Logo
Logo

ललितपुर-३ : यी हुन् पम्फा दोहोरिने आधार, अमृत र तोसिमाको चर्चा मात्रै


78.5k
Shares

ललितपुर । झण्डै तीन दशकदेखि ललितपुरमा रहेर राजनीतिकर्म गर्दै आइरहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसाल यसपटक पनि प्रतिनिधिसभाको उम्मेदवार बनेर चुनावी मैदानमा छन् । 

यसअघि २०७४ को निर्वाचनमा यस क्षेत्रबाट सहजै जितेकी भुसाललाई निर्वाचन  जित्न यसपटक पनि कठिन छैन । अघिल्लो निर्वाचनमा भन्दा यो पटक बढी मतान्तरले भुसालले जित्ने जिल्लामा विश्लेषण हुन थालेको छ । 

तर केही स्वतन्त्र उम्मेदवारको चर्को हल्लाले झिनो भोट काट्न सक्ने अनुमान गरिएपनि भुसालको जितमा कोही तगारो बन्ने देखिँदैन । गठबन्धनको भोट संख्या निकै धेरै भएकोले भुसाल यो क्षेत्रमा सुरक्षित छन् । 

लामो समय ललितपुरमा बसेर राजनीतिक गर्दै आएका भुसालले यस क्षेत्रको विकास तथा पूर्वाधार निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।  ललितपुरको सम्पदा संरक्षण, पार्टी पौवा निर्माण तथा नेवार समुदायका मौलिक परम्परा जोगाउन भुसालको महत्वपूर्ण भूमिका रहेको देखिन्छ ।  

भुसालसँग निर्वाचन लड्न ढुङ्गाको चिउरा चपाउनुजस्तै

यसपटकको निर्वाचनमा उनै भुसालसँग नेकपा (एमाले) का अमृत खड्का चुनावी मैदानमा छन् । तर खड्कालाई भुसालसँग निर्वाचन लड्नु ढुङ्गाको चिउरा चपाउनुजस्तै कठिन देखिन्छ ।

भुसालसँग सरकार र संसद्को लामो अनुभव छ । उनलाई माओवादीभित्र शक्तिशाली नेताकाे रूपमा पनि लिने गरिन्छ । भुसाल यसअघि चार पटकसम्म मन्त्री र दुई पटक सांसद बनिसकेका छन् । यो निर्वाचनपछि उनी तेस्रोपटक सांसद बन्ने दाउमा छन् ।  
ललितपुर–३ वाम–लोकतान्त्रिकहरूको किल्ला नै मानिन्छ । यहाँको धेरै भूभाग शहरमा पर्छ भने थोरै भूभाग ग्रामीण भेगमा पर्छ । ललितपुर क्षेत्र ३ ललितपुर महानगरपालिका– १, २, ३, ४, ५, १०, १३, १४, १५, १८, २० २१, २२, २३, २४, २५, २६, २७, २८, २९ र गोदावरी नगरपालिकाका १२ र १४ गरी २२ वटा वडाहरू पर्छन् । यहाँ मतदाता संख्या ९४ हजार ११६ रहेको छ । 

राजनीतिक यात्रा  

भुसालका प्रतिस्पर्धी बनेका खड्का हल्का उम्मेदवार हुन् । उनलाई जित्न भुसाललाई कठिन हुने छैन । ०५४ सालमा तत्कालीन सैँबु गाविस अध्यक्ष बनेपछि केही समय व्यवसाय र समाजसेवामा बिताएका खड्काको यो पहिलो उम्मेदवार अनुभव हो । उनले जनताले दिएको म्यान्डेड नै पूरा नगरी बीचैमा अध्यक्षको जिम्मेवारी छाेडेकाे स्थानीय जनताले आरोप लगाएका छन् । 

उनी यसपालि मात्रै प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेका हुन् । तर जिल्लामा लामो समय राजनीतिक सङ्घर्ष र सफलता हासिल गर्दै आएकी भुसाललाई हराउन उनलाई निकै कठिन हुनेछ । 

०७४ मा वाम गठबन्धनबाट निर्वाचन जितेका भुसाललाई यसपटक सत्ता गठबन्धनको दरिलो साथ रहेको छ । राजनीतिक हिसाबले हेर्ने हो भने यो क्षेत्रमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसको राम्रो उपस्थिति रहेको छ । 

यस बाहेक खड्का जिल्लामा अपरिचित नेताको रूपमा रहँदै आएका छन् । उनले भन्दा बढी भोट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की र अन्य स्वतन्त्रले ल्याउन सक्ने आकलन समेत गरिएको छ । 

