Logo
Logo

एमाले अवस्था- आफूभित्रै बेमेल, भाँडिदैछ तालमेल


12.4k
Shares

काठमाडौं । चुनावको मुखमा आफ्ना नेता र कार्यकर्ता सम्हाल्न धौ–धौ परिरहेको एमालेलाई अहिले चुनावी तालमेलमा सहभागी जसपा र राप्रपासँग झगडा गर्दैमा हैरान छ । यस्तो हुँदा एमालेभित्र कतै निराशा बढेको छ भने धेरै ठाउँमा उम्मेदवारहरू नै हतोत्साही छन् ।

आफूलाई अप्ठेरो परेको ठाउँमा राप्रपा र जसपासँग तालमेलको भर गरेर चुनावमा गएको एमालेले तालमेलका लागि छोडेका क्षेत्रमा भने उनीहरूलाई अप्ठेरो पार्ने गरी अगाडि बढेको छ । फलस्वरुप आफ्ना उम्मेदवारले हार्ने स्थितिमा एमालेका उम्मेदवारलाई पनि जिताउन नसकिने जवाफ राप्रपा र जसपाले दिइसकेका छन् ।

सप्तरीको व्यस्त चुनावी दौडधुपबाट एक दिनको विश्राम लिएर काठमाडौं आएका जसपा अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई त्यस्तो चेतावनी दिएका हुन् ।

तालमेलका क्रममा मोरङ ५ बाट प्रतिनिधिसभा सदस्यका लागि एमालेले जसपालाई छोडिदिएपछि जसपाका जिल्ला अध्यक्ष राजकुमार यादव उम्मेदवार बने । तर, एमालेले योगेन्द्र मण्डललाई स्वतन्त्र उम्मेदवार बनाएर आफ्नो मत मण्डलतिर केन्द्रित गर्ने भएको छ ।

मोरङकै प्रदेशसभा ४ को (२) र ६ को (२) जसपालाई छाड्ने सहमति भएकोमा एमालेको तर्फबाट सहमति उल्लंघन भएकोमा अध्यक्ष यादवले रोष व्यक्त गरेका छन् । ४ को (२) मा जसपाले सञ्जयकुमार सिंह राजपुतलाई उम्मेदवार बनाएको छ । तर, एमालेले जीवन घिमिरेलाई उठाएपछि जसपा र एमाले दुबै अप्ठेरोमा परेका छन् ।

प्रदेशसभातर्फ ६ को (२) मा जसपालाई दिने भनेपछि राजेन्द्र गुप्ता उम्मेदवार बने । तर, एमालेले आपराधिक कसुरमा कहलिएका कृष्ण बस्नेत (पर्शुराम) लाई उठाएपछि तालमेल भद्रगोल भएको छ ।

एमालेसँग तालमेलको सहमति हुँदा धनकुटाको प्रतिनिधिसभा सदस्यमा जसपाले उम्मेदवारी पाउने कुरा भएको थियो । तर, एमालेले त्यहाँ छोडेन । जसपाका प्रस्तावित उम्मेदवार रकम चेम्जोङले प्रदेशसभा (१) बाट उम्मेदवारी दर्ता गरे । तर, एमालेले उक्त क्षेत्रमा निरन राईलाई आधिकारिक उम्मेदवार बनाएको छ ।

त्यस्तै, प्रतिनिधिसभामा सुनसरीको क्षेत्र नं. १ बाट जसपाका अशोक राई उम्मेदवार बनेका छन् । तर, एमालेले धरानका पूर्वमेयर मनोजकुमार मेयाङ्वोलाई चुनाव चिह्न ‘खरायो’ सहित स्वतन्त्र उम्मेदवार बनाएको छ । एमालेको भोट मेयाङ्वोले पाउने भएका छन् ।

चुनावी अभियानका क्रममा एमाले कार्यकर्ताहरू स्वतन्त्र उम्मेदवारको घरदैलोमा देखिन्छन् । उपेन्द्र यादवले प्रदेश १ को समस्या नमिलाए मधेस प्रदेशमा एमाले ‘साफ’ हुनेसम्मको चेतावनी दिएका छन् । ओलीले केही स्वतन्त्रहरू पार्टी छोडेर उम्मेदवार भएका कारण उनीहरूलाई केही गर्न नसक्ने भनेका छन् ।

सुनसरीका मेयाङ्वो र मोरङका मण्डलले पार्टी परित्याग गरेर उम्मेदवारी दिएको जवाफ ओलीले दिएका छन् । तर, प्रदेशसभाको हकमा भने ‘मिलाउँला’ मात्रै भनेका छन् ।

यादवले काठमाडौंको क्षेत्र नं. ७ बाट उम्मेदवार बनेका राजेन्द्र श्रेष्ठलाई जिताउनका लागि एमाले उम्मेदवार श्यामप्रसाद घिमिरेलाई निस्क्रिय बनाउन माग गरेका छन् । यदि, घिमिरे निस्क्रिय भएमा एमालेका बागी उम्मेदवार रामवीर मानन्धरलाई ‘मिलाउने’ जिम्मा आफूले लिने बताएका थिए ।

