Logo
Logo

मोरङ- ५ : पुन: निर्वाचित हुनेमा ढुक्क शिवकुमार


756
Shares

काठमाडौं । मोरङ निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभामा माओवादी केन्द्रबाट शिवकुमार मण्डल (केवट) सत्ता गठबन्धनका साझा उम्मेदवार छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार बनेसँगै केवटले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन् ।

चुनावी अभियानका क्रममा गाउँ–गाउँमा पुग्दा जनताहरूले आफूप्रति सद्भाव, आशा र विश्वास देखाएको उनी बताउँछन् । सोही कारण यसपटक पुनः निर्वाचित हुने उनको विश्वास छ ।

उनी घरदैलोका क्रममा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुग्ने गरेका छन्। जहाँ जहाँ पुगेपनि सत्ता गठबन्धनप्रति सकारात्मक माहोल देखिएको उनी बताउँछन् । ’मोरङमा गठबन्धनमा कुनै विवाद छैन । हामी एकढिक्का भएर निर्वाचनमा होमिएका छौँ,’ मण्डल भन्छन्, ’नेता–कार्यकर्ता तहमा मात्र होइन जनता र मतदाताको स्तरमा पनि गठबन्धन एकढिक्का छ । हाम्रो पक्षमा निकै राम्रो माहोल छ ।’

त्यसो त अघिल्लो चुनावमा पनि यही क्षेत्रबाट निर्वाचित भएका मण्डल यसपटक गठबन्धनका दलहरूको समर्थनमा पुन निर्वाचित हुनेमा विश्वस्त देखिन्छन्। उनको पक्षमा पनि सकारात्मक माहोल रहेको स्थानीयहरूको भनाइ छ ।

को हुन् मण्डल ?
बाबु किसन केवट र आमा रेमनी देवी मण्डलको कोखबाट वि.सं. २०३२ भदौ १० गते शिवकुमार मण्डल (केवट) को जन्म भएको हो । उनकी पत्नीको नाम शिव रानी देवी मण्डल हो भने उनीहरूका दुई छोरा छन् ।

मण्डलको राजनीतिक जीवन २०४७ देखि सुरु भएको हाे । उनी २०५१ मा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बने। २०५५ मा अनेरास्ववियु (पाँचौँ) को जिल्ला कमिटी सदस्य बनेका थिए ।

मण्डल २०५७ मा माओवादी केन्द्रको मोरङ जिल्ला सदस्य बने । २०५८ मा माओवादी केन्द्रनिकट मधेसी राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय सदस्य बनेका उनी २०५९ मा सोही संगठनको केन्द्रीय कोषाध्यक्ष तथा कोशी ब्युरो इन्चार्ज बनका थिए ।
मण्डल २०६० मा तत्कालीन नेकपा माओवादीको कोशी ब्युरो सदस्य तथा मोरङ र सुनसरी जिल्ला जनसरकार प्रमुख बने।

२०६१ मा माओवादीको मोरङ जिल्ला सचिव बनेका उनलाई २०६३ मा पार्टीले रौतहट जिल्ला इन्चार्जको जिम्मेवारी दियो ।
२०६४–२०७० मा माओवादीको मोरङ इन्चार्ज बनका मण्डल २०६५ मा पार्टीको केन्द्रीय सदस्य बनेका हुन्। राजकीय जिम्मेवारीमा आपूर्ति मन्त्रीसमेत बनेका केवट २०७० मा मोरङ ४ बाट संविधान सभा सदस्यमा र २०७४ मा मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्