कार्की पनि राजनीतिक हिसाबले नयाँ हुन् । उनको घर सानेपामा रह पनि उनी अपरिचित जस्तै मानिन्छ । चिकित्सा क्षेत्रमा काम गरेको हिसाबले भने केही युवाहरूले उनलाई साथ दिएको देखिए पनि कार्कीले झिनो मत मात्रै ल्याउने आँकलन गरिएको छ । 

को हुन् भुसाल ? 
भुसालको राजनीतिक यात्रा र सङ्घर्ष निकै लामो छ । उनी २०३३ सालमा विद्यार्थी सङ्गठनमा राजनीतिमा प्रवेश गरेका थिए । २०५१ सालमा भुसाल माओवादीकी केन्द्रीय सदस्य बनेका थिए । 

त्यसपछि उनी पार्टीमा सक्रिय रहँदै आएका छन् । उनी गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा महिला, बालबालिका तथा समाज कल्याण, प्रचण्ड नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री बनेका थिए ।  

त्यस्तै झलनाथ खनाल नेतृत्वको सरकारको पालामा भुसाल शान्ति तथा पुनर्निर्माण मन्त्रालयको नेतृत्वमा थिए भने हाल ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको रूपमा रहँदै आएका छन् । भुसाल जिल्लामा लामो समय राजनीति गरेकोले चर्चित छन् । उनलाई झण्डै ९० प्रतिशत मतदाताले चिन्छन् ।

स्थानीय तह निर्वाचनमा को बलियो ? 

स्थानीय तह निर्वाचनमा ती वडाका मत परिणामलाई आधार मान्ने हो भने यहाँ गठबन्धनको अग्रता देखिन्छ । यस क्षेत्र अन्तर्गतका वडामा कांग्रेसको १८ हजार ५४५, एमालेको १७ हजार ७०९, माओवादी केन्द्रको ७ हजार ७२७, नेकपा (एकीकृत समाजवादी) को ५ हजार १२९ र राप्रपाको ४ हजार ३४२ मत छ ।

स्थानीय तह निर्वाचनमा हेर्ने हो भने क्षेत्र ३ मा गठबन्धन नै बलियो छ । गएको स्थानीय निर्वाचनमा ललितपुर महानगरको ४, १०, १४, २०, २८ को वडा कांग्रेस विजयी भएको छ । 

महानगरको २१, २६ र २७ वडा माओवादी केन्द्र विजयी भएको छ भने २ र ३ वडा एकीकृत समाजवादीले हात पारेको थियो । त्यस्तै महानगरको १ र १३ मा स्वतन्त्रले जितेका थिए । थोरै वडाहरू ५, १५, १८, २२, २३, २४, २५, २९ मा एमालेले निर्वाचन जितेको छ । २२ वटा वडामध्ये जम्मा ८ वटा मात्रै एमालेले जित्नुले पनि यसपटकको चुनावमा गठबन्धनले नै जित्न सक्ने अनुमान गर्न सकिन्छ ।

एमालेभित्र अन्तरघातको खतरा
भुसालको प्रतिस्पर्धीका रूपमा एमालेले खड्कालाई अगाडि सारेपछि पार्टीभित्र तीव्र असन्तुष्टि छ । २०औं वर्ष पार्टीबाट बाहिर रहेर वा पार्टी विरोधी गतिविधि समेत गरेर बसेका वैदेशिक व्यापारी खड्का अकस्मात् प्रतिनिधि सभा सदस्यको उम्मेदवारको टिकट पाएपछि एमालेको एउटा पंक्ति आक्रोशित र निरास छ । 

स्थानीय पार्टीले बाबुराम थापालाई टिकट दिन चाहेको थियो । शिक्षक सङ्गठनका केन्द्रीय अध्यक्ष भइसकेका थापा जिल्ला र उक्त निर्वाचन क्षेत्रमा बौद्धिक नेताका रूपमा समेत चिनिन्छन् तर टिकट खड्काले पाए । यसले एमालेको एउटा पंक्ति आक्रोशित र निरास मात्र होइन, सम्पूर्ण रूपमा निस्क्रिय समेत बनेको छ ।

‘जहाँ गए पनि कार्यकर्तालाई सम्बोधन गर्दा कार्यकर्ताको भावना विपरीत बोल्ने गर्दा उहाँले भोट बढाउने भन्दा पनि घटाउने गर्नु भएको छ ।’ भैँसेपाटीका एमालेका एक कार्यकर्ताले दुखेसो पोखे ।

प्रतिक्रिया दिनुहोस्