । सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने हामी त्यता पनि विचार गर्छौं ।’

उनले आफ्नो व्यक्तिगत इच्छा नभएर गठबन्धनको आग्रहमा प्रधानमन्त्री भएको समेत बताउँदै मंसिर ४ पछि नेपाली कांग्रेस पहिलो पार्टी बन्ने बन्ने दावी गरे । उनले भने, ‘नेपाली कांग्रेस पहिलो पार्टी हुनेमा कुनै दुईमत छैन । अहिले नेपाली कांग्रेसकै पक्षमा देशभरि सकारात्मक सन्देश प्रवाह भइरहेको छ ।’ उनले गठबन्धनले आगामी चुनावमा भारी अन्तरले जित्ने बताउँदै गठबन्धनकै सरकार बन्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्