Logo
Logo

समाजवादी प्रेस संगठनका उपाध्यक्ष र केन्द्रीय सदस्यलाई कारबाही


1.9k
Shares

काठमाडौं । समाजवादी प्रेस संगठन नेपालले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधि गरेको भन्दै दुई नेतालाई कारबाही गरेको छ ।

आइतबार सम्पन्न संगठनको सचिवालय बैठकले संगठनको हित प्रतिकूल गतिविधि गरेको भन्दै उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज विकास बन्जाडे र केन्द्रीय सदस्य भरत शर्मालाई कारबाही गरेको हो ।

संगठनका महासचिव भूपराज खड्काद्वारा जारी विज्ञप्तिमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सन्दर्भमा संगठनको हित प्रतिकूल गतिविधि गरेका कारण बन्जाडे र शर्मालाई कारबाही गरी संगठनका सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको उल्लेख छ ।

संगठनले विज्ञप्तिमार्फत प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका सन्दर्भमा पाँच दलीय वाम–लोकतान्त्रिक गठबन्धन पक्षीय उम्मेदवारको पक्षमा गर्नुपर्ने प्रचार कामलाई अगाडि बढाउने निर्णय गरेको समेत जानकारी गराएको छ ।

त्यसैगरी, विभिन्न जिल्ला र निर्वाचन क्षेत्रका हकमा गठबन्धन पक्षधर अन्य पत्रकार संगठनबीच आपसी समन्वय गर्ने र साझा ढंगले प्रचारका काम अगाडि बढाउने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।

संगठनले नागरिक दैनिकमा प्रकाशित कार्टुनको विषयलाई लिएर प्रेस काउन्सिलले २४ घन्टे स्पष्टीकरण सोधेकोप्रति आपत्ति जनाएको छ ।काउन्सिलले सोधेको उक्त स्पष्टीकरण विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाको पक्षमा नरहेको संगठनको ठहर रहेको विज्ञप्तिमा उल्लेख छ ।
 

प्रतिक्रिया दिनुहोस्