ओलीले ‘यो त अप्ठ्यारो छ’ भन्दै मिलाउन नसकिने जवाफ दिएपछि जवाफमा उपेन्द्रले भने, ‘त्यसो भए हामी त हार्ने नै भयौँ, तपाईंहरू पनि हार्न तयार हुनुस् ।’

जसपामात्रै हैन, राप्रपासँगको तालमेल पनि समस्यामा परेको छ । ‘एमालेको इज्जतका लागि’ झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउन अपिल गरेका ओलीका निम्ति क्षेत्र नं. ३ को समस्याले आफू उम्मेदवार रहेको क्षेत्र नंं. ५ मा असर गर्ने भएको छ ।

लिङ्देनको क्षेत्रमा उम्मेदवार भएका एमाले नेता डम्मरबहादुर गिरी चुनाव चिह्न ‘सूर्यमुखी फूल’ सहित चुनावी अभियानमा छन् । उनीसँग त्यहाँका स्थानीय एमाले कार्यकर्ता सक्रियतापूर्वक सहभागी भएका छन् ।

राप्रपाले गिरीको उम्मेदवारी निस्क्रिय बनाई लिङ्देनलाई समर्थन गरेको घोषणा गराउन माग गरेको छ । यसबारे ओलीसँग कुरा राख्दा ‘भनेको मान्दैन, मैले के गरौँ त’ भन्दै पन्छिँदै आएको स्रोतले बताएको छ । पार्टीले लिङ्देनका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र छोडेको विरोधमा एमालेको क्षेत्र नं. ३ का नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

युवा संघको हल्दीबारी गाउँ कमिटी अध्यक्ष अनिल मेचे, सचिव मनोज सुवेदी, अखिलका गाउँ कमिटी अध्यक्ष विजय राई र सचिव अभिषेक खतिवडासहित सयौँ एमाले युवाहरूले पार्टी परित्याग गरेका छन् ।

यदि, ओलीले लिङ्देनलाई सहज पार्ने गरी गिरीको उम्मेदवारी निस्क्रिय नबनाए राप्रपाले ओलीको क्षेत्र नं. ५ मा चुनाव चिह्न ‘सूर्यमुखी फूल’ कै स्वतन्त्र उम्मेदवार तुलसी काफ्लेलाई भोट हालेर ‘जवाफ दिने’ बताउँदै आएको छ ।

यसैगरी, गौरादहस्थित जोरघरेका बासिन्दा अधिवक्ता काफ्ले राप्रपासँग सहयोग मागिरहेका छन् । गत स्थानीय निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनको समर्थनमा दमकको मेयरमा जितेका राप्रपा नेता रामकुमार थापा अहिलेसम्म ओलीको पक्षमा खुलेर निस्किएका छैनन् । उनले अध्यक्ष लिङ्देनको क्षेत्रलाई सहज बनाए ओलीलाई सघाउने, नत्र नसघाउने भन्दै आएका छन् ।

राप्रपाले चितवन क्षेत्र नं. ३ मा आफ्ना उम्मेदवार विक्रम पाण्डेलाई समर्थन नगरेकोमा एमालेसँग असन्तुष्टि राख्दै आएको छ । त्यहाँका एमाले उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता लिने क्रममा एमालेले कांग्रेसका बागी दिनेश कोइरालालाई समर्थन गरेको थियो ।

उक्त समर्थन फिर्ता लिई राप्रपालाई समर्थन गर्नुपर्ने उक्त पार्टीको माग छ । यदि, चितवनमा विक्रम पाण्डेलाई सहज नबनाए एमालेलाई अन्यत्र मुस्किल पर्ने राप्रपाको चेतावनी छ ।

एमालेमा घनश्यामको धक्का

अन्तिम अवस्थामा टिकट नदिएपछि एमाले परित्याग गरी वाम–लोकतान्त्रिक गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेवार बनेका घनश्याम भुसालका कारण एमालेले देशभरिमा केन्द्रीय तहका करिव १५ नेता, प्रदेश र जिल्लासम्म गरी सयौँ नेता–कार्यकर्ता गुमाएको विश्लेषण एमालेभित्रै भएको छ ।

घनश्यामका कारण परेको धक्कालाई साम्य पार्नका निम्ति अब कसैले पनि पार्टी छोड्ने स्थिति नहोस् भन्नका लागि स्वतन्त्र उम्मेदवारी दिनेहरूलाई कुनै किसिमको कारबाही नगरिने भएको छ ।

भीम रावलले पार्टीविरोधी अभिव्यक्ति दिएपछि उनलाई पार्टीबाट निष्काशन गर्ने ओलीको तयारीलाई शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायतका नेताको दबाबका कारण रोकिएको थियो ।

स्वतन्त्र उम्मेदवारी दिएका नेताहरूलाई चुनावकै समयमा कारबाही गरिँदा अरु थुप्रै कार्यकर्ताले पार्टी छोड्ने ठहरका कारण उनीहरूले उन्मुक्ति पाउने भएका हुन् । तर, यसो गर्दागर्दै पनि गुल्मीमा शेषकान्त गौतमले विद्रोह गरेका छन् ।

त्यहाँबाट अर्को साता अरु एमाले नेताहरूले पनि एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई समर्थन गर्दै एमालेबाट विद्रोहको तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्