‘५० वर्षदेखि विभाजित नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न राष्ट्रको निर्णायक शक्तिको रुपमा रहेको नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७४ असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी गठन गर्ने ऐतिहासिक घोषणा हामीले गरेका छौं ।’
२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमाले र माओवादीद्वारा जारी घोषणापत्रमा उल्लेख गरिएका प्रतिबद्धता हो यो । यही घोषणापत्र र प्रतिबद्धतालाई विश्वास गरेर २०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभामा नेपाली जनताले यी दुई पार्टीलाई दुईतिहाइ मत दिएका थिए ।
पाँच वर्षका लागि नेपाली जनताले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका लागि कम्युनिष्ट पार्टीलाई दिएको अमूल्य मतको सदुपयोग भएको भए देश पुनः राजनीतिक अस्थिरतातर्फ लम्किने थिएन ।
यो पाँच वर्षभित्र देशमा सुशासन कायम गर्नेदेखि लिएर आर्थिक विकासका धेरै काम गर्न सक्थ्यौं । दुर्भाग्य, एमालेका अध्यक्ष केपी शर्मा ओलीले न दुईतिहाइको सरकार सम्हाल्न सके, न त पार्टीलाई सिंगो राख्न नै सके ।
कुनै पनि स्वाभिमानी, देशभक्त कम्युनिष्ट एमालेमा अटाउने छैन । ढिलो चाँडो एमाले पतनको डिलमा पुग्ने छ । यो निर्वाचन प्रतिगमनविरुद्धको आन्दोलन भएकोले संविधानको उपलब्धि रक्षा गर्नका लागि पनि जनता जाग्न जरुरी छ ।
यस्तो अवस्थामा निर्वाचनमा होमिएको नेकपा एमालेका हरेक उम्मेदवारहरुलाई जनताले सोध्नुपर्छ– दुईतिहाइको सरकार किन भंग गर्यौं ? यस प्रश्नको जवाफ एमाले नेताहरुले जेसुकै दिए पनि परिणाम २०७४ सालको जस्तो आउने छैन । एमालेलाई जनताले दिने दण्ड सजाय भनेको यही नै हो ।
अर्को महत्वपूर्ण कुरा २०७४ सालमा कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न माओवादीसँग सहकार्य गरेको एमालेले अहिले राप्रपाजस्तो प्रतिगामी, पुनर्उत्थानवादी पार्टीसँग सहकार्य गर्नुको अर्थ पनि जनताले खोज्नुपर्छ ।
केपी शर्मा ओलीलगायत एमालेका नेता, कार्यकर्ताले संसद् भंग गर्नुको जेसुकै कारण देखाए पनि त्यसको पछाडि नेपालको कम्युनिष्ट आन्दोलन छिन्नभिन्न पार्ने ठूलो षड्यन्त्र लुकेको छ, जुन कुरा ओली स्वयंलाई पनि थाहा छ ।
सोभियत संघ विघटन गर्न गोर्वाचोभलाई जसरी प्रयोग गरियो, त्यसरी नै नेपालमा कम्युनिष्ट आन्दोलन छिन्नभिन्न पार्न ओली प्रयोग भएका कारण दुईतिहाइको सरकार पाँच वर्ष टिक्न सकेन । जनताले पाँच वर्षका लागि सत्तामा पुर्याएका ओली आफ्नै कारणले साढे तीन वर्षमा सडकमा पुग्नुपर्यो ।
नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७० वर्षमा दुईतिहाइ मत ल्याउनु चानचुने कुरा थिएन । त्यसलाई जोगाउँदै एकीकृत कम्युनिष्ट पार्टी निर्माणतर्फ ओली लम्केको भए अहिले पनि कम्युनिष्ट पार्टीले दुईतिहाइभन्दा बढी मत ल्याउने थियो । त्यही खतरा देखेर विदेशी एजेन्टहरुले कम्युनिष्ट आन्दोलन सिध्याउन ओलीलाई प्रयोग गरे । यस विषयमा ओलीले मुख नखोले पनि गोयलहरुले कुनै दिन ‘आत्मवृत्तान्त’ सत्य कुरा लेख्ने नै छन् । त्यतिबेला धेरैको अनुहार नांगिने छ ।
पुस ५ को प्रतिगमनपछि ओली आफू मात्र सिद्धिएनन्, उनले कम्युनिष्ट आन्दोलनको एउटा माला नै छिन्नभिन्न पार्न घनश्याम भुसाल, भीम रावलजस्ता देशभक्तलाई निर्वाचनमा टिकट नदिएर लखेटे । यो ओलीको बाध्यता थियो । अब ओलीपछि एमाले नेतृत्व शून्यमा झर्ने छ ।
कुनै पनि स्वाभिमानी, देशभक्त कम्युनिष्ट एमालेमा अटाउने छैन । ढिलो चाँडो एमाले पतनको डिलमा पुग्ने छ । यो निर्वाचन प्रतिगमनविरुद्धको आन्दोलन भएकोले संविधानको उपलब्धि रक्षा गर्नका लागि पनि जनता जाग्न जरुरी छ ।