Logo
Logo

प्रतिनिधिसभा बैठक : माथिल्लो तामाकोशीमा ढिलाइ किन ?


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १२ भदौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा भइरहेको ढिलाइप्रति प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गराइएको छ ।
बैठकमा पूर्वअर्थमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत भएको तर केही महत्वपूर्ण काम बाँकी छ भन्दै ढिलाइ गरिएकामा गुनासो गरे । उनले भने, ‘आयोजना यो वा त्यो बहानामा विलम्ब नगर्न म सरकारको ध्यानाकर्षण गराउँछु ।’ उनले स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनामा भइरहेको ढिलाइले लागतसमेत बढेको छ भन्दै किन त्यस्तो भएको हो भनी प्रश्न गरे ।
नेकपाका वसन्त नेम्वाङले सरकारले चालू आवभित्र देशका ४० जिल्लालाई पूर्णरुपमा विद्युतीकरण गर्ने भनी ल्याएको योजनालाई सहज रुपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उज्यालो नेपाल निर्माणको दीर्घकालीन लक्ष्यसहितको कार्यक्रम अगाडि सारेकामा धन्यवाद दिँदै उनले त्यसको प्रभावकारी कार्यान्वयनको माग गरे ।
देशव्यापी रुपमा विद्युत्भार कटौतीको अन्त्य गरिएपछि विद्युत्को खपत दरसमेत बढेको छ भन्दै देशव्यापी रुपमा पूर्णरुपमा विद्युतीकरण गर्ने गरी अगाडि सारिएको कार्ययोजनाको कार्यान्वयनपछि त्यसले अर्थतन्त्रमा समेत सकारात्मक पार्ने भनाइ उनले राखे ।
सांसद नेम्वाङले सबै नेपाली जनताको घरघरमा उज्यालो पु¥याउने प्रधानमन्त्री केपी शर्मा ओलीको सपनालाई पूरा गर्नका लागि भइरहेको प्रयासलाई सबै क्षेत्रलाई साथ र सहयोग उपलब्ध गराउन आग्रह गरे । उनले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले शुरु गरेको योजनालाई पूर्णरुपमा कार्यान्वयन गर्न आफूहरुको पनि साथ सहयोग रहने बताए ।
नेकपाका विन्दा पाण्डेले नागरिकतासम्बन्धी विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सदनको ध्यानाकर्षण गराइन् । उनले चालू अधिवेशनमा सो विधेयक पारित हुन नसके त्यसबाट प्रभावित हुने नागरिकका लागि शिक्षा र स्वास्थ्य पेशा व्यवसाय सहज बनाउनका लागि वैकल्पिक व्यवस्था गर्न माग गरे । सोही दलका हृदयेश त्रिपाठीले पनि राज्य व्यवस्था समितिमा लामो समयदेखि नागरिकतासम्बन्धी विधेयकमाथि छलफल भए पनि कुनै निष्कर्षमा पु¥याउन नसकेका कारण समस्या पैदा भएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्