Logo
Logo

एआइजी धानुक अवकाशमा


9.1k
Shares


काठमाडौं । सेवा अवधि पुरा गरी सेवानिबृत्त हुन लागेका नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकलाई मंगलबार काठमाडौं उपत्यका प्रहरी कार्यालयमा आयोजित बिशेष समारोहबीच बिदाइ गरिएको छ । धानुकले बुधबारदेखि अवकाश पाउँदैछन् ।


बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले संगठनले सुम्पेको जिम्मेवारी व्यवसायिक रूपमा सक्षमताका साथ निर्वाह गर्न सहयोग र सहकार्य गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गरे । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारी आम नागरिकलाई न्याय र सुरक्षाको अनुभूति दिन र संगठनको हकहितका लागि केन्द्रित भई आफूले काम गरेको उनले उल्लेख गरे । प्रहरी अतिरिक्त महानिरीक्षक धानुकले आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफू तयार रहेको र हरेक प्रहरी कर्मचारीले समेत सहयोग गर्नुपर्नेमा जोड दिए ।


धन्यवाद मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक किरण राणाले संगठनको श्रीवृद्धि र प्रहरी सेवालाई अझै प्रभावकारी तथा नगारिकमैत्री बनाउनका लागि सेवानिबृत्त हुन लागेका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सल्लाह, सुझाव र निर्देशन निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरिन् ।


एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । उमेरहद संशोधन गर्ने प्रयास अर्थमन्त्री जनार्दन शर्माले गरेपनि निर्वाचनका कारण प्रयास सफल हुन सकेन । धानुकको अवकाशसँगै प्रहरीमा एआइजीका चार दरबन्दी रिक्त हुनेछन् ।

धानुकको अवकाशसँगै काठमाडौं उपत्यकाका प्रहरी कार्यालयको निमित्त प्रमुखमा डिआइजी किरण राणाले जिम्मेवारी पाएकी छिन् । उनले मंगलबार नै मातहतका प्रहरीलाई निर्देशन दिएकी छिन् । निर्वाचनको समयमा हुन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुसार कार्ययोजना बनाई अगाडि बढ्न उनले निर्देशन दिएकी छिन् । सम्पूर्ण देश चुनावी माहोलमा रहेको अवस्थामा प्रहरी अझै थप सक्रिय भई प्रहरीको दैनिक काम कारवाहीलाई समेत निरन्तरता दिनुपर्नेमा उनको जोड थियो । संगठनले दिएको जिम्मेवारीलाई पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले सामुहिक भावना र एकिकृत भई कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै हेल्पिङ ह्यान्डका रुपमा रहेका म्यादी प्रहरीको समेत प्रभावकारी रूपमा परिचालन गरी निर्वाचनको समयमा शान्ति सुरक्षालाई थप सुदृढ एवं मजबुद बनाउन उपस्थित कार्यालयका प्रमुखहरूलाई प्रहरी नायव महानिरीक्षक राणाले निर्देशन दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्