काठमाडौं । सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वझाङका नायव सुव्वा शिवराज उपाध्याय विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । एक करोड १० लाख ६७ हजार बिगो कायम गरी उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
तत्काल जिल्ला हुलाक कार्यालय, बझाङमा कार्यरत रहँदा गैरकानूनी स्रोत नखुलेको सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनी सार्वजनिक सेवामा प्रवेश गरेको मिति २०५५।०५।२५ देखी मिति २०७८।१२।३० सम्मको जाँच अवधिको समग्र आय (आम्दानी) ब्यय (खर्च तथा लगानी) को बिश्लेषण गर्दा सार्वजनिक सेवामा रही आर्जित पारिश्रमिक बचत, निजको छोराको पारिश्रमीक वचत, जग्गा बिक्रीबाट प्राप्त, कर्जा आय, बिमा परिपक्व भै प्राप्त रकम र कृषि आयसमेत गरी जम्मा रू. ४८,००,९११।७५ (अड्चालीस लाख नौ सय एघार रुपैयाँ पचहत्तर पैसा) आय आर्जन गरेको देखिएको थियो । सोही जाँच अवधिमा उनको ब्यय (खर्च तथा लगानी) तर्फ हेर्दा जग्गा खरिदमा, घर निर्माण, अध्ययन खर्च, कर्जाको साँवाब्याज भुक्तानी, बिमाको प्रिमियम भुक्तानी, विद्युतीय उपकरण खरिद, सुन खरिद सवारी साधन खरिद, र बैंक मौज्दातसमेत गरी जम्मा रू. १ करोड ५७ लाख पाँच हजार एक सय ३४ रुपैयाँ खर्च तथा लगानी गरेको देखिएको आयोगले जनाएको छ । स्रोत नखुलेको सम्पत्ति भ्रष्टाचारबाट कमाएको आयोगको दाबी छ ।
साथै, उपाध्यायले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवी उपाध्यायको नाममा जग्गा खरिद, घर निर्माण तथा बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नसकेको लागत मूल्य वरावरको भागको श्रोत नखुलेको सम्पत्ति विगो जफत गर्ने प्रयोजनार्थ मात्र भ्रष्टाचार निवारण ऐन¸ २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन¸ २०४८ को दफा २९ (ख) बमोजिम जयादेवी उपाध्यायलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्तिमध्येबाट बिगो र जरिवाना जफत गरी पाउन मागदावी लिई मंगलबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको छ